Home / Feature Breaking news / पुरानै डिजाइनमा बन्ने भयो लुम्विनी प्रदेशसभा भवन

पुरानै डिजाइनमा बन्ने भयो लुम्विनी प्रदेशसभा भवन

दाङ, १५ माघ । बन्दै र रोकिदै आएको लुम्बिनी प्रदेश सभा भवन पुरानै डिजाइनमा बन्ने भएको छ । प्रदेश सरकारले पुरानै ढाँचा र बजेटमा प्रदेशसभा भवन निर्माणका लागि निर्देशन दिएपपछि डेढ महिनादेखि रोकिएको प्रदेशसभा भवन निर्माणको काम बिहीवारदेखि पुनः सुरु भएको हो । नयाँ डिजाइनमा प्रदेशसभा भवन निर्माणका लागि प्रदेश सरकारले थप बजेट नदिएपछि पुरानै डिजाइन अनुसार रोकिएको काम सुरु भएको प्रदेश पूर्वाधार प्राधिकरणले जनाएको छ ।

पुरानै डिजाइनमा भनिए पनि प्रदेशसभा भवनको वालमा भने चाइनिज इटा प्रयोग हुने भएको लुम्विनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख अनन्तराज घिमिरेले बताए । ‘लुम्बिनी प्रदेशको पहिचान झल्कने गरी पुरानो डिजाइनमा केही परिवर्तन गरी नयाँ डिजाइनमा भवन निर्माणको काम सुरु गरेका थियौ ।

तर नयाँ डिजाइनमा भवन निर्माणका स्वीकृति भएन’, कार्यकारी प्रमुख घिमिरेले भने– ‘जसले गर्दा पुरानै डिजाइनअनुसार प्रदेशसभा भवन निर्माणको काम सुरु भएको छ ।’ यसअघि प्रदेशको पहिचान झल्कने भन्दै भवनको मुलद्वारमा आँखीझ्याल, छानामा रोल्पाली ढुंगा र वालमा चाइनिज इटा प्रयोग गर्नेगरी डिजाइन परिवर्तन गरिएको थियो । तर उक्त डिजाईनलाई प्रदेश सरकारले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा काम शुरु भएको हो । प्राधिकरण कार्यालयका अनुसार प्रदेशसभा भवन निर्माणका लागि संघीय सरकारले १ अर्व बजेट बिनियोजन गरेको छ ।

गत मंसिर २५ गतेदेखि रोकिएको काम डेढ महिनाभित्र सक्ने गरी भवन निर्माणको काम सुरु भएको भवन निर्माणको जिम्मा पाएको वाइवी स्टोन बिल्ड्रर्स प्रालिका सञ्चालक निर्माण व्यवसायी यज्ञ केसीले बताए । ‘बजेटको सूनिचिता नहुँदा काम रोकिएको थियो’, निर्माण व्यवसायी केसीले भने– ‘अहिले पुरानै डिजाइनमा काम गर्न निर्देशन आएपछि बिहीवारदेखि काम सुरु भएको छ ।’ निर्माण व्यवसायी केसीका अनुसार ४० दिनभित्र भवन निर्माणको काम सकिने छ ।

यसअघि नयाँ डिजाइनमा भवन निर्माणको काम हुदाँहुदै रोकिएको थियो । ‘करिब डेढ महिनापछि पुरानै ढाँचामा भवन निर्माणको काम सुरु गर्न निर्देशन आएपछि अहिले काम सुरु भएको छ’, निर्माण व्यवसायी केसीले भने– ‘पहिलेकै डिजाइनमा काम हुने भएपछि अब चाँडै नै काम सक्नेछौ ।’ करिब एक बर्षसम्म रोकिएको काम वाइवी स्टोन बिल्ड्रर्स प्रालिले निर्माणको जिम्मा पाएपछि प्रदेशसभा भवन निर्माणले गति लिएको थियो ।

निर्माण व्यवसायीका अनुसार भवनको करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सुरुको सम्झौता अनुसार गएको आर्थिक वर्षमा नै सम्पन्न हुनुपर्ने प्रदेश सभाहल विभिन्न बहाना बनाउँदै निर्माणमा ढिला हँुदै आएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बन्ने भएका छन् । राप्ती गाउँपालिकाको सवै वडाहरू, गढवा गाउँपालिका वडा नं. १, २ र ३ नम्बर र अर्घाखाँची जिल्लाअन्तर्गत सितगंगा गाउँपालिकाका वडा नं. ८ र ९ को भूभागलाई समेटेर प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यकालाई घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*