Home / Feature Breaking news / दाङमा कोरोना : संक्रमण दर घट्यो, मृत्युदर घटेन

दाङमा कोरोना : संक्रमण दर घट्यो, मृत्युदर घटेन

दाङ, १९ जेठ । जिल्लामा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको छ । विगत एक महिनादेखि नियमितरुपमा लागू भएको लकडाउनसँगै मानिसहरुले अपनाएको स्वास्थ्य सजगताका कारण पछिल्लो समय संक्रमण दरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार पछिल्लो एक सातामा (जेठ ११ गतेदेखि १७ गतेसम्म) जिल्लामा २ सय १५ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । यो तथ्याङ्कका आधारमा पछिल्लो एकसाता जिल्लामा प्रतिदिन करिब ३० जनामा कोरोना संक्रमण देखिने गरेको कार्यालयले जनाएको छ । पछिल्लो संक्रमण दरका आधारमा जिल्लामा एक सातादेखि कोरोना संक्रमण दर घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल फर्सन कमल चन्दले बताए ।

उनले पहिलेको तुलनामा पछिल्लो समय कोरोना संक्रमण दरमा धेरै कमी आएको बताए । ‘कोरोना संक्रमण दरको पछिल्लो एक हप्ताको डाटालाई हेर्दा अहिले जिल्लामा कोरोना संक्रमण दरमा कमी आएको छ’, कोरोना फोकल पर्सन चन्दले भने– ‘अहिले पहिलेको जस्तो डरलाग्दो अवस्था छैन ।’ तर उनले कोरोना संक्रमण दर घटे पनि कोरोना संक्रमणबाट मृत्युदरमा भने कमी नआएको बताए । ‘पहिलेको तुलनामा कोरोना संक्रमण दर घटेको छ’, उनले भने– ‘तर कोरोना संक्रमणबाट हुने मृत्युदरमा कमी आउन सकेको छैन ।’ कोरोना संक्रमण दर घटे पनि मृत्युदरमा कमी नआएकाले अहिले पनि जोखिम रहेको फोकल पर्सन चन्दले बताए । उनका अनुसार कोरोना संक्रमणका कारण जिल्लामा २ सय २० जनाले ज्यान गुमाएका छन् । त्यस मध्य करिव डेढ सय बैशाखदेखि यता मृत्यु भएको छ ।

जिल्लामा कोरोना संक्रमण दर घटे पनि जोखिम अझै उत्तिकै रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही बताउँछन् । लामो समयदेखि भएको लकडाउनसँगै नागरिकहरुले अपनाएको स्वास्थ्य मापदण्डका कारण संक्रमण दर कम भएको उनले बताए । कोरोना संक्रमण दर कम हुँदा अस्पतालहरुमा बिरामीहरुको चाप कम हुनका साथै अक्सिजन अभावको समस्या अहिलेलाई हटेको उनले बताए । ‘कोरोना संक्रमण दर कम हुँदा अस्पतालहरुमा संक्रमितको चाप कम हुँदै गएको छ’, कार्यालय प्रमुख शाहीले भने– ‘यति छिट्टै संक्रमण दर घट्नु राम्रो हो ।’ उनले यही अवस्थालाई कायम राख्नका लागि भीडभाड हुन नदिनका लागि सबै सचेत बन्न आवश्यक रहेको बताए ।

त्यस्तै अहिले कार्यालयले पिसिआर परीक्षणसँगै ग्रामीण क्षेत्रमा कोरोना संक्रमण पत्ता लगाउनका लागि जिल्लाका दशवटै पालिकाहरुलाई कोरोना परीक्षणका लागि एन्टीजेन्ट उपलव्ध गराएको बताए । ‘पालिकाहरुमा कोरोना संक्रमण दर पत्ता लगाउनका लागि एन्टीजेन्ट परीक्षण किट उपलव्ध गराएका छौं’, उनले भने– ‘यसले पालिकाहरुलाई जोखिमयुक्त गाउँका नागरिकको स्वास्थ्य परीक्षण गर्ने र नियन्त्रणमा राख्न सहयोग गर्नेछ ।’

जिल्लामा अहिलेसम्म १० हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ९ हजार ८ सय ३६ जना उपचारपछि निको भएका छन् । कार्यालयका अनुसार हाल ९ सय ४० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुमध्ये कतिपय होम आइसोलेसनका रुपमा घरमा छन् भने अन्य संक्रमितहरुको कोरोना विशेष अस्पताल बेलझुण्डी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, तुलसीपर मेट्रो अस्पतालमा सञ्चालित कोरोना आइसोलेसन, देउखुरीको लमहीमा रहेको कोभिड आइसोलेसन सेन्टरलगायतका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*