Home / Feature Breaking news / चारलेनमा कांग्रेस सहभागी भएको भए आगो बल्थ्यो : नेता गिरी

चारलेनमा कांग्रेस सहभागी भएको भए आगो बल्थ्यो : नेता गिरी

अनियमिततामा खबरदारी गर्न कांग्रेसको सुझाव

खेमराज रिजाल

दाङ, १५ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाईमन्त्री दीपक गिरीले लमही–घोराही–तुलसीपुर चारलेन सडक निर्माणको ठेक्कामा कांग्रेस सहभागी भैदिएको भए विपक्षीले दिनदिनै सडकमा आगो बालिरहेको अवस्था हुने बताएका छन् । तर चारलेन ठेक्कामा कम्युनिष्ट नेताका आफन्त ठेकेदार भई तोकिएको समयमा काम नहुँदा समेत कांग्रेसले खबरदारी समेत गर्न नसकेको उनले बताए ।

‘कुनै पनि कांग्रेस समर्थक वा शुभचिन्तक यो ठेक्कामा जोडिएको भए कम्युनिष्टहरुले दिनदिनै आगो लगाउँथे सडकमा, तर हामीले यसको सशक्त विरोध गर्न पनि सकिरहेका छैनौं’, नेपाली कांग्रेस निर्वाचन क्षेत्र २ (ख)को कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका नेता गिरीले भने । नेकपा नेता कार्यकर्ता प्रत्यक्षरुपमा सहभागी भएका कारण जिल्लाकै गौरवको योजनाका रुपमा रहेको चारलेन सडकको स्तरोन्नतिको काम हुन नसकेको सन्दर्भमा चौतर्फी रुपमा खबरदारी गर्न पनि उनले जिल्ला पार्टी नेतृत्वहरुलाई आग्रह गरे ।

‘जिल्ला, क्षेत्र, पालिका, प्रदेश तथा वडा तहका कमिटीहरुले खबरदारी गर्नुस्, चारलेनको काम दुई बर्ष बितिसक्दा पनि किन अर्थपूर्ण रुपमा सुरुआत नै हुन सकेको छैन भनेर’, नेता गिरीले भने– ‘अब जनतालाई विकासको एजेण्डाबाट मात्रै नजिक ल्याउन सकिने छ ।’ एमाले–माओवादी गठबन्धनले मुलुकको विकास निर्माणलाई धरासायी बनाएको उल्लेख गर्दै अब यसबाट मुलुकलाई निकास दिन आवश्यक रहेकाले गठबन्धनको जन्म भएको पनि उनको भनाइ थियो ।

अहिले प्रमुख प्रतिपक्षी एमालेले नै संसद ठप्प पारेर संसदीय अभ्यासमाथि नै उपहास गरिरहेको पनि उनको अभिव्यक्ति थियो । चौधौँ महाधिवेशनले दाङ कांग्रेसको सांगठनिक स्वरुप नै बदलिएको भन्दै युवाहरुको नेतृत्वबाट पार्टीले गति लिन सक्नेमा आशा जागेको पनि प्रमुख अतिथि गिरीले बताए । अब प्राविधिक सर्वेक्षण गरेर मात्रै संगठन विस्तार हुनसक्ने भन्दै त्यही सर्वेक्षणका आधारमा चुनावमा लाग्न पनि नेता कार्यकर्ताहरुलाई उनको आग्रह गियो ।

पार्टी कार्यालय उद्घाटनकै क्रममा विशिष्ट अतिथि तथा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले कांग्रेससँग जनताको धेरै अपेक्षा भएकै कारण रिसाउनेहरु पनि धेरै भएको उल्लेख गरे । ‘जहाँ अपेक्षा हुन्छ, त्यहाँ अपेक्षा पूरा भएन भने रिसराग पनि उत्पन्न हुन्छ, त्यसैले जनताका अपेक्षा सम्बोधन गर्न पनि नितान्त आवश्यक रहेको नेता घिमिरेको भनाइ थियो ।

तर राजनीति भनेको हजारले खेती गर्ने र एकजनाले मात्रै बाली भित्र्याउन पाउने संस्कार पनि भएकाले कसलाई के काममा इन्भल्ब गराउने भन्ने विषयमा व्यापकरुपमा समीक्षा हुनुपर्ने पनि नेता घिमिरेले बताए । साथै उनले आफू नहुँदाको परिस्थितिलाई पनि सहजरुपमा स्वीकार गर्ने अभ्यासको विकास गर्न पनि जिल्लास्तरका नेता कार्यकर्ताहरुलाई सुझाव दिए ।

सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले मुलुकमा तीनै तहका निर्वाचनहरु नजिकिएको सन्दर्भमा अब नेपाली कांग्रेसले केन्द्रीय कमिटीदेखि टोल कमिटीसम्मै निर्वाचन अभियान सञ्चालन गर्नुपर्ने बताए । त्यससँगै अब कांग्रेसले जिल्लामा एमाले नेतृत्वका स्थानीय सरकारहरुले विकास निर्माणमा गरेका कमी–कमजोरी र आर्थिक अनियमितताका विषयमा जनतालाई यथार्थ जानकारी गराउन सक्नुपर्ने पनि उनको सुझाव थियो ।

प्रदेश सहमहामन्त्री खगराज पाण्डेले पार्टीलाई बलियो बनाउन गाउँ–गाउँसम्म नेतृत्व पुग्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटाले पछिल्लो ६ महिनायता संसद अनिर्णयको बन्दी भइरहँदा राज्यले लगानी गरेर निर्माण गरेका दर्जनौँ विधेयकहरु पारित हुन नसकेको बताइन् । ‘बा (केपी)का छोराहरुले संसद चल्न दिएका छैनन्, यसले संसदीय प्रणालीकै उपहास भएको छ’, मुख्य सचेतक देवकोटाले भनिन् ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगीले जिल्ला नेतृत्व अहिले फुटेका मनहरु जोडेर कांग्रेसलाई सशक्त बनाउने अभियानमा लागेको बताउँदै त्यसमा केन्द्रको आवश्यक नीति निर्देशन पनि आवश्यक रहेको बताए । ‘अब कांग्रेसलाई बलियो बनाउनुपर्छ भनेर अभिव्यक्ति दिने मात्र होइन, बलियो बनाउन के गर्नुपर्छ भनेर समीक्षा गर्नुपर्ने बेला आएको छ, सबै तहबाट यो समीक्षा गरेर अघि बढौं’, सभापति डाँगीले भने ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति जगत खड्काले भाषण ग्रहण र आसन ग्रहणमा धेरै समय खर्च नगरेर गाउँ–गाउँसम्मका कार्यकर्तामाझ कांग्रेस फेरि एकपटक पुग्नुपर्ने सुझाव दिए । नेपाली कांग्रेस निर्वाचन क्षेत्र २ (ख) का सभापति अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले कांग्रेसका भातृ संगठनहरु चलायमान हुन नसक्दा पार्टी अपांगजस्तै भएकाले भातृ संस्थालाई चलायमान बनाउन केन्द्रले आवश्यक मापदण्डसहितको आधारशीला निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापति वीरकेशरी गौतम, पूर्व क्षेत्रीय सभापति भूपबहादुर डाँगी, नेपाली कांग्रेस तुलसीपुर उपमहानगर सभापति सुरेश हमाल, घोराही उपमहानगरपालिका सभापति तिलक रावत, नेपाली कांग्रेस दाङका नेता भरत न्यौपाने, सम्पूर्ण भातृ संस्थाका तर्फबाट तरुण दल दाङका अध्यक्ष टीका घर्ती, सम्पूर्ण वडा सभापतिका तर्फबाट कुलप्रसाद रजौरे (श्रवण), महाधिवेशन प्रतिनिधिका तर्फबाट कमल ओली, निर्वाचन क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, निर्वाचन क्षेत्र ३ (ख) का सभापति खिमबहादुर वलीलगायतले उद्घाटन मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसको नारायणपुरस्थित भवन निर्माणार्थ जग्गा प्रदान गर्नुहुने दाता स्व. लोकबहादुर डाँगीका परिवार तथा भवन निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । प्रदेश २ (ख) का उपसभापति ज्ञानबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव तिलकबहादुर खत्रीले गरेका थिए । सो अवसरमा प्रदेश क्षेत्रीय सभापति अभियान बस्नेतले आफ्नो मातहतमा रहेका घोराही र तुलसीपुरका जम्मा १२ वटा वडालाई कार्यालय भवनको व्यवस्थापन गरेर जग उठाए प्रतिवडा १ लाख रुपैयाँका दरले व्यक्तिगत सहयोग गर्ने उद्घोषसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*