Home / Feature Breaking news / साँघुरा पूर्वाधारमा उत्साहित खेल उमङ्ग

साँघुरा पूर्वाधारमा उत्साहित खेल उमङ्ग

दाङ, २१ फागुन । खेलले दाङलाई प्रदेश, संघ र अन्तर्राष्ट्रि जगतमा पनि चिन्ने बनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समेत दाङका खेलाडीहरूले केही विधामा सहभागिता जनाइसकेका छन् । यद्यपि, खेल क्षेत्रको समृद्धिका लागि यहाँ पर्याप्त पूर्वाधार भने निर्माण हुन सकिरहेका छैनन् । खेल क्षेत्रमा पर्याप्त पूर्वाधार नहुँदा पनि पछिल्लो समय दाङ जिल्ला खेलमय बनेको छ ।

साँघुरा पूर्वाधारमा पनि उत्साहित प्रतियोगिताका लागि खेल आयोजक तथा खेलाडीहरू तछाडमछाड गरिरहेका छन् । एकपछि अर्को प्रतियोगिता सम्पन्न भइरहँदा घोराही उपमहानगरपालिका यो साता खेल सप्ताहकै अवस्थामा रहेको देखिन्छ । यसले खेल जगतलाई निकै उत्साहित बनाएको छ । मुलुकमा गणतन्त्र स्थापनाका लागि भएको दशवर्षे द्वन्द्वकालमा हराइसकेको खेल जगत भर्खरै संघीयता आएपछि व्युँतिन थालेको थियो तर अघिल्लो दुई वर्षयताको विश्वव्याधि कोरोना भाइरसको संक्रमणका कारण अन्य क्षेत्रजस्तै खेल क्षेत्र पनि मृत्यु श्ययामा थियो । यो वर्ष खेल क्षेत्र फेरि लयमा फर्कन थालेको खेलकुद क्षेत्रका अग्रज प्रशिक्षकहरूले बताएका छन् ।

हरेक विधाका खेलकुद प्रतियोगिता जिल्लामा भइरहँदा सामुदायिक विद्यालय, निजी विद्यालयरीलगायतका पालिका स्तरीय स्पोर्टस् क्लवहरू पनि खेल क्षेत्रमा फेरि उत्साहित अभ्यास थालेका छन् । हरेक निजी स्कूलहरूले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलकुद टिचरको समेत नियमित उपस्थिति गराउन थालेका छन् । यति भइरहँदा पनि खेलकुद क्षेत्र पूर्वाधार निर्माण हुन नसकेकोमा खेल प्रशिक्षक भने अझै गुनासोकै अवस्थामा छन् ।

‘हामीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बेलझुण्डीमा सेन्थेटिक ट्रयाक सहितको स्तरीय रङ्गशाला निर्माण बाहेक केही भौतिक पूर्वाधारमास्तर वृद्धि गर्न सकेका छैनौँ, स्थानीय सरकारहरूले आफ्नो अन्तिम कार्यकालसम्म पनि सुविधा–सम्पन्न खेल मैदान निर्माण गर्न सकेनन्’, एक जना अग्रज खेल प्रशिक्षकले भने । उनको भनाइमा दाङमा कम्तिमा पनि ५० विगाह जति जग्गा खेलकुद विकास समितिकै नाममा रहे पनि वर्षौँदेखि सो जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमण हुनबाट बचेको जग्गा पनि उपयोगविहीन अवस्थामा रहेको छ ।

खेलकुदका लागि पर्याप्त पूर्वाधार नभए पनि पछिल्लो समय घोराही खेलकुदमय सहर बनेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचानसँगै खेल क्षेत्रको विकासका लागि आयोजना गरिएका भलिबल, फुटबल र राष्ट्रपति रनिङशिल्ड प्रतियोगितादेखि हुने तयारीमा रहेका क्रिकेट, हाप्किडोलगायतका प्रतियोगिताले खेल क्षेत्रलाई चलायमान बनाएका छन् । तर घोराहीमा स्तरीय खेल मैदान नहुँदा खेल सञ्चालनमा भने समस्या हुने गरेको छ । घोराहीमा खेल मैदान नहुँदा अहिले प्रथम खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता जिल्ला समन्वय समितिको मैदान र दोश्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल भरतपुर मैदानमा भइरहेका छन् ।

नेपाली कांग्रेस दाङले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा पहिलो पटक जिल्लामै सर्वाधिक राशीको भलिबव प्रतियोगिता आयोजना गरेको छ । सर्वाधिक पुरस्कार राशीको उक्त प्रतियोगिताले नेपाली राष्ट्रिय टिमका खेलाडीहरू मानबहादुर श्रेष्ठ, धनबहादुर भट्, हरि अधिकारी, चन्द्र परियारलगायतका खेलाडीहरू घोराहीमा ल्याउने काम गरेको छ तर राष्ट्रिय खेल समेत रहेको भलिबलका लागि राम्रो खेल्ने ठाउँ नहुँदा अहिले जिल्ला समन्वय समितिको मैदानमा खेल भइरहेको छ ।

‘भलिबल राष्ट्रिय खेल हो तर राष्ट्रिय खेलका लागि घोराहीमा खेल्ने राम्रो स्थायी खेल संरचना नहुनु दुःखद् हो’, खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हेर्न पुगेका एक सहभागीले भने, ‘राष्ट्रिय खेलका रूपमा रहेको भलिबललाई हेर्ने दृष्टिकोण सरकारको दृष्टिकोण यसैले स्पष्ट पार्छ ।’ राष्ट्रिय खेलसँगै घोराही उपमहानगरपालिकाले समेत प्रत्येक वर्ष उपमेयर कप महिला भलिबल प्रतियोगिता गर्ने गरेको छ । गएका दुई वर्ष घोराहीका दुई स्थानमा उपमेयर कप महिला भलिबल प्रतियोगिता भए । सम्भवत यस वर्ष पनि हुने तयारीमा छ तर प्रतियोगिता गर्नका लागि स्थानीय सरकारका रूपमा रहेको घोराही उपमहानगरपालिकासँग खेलमैदान छैन । यी प्रतियोगिता मात्र नभएर फुटबल र भलिबलका अन्य प्रतियोगिता गर्नका लागि समेत समस्या हुने गरेको खेलाडीहरू बताउँछन् ।

फुटबलका लागि घोराही उमहानगरपालिका–१८ नवलपुर र क्रिकेटका लागि घोराही उपमहानगरपालिका–१७ गुलरियामा खेल मैदान रहेका छन् । यी खेल मैदानहरूले अहिलेसम्म खेलकुद प्रतियोगिता धान्ने गरे पनि यी खेल मैदानको विकासमा जनप्रतिनिधिको ध्यान नपुग्दा खेलकुदले गति लिन नसकेको खेलाडी जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष समेत रहेको कैलाश रोका मगरले बताए ।

फाइनलमा पद्मोदय र ज्ञानज्योति भिड्ने

यसैबीच दोस्रो लक्ष्मण डाँगी स्मृति कप–२०७८ को फाइनलमा घोराहीको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय र ज्ञानज्योति तुलसीपुर भिड्ने भएका छन् । घोराही उपमहानगरपालिका–१५ भरतपुर स्थित खेल मैदानमा शुक्रवार बिहान भएको पहिलो सेमिफाइनल खेलमा तुलसीपुर गोर्खालाई ५–१ ले पराजित गर्दै ज्ञानज्योति तुलसीपुर र दिउँसो भएको दोस्रो खेलमा गोरखा स्कूल घोराहीलाई ट्राइबेकरमा ५–० गोल अन्तरले पराजित गर्दै पद्मोदय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

ज्ञानज्योतिको जितमा निशान डाँगीले उत्कृष्ट खेल प्रदर्शन गर्दै ह्याट्रिक गरेका हुन् । खेलमा ह्याट्रिक गरेका डाँगी म्यान अफ द म्याच बनेका थिए । ज्ञानज्योतिको जितका लागि डाँगीसँगै युवराज वली र करण नेपालीले समान एक–एक गोल गरेका थिए । गोर्खा तुलसीपुरबाट लोकेन्द्र चन्दले एक मात्र गोल गर्न सफल भएका थिए । गोरखा स्कूल घोराही र पद्मोदयबीच भएको खेलमा निर्धारित समयको खेलमा दुई टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा गोर्खा स्कूलका खेलाडीले हानेको बल पद्मोदयका किपरले रोकेपछि ५–४ को जित निकाल्दै पद्मोदय लक्ष्मण डाँगी स्मृति कपको फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल २१ गते हुने आयोजक बेष्ट नेपाल फुटबल एकेडेमी दाङले जनाएको छ ।

खुमबहादुर खड्का भलिबल : सेमिफाइनल खेल आजदेखि

यसैबीच घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरूष खुला भलिबल प्रतियोगिताको सेमिफाइनल खेल्ने टिमको तय भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको मैदानमा भएका लिग चरणका खेल सकिएसँगै प्रतियोगितामा सेमिफाइनल खेल्ने टिमको टुङ्गो लागेको हो । शुक्रवार भएको लिगको अन्तिम खेलमा शान्तिनगरले बंगलाचुली गाउँपालिकालाई २५–१८ र २६–२४ को सोझो सेटमा हराएसँगै शान्तिनगर समूह ‘बी’को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

त्यस अघिको खेलमा घोराही उपमहानगरपालिकाले बबई गाउँपालिकालाई २५–१८ र २५–१४ को सेटमा हराउँदै प्रतियोगितामा समूह ‘बी’को बिजेता बनेको हो । यस अघि समूह ‘ए’बाट तुलसीपुर उपमहानगरपालिका समूह विजेता र राप्ती गाउँपालिका उपविजेता बनेका थिए । समूह चरणका चार खेलमध्ये चारै खेल जितेर घोराही समूह ‘बी’ विजेता बनेको छ भने चार खेलमध्ये तीन खेल जितेर शान्तिनगर उपविजेता बन्न पुगेको छ । समूह ‘बी’ को विजेता बनेको घोराही उपमहानगरपालिकाले र समूह ‘ए’ उपविजेता राप्ती गाउँपालिकासँग खेल्ने छ भने समूह ‘बी’को उपविजेता शान्तिनगरले समूह ‘ए’को विजेता तुलसीपुर उपमहानगरपालिकाको सामना गर्नेछ ।

पहिलो सेमिफाइनल खेल फागुन २१ गते शनिवार बिहान ८ बजे समूह ‘ए’ को विजेता तुलसीपुर उपमहानगरपालिका र समूह ‘बी’को उपबिजेता शान्तिनगर गाउँपालिकाबीच हुनेछ । यसैगरी दोस्रो सेमिफाइनल खेल समूह ‘बी’को बिजेता घोराही र समूह ‘ए’को उपविजेता राप्ती गाउँपालिकाबीच हुने खुमबहादुर खड्का स्मृति खेलकुद समितिले जनाएको छ । फागुनको १६ गतेदेखि सुरु प्रतियोगिता फागुनको २२ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा जिल्लाका दशवटा पालिकाका भलिबल टिमहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद दुई लाख र उपविजेता हुने टिमले नगद एक लाख रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रूपैयाँसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*