Home / Feature Breaking news / कांग्रेस महाधिवेशन उद्घाटनमा ४ लाख मानिस सहभागी हुने

कांग्रेस महाधिवेशन उद्घाटनमा ४ लाख मानिस सहभागी हुने

काठमाण्डौ,२३ मंसिर । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

आज बिहीवार सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले महाधिवेशन उद्घाटनलगायतका कामको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राति १० बजेसम्ममा सकिने बताए ।

संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रीय अधिवेशनतर्फ लाग्नुपरेका कारण काम केही ढिला भएको बताउनुभयो । उहाँले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीका शीर्ष नेता र पार्टीका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको बताउनुभयो ।पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताए । पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने बताए ।

संयोजक पुडासैनीले भने, ‘अब हामी तयारीको अन्तिम स्थितिमा पुगेका छौँ । मञ्च तीन चरणमा छ, पहिलोमा सांस्कृतिक सङ्घको कार्यक्रम हुन्छ जहाँ ४० जना कलाकारले एकैसाथ प्रस्तुति दिने गरी व्यवस्था गरेका छौँ । मञ्चको दोस्रो चरणमा पार्टीका शीर्ष नेता, अन्य पार्टीका शीर्ष नेता, विदेशी पाहुनालाई राख्नेछौँ ।

तेस्रोमा पार्टीका केन्द्रीय सदस्यलगायत अन्य अतिथिलाई राख्नेछौँ । सर्वसाधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राख्नेछौँ । महाधिवेशनमा साढे तीन लाखदेखि चार लाख जना मानिस सहभागी हुन्छन् ।’ नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन भोलि शुक्रवारदेखि सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*