Home / Feature Breaking news / निर्वाचनबाट कांग्रेस भाग्दैन : सहमहामन्त्री राठोर

निर्वाचनबाट कांग्रेस भाग्दैन : सहमहामन्त्री राठोर

दाङ, १३ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले नेपाली कांग्रेस चुनावबाट नभाग्ने बताएका छन् । नेपाली कांग्रेस निर्वाचनका लागि सधै तयार रहेको उनले बताए । ‘नेपाली कांग्रेस कहिल्यै पनि चुनावबाट पछाडि हट्दैन’, सहमहामन्त्री राठोरले भने ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका शिलशिलामा दाङ आएका राठोरसँग नेपाल प्रेस युनियन दाङले बुधवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । तीनवटै तहका निर्वाचनलाई ध्यान दिएर पार्टी अगाडि बढ्नेसमेत उनले बताए ।

नेता राठोरले गठबन्धनको सहमतिमा नै निर्वाचनको मिति घोषणा हुने बताए । ‘सहमति गरेर निर्वाचन गर्ने हो, त्यसैका लागि छलफल भइरहेको छ’, उनले भने । सहमति भएमा तीनवटै निर्वाचन एकैपटक हुने तर सहमति नभएमा स्थानीय तहको निर्वाचन बैशाख महिनामा हुने उनको भनाइ थियो । तीनवटै निर्वाचन एकैपटक गर्दा खर्च कम हुने समेत उनले बताए । ‘अहिलेको अवस्थामा यो नै उपयुक्त हुनेछ’, उनले भने ।

उनले नेपाली कांग्रेस पार्टीलाई बलियो बनाएर लैजान सबै कार्यकर्ताको सहयोग र सहकार्य आवश्यक रहेको बताए । पार्टीभित्र विवाद नगरी पार्टी बलियो बनाएर अगाडि बढ्ने समेत उनको भनाइ रहेको छ । पार्टीभित्रको गुट–उपगुट सबै १४औँ महाधिवेशनबाट अन्त्य भएकोसमेत उनले दावी गरे । नकारात्मकरुपमा नभई सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने उनी बताउँछन् ।

‘अब पार्टीभित्र भागबण्डा खोज्ने कामको अन्त्य हुनुपर्दछ’, उनले भने । पार्टीभित्र भागवण्डा खोज्ने कार्यले पार्टीमा समस्या भएको उनको भनाइ थियो । ‘जित्नेले पार्टी सञ्चालन गर्ने र हार्नेले सहयोग गर्नुपर्दछ यसमा शेखर कोइलालाले पनि सभापतिलाई सहयोग गर्नुहुनेछ’, राठोरले भने ।पत्रकार सम्मेलन नेपाल प्रेस युनियन दाङका कार्यवहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण युनियनका जिल्ला सचिव आर के शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*