काठमाडौं, १४ साउन
चिनियाँ भन्सारका एजेन्टहरुले क्लियरेन्स शुल्क ३ गुणभन्दा धेरै बढाएपछि चीनसँगको एकमात्र रुसुवागढी नाकाबाट हुने आयात ठप्प भएको छ । गत दुई सातादेखि स्याउ र हाइड्रोका केही समानबाहेक अन्य समान नेपालतर्फ आयात हुन सकेको छैन ।
चिनियाँ भन्सार एजेन्टले प्रति कन्टेनर १५ सय रुपैयाँ रहेको क्लियरेन्स चार्ज ५ हजार आरएमबी -चिनियाँ मुद्रा) पुर्याएपछि नेपाली ब्यवसायीले सामान छुटाउन नसकेको रुवागढी भन्सारका प्रमुख केदार पनेरुले अनलाइनखबरलाई बताए ।
यसअनुसार यसअघि समान लोड गरेर भन्सार क्लियरेन्स गरिदिए बापत २४ हजार खर्चिरहेका ब्यवसायीले अब ८० हजार रुपैयाँ खर्चिनुपर्ने भएको छ । ‘अहिलेसम्म क्लेयरेन्स चार्जको रि-फण्ड चीनलेे गर्दै आएको थियो । तर, अहिले एजेन्टहरुले त्यो रि-फण्ड सरकारले गर्न छाडेको भन्दै १५ सय आरएमबीलाई ५ हजार बनाएका छन्’ पनेरुले भने ।
अहिले केरुङतर्फको भन्सार गोदाममा झण्डै १२ सय गाडी समान छुट्न नसकेर थन्किएका छन् । नेपाली ब्यापारीहरुले कुहिने भएको स्याउ भने महंगो क्लियरेन्स चार्ज तिररै भएपनि ल्याइरहेका छन् ।
झण्डै २ हप्तादेखि मालसमान आयात प्रभावित भएपछि रसुवागढी भन्सारका प्रमुख केदार पनेरुले स्थानीय चिनियाँ जेलुंगका डेपुटी प्रमुखमार्फत चिनियाँ भन्सारको ध्यानाकर्षण गराएका छन् ।
उनको पहलमा बसेको चिनियाँ भन्सार, एजेन्टका प्रतिनिधि, नेपाली भन्सार र चीनको जिलोङ प्रशासन र नेपाली ब्यवसायीको बैठकमा अधिक मात्रामा बढाइएको क्लियरेन्स चार्ज घटाउनेबारे छलफल भएको छ । चीनले सोमबारबाट जसरी पनि आयात सुचारु गराउने प्रतिवद्धता जनाएको छ ।
नेपाली ब्यवसायीले १५ सय आरएमबीसम्म तिर्न सकिने बताएका छन् । त्यसमा चिनियाँ एजेन्टहरुले निर्णय दिएका छैनन् ।
क्लियरेन्स चार्ज घटेमा पहिलो लटमा नै ४ सय कन्टेनर रसवागढीबाट छुट्ने भन्सार कार्यालयले जनाएको छ । बषायाम चहिलरेको र चाडपर्व नजिकिएको समयमा चीनबाट समान आयात रोकिँदा बजारमा त्यसको प्रभाव पर्न सक्छ । यसले नेपालमा पनि महंगी बढाउने देखिएको छ ।
त्यसैले सरकारले समस्या समाधानका लागि उचित पहल गर्नुपर्ने ब्यवसायी बताउँछन् । चीनबाट प्रमुख रुपमा स्याउ, इलेक्ट्रोनिक्सका साथै जुत्ता, लत्ताकपडा लगायतका समान आउँछन् ।
अनलाइन खबरबाट