Home / Feature Breaking news / जित–हारमा नहारेको ‘कसिलो मित्रता’

जित–हारमा नहारेको ‘कसिलो मित्रता’

आर.के.शीतल

दाङ, ११ असोज । ‘नेपाली कांग्रेस घोराही नगर सभापतिमा निर्वाचित मेरा परम मित्र तिलक रावतलाई हार्दिक बधाई । साथै सफल कार्यकालको शुभकामना ! निर्वाचन लोकतान्त्रिक अभ्यास हो । सभापति पदका लागि मेरा परम मित्र रावतसँग म चुनावी प्रतिष्पर्धामा थिएँ । मैले हारेँ, मेरा मित्रको जित भयो । तथापि हामी बीचको मित्रलाई चुनावले किमार्थ हराएको छैन… !’

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत घोराही उपमहानगरपालिकाको निर्वाचनको अन्तिम मतपरिणाम आइसकेपछि सभापति पदका प्रत्यासी निरज गिरीले फेसबुकमा लेखेको स्ट्याटस हो, यो । जुन स्ट्याटसको चर्चा व्यापकरुपमा भएको छ । निर्वाचनमा होमिएका उम्मेद्वार जित आफ्नो पक्षमा नदेखेपछि मतगणना स्थलबाट निस्कने गरेको धेरै घटनाहरु देखिन्छ तर मतगणना स्थलबाटै फेसबुकमा लेखेको स्ट्याटसले नयाँ सन्देश दिएको छ । निर्वाचन समितिले आयोजना गरेको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पुगेका निरज सधैझैँ मन्द मुस्कानमा घोराहीको पार्टी कार्यालयमा पुगे ।

कार्यक्रम हुनुपूर्व नै कार्यक्रम स्थलमा पुगेका उनलाई धेरैले अघिल्लो दिनको फेसबुक स्ट्याटसको प्रशंग निकाल्दै सहानुभूति व्यक्त गरिरहेका थिए तर उनले सजिलै सबै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिरहेका थिए । कार्यक्रममा उद्घोषकले शुभकामना मन्तव्यका लागि निरजलाई मञ्चमा बोलाए, उनी मञ्चमा पुगे । सबैलाई पालैपालो सम्बोधन गर्दै शुभकामना मन्तव्य सुरु गरेका निरजले आफ्नो र विजयी नगर सभापति तिलक रावतको मित्रतालाई प्रष्ट्याउँदै आफूले निर्वाचनमा पराजय ब्यहोर्नु परे पनि नेपाली कांग्रेसमा आफ्नो क्रियाशीलतामा कुनै कमी नआउने बरु बढेर जाने प्रतिबद्धता व्यक्त गरे ।

‘तिलक र म नेविसंघको संगठन गर्न जसरी सँगसँगै हिँड्थ्यौँ, त्यसैगरी हामी कांग्रेसको संगठन गर्न हिँड्ने छौँ । तिलक एक्लो छैन, तिलकसँग म पनि छु । मैले निर्वाचन जितेको भए कसरी पार्टीलाई रचनात्मक रुपमा अगाडि बढाउने भन्ने चिन्ता हुन्थ्यो, त्योभन्दा चिन्ता अब हुनेछ– मेरो साथी तिलकलाई कसरी सफल सभापति बनाउने भन्ने ? मेरो चिन्ता हो । उनको यो भनाइमा सहभागीले समय–समयमा ताली बजाए । उनले विजयी एवं सर्वसम्मत हुने सम्पूर्ण नगर कार्यसमितिलाई बधाई र निर्वाचन समिति, नेताहरु एवं सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिए ।

उनी यत्तिमा रोकिएनन् अब घोराही उपमहानगरपालिकाको सभापतिमा बिजयी हुने मित्र तिलक रावतलाई मञ्चमा बोलाउँछु भने अनि टीका लगाइदिए । टीकासँगै झोलाबाट ढाकाको खादा र ढाँकाको टोपी निकालेर तिलकको शीरमा लगाईदिए । तिलकले निरजलाई टीका लगाईदिए अनि आफ्टो गलामा भएको खादाहरुमध्ये एउटा खादा निकालेर निरजलाई लगाईदिए । कार्यक्रम हल तालीले गुञ्जायमान भयो । निरन्तर ताली बजिरह्यो । निरज र तिलक एक–आपसमा अंकमाल गरे । सबै भावुक बने । एकआपसमा कानेखुसी गर्दै भन्दै थिए– ‘लोकतान्त्रिक पार्टीमा यस्तो हुनुपर्छ । युवाहरुले राम्रो सन्देश दिए ।’

त्यसको केही समयपछि कार्यक्रममा विजयी नगर सभापति तिलक रावतको मन्तव्य सुरु भयो । उनी पनि भावुक मुद्रामा प्रस्तुत भएका थिए । ‘मेरा मित्र निरज गिरी कार्यक्रममा आएर मलाई बधाई ज्ञापन गर्नुभयो । एकदमै खुसी लागेको छ । हाम्रो मित्रतालाई चुनावले कुनै असर पारेको छैन भन्ने मैले महसुश गरेको छु । हिजो निर्वाचनमा हामी सँगै थियौ । सँगै भएर भोट माग्यौ । निरजले पहिले नै मतदान गरिसकेका रहेछन् । ‘म मत हाल्न जान्छु है !’ भन्दा उनले ‘मलाई एक भोट हाल्दिनु है’ भनेर मजाक गरे । मैले नि ‘हुन्छ आउ सँगै जाऔँ भने ।

यी दुई युवाहरुको मित्रता र उदारता देखेर कार्यक्रममा सहभागी नेताहरु एवं अन्य सहभागीहरु प्रशंसा गरिरहेका थिए । कार्यक्रममा बोल्ने नेताहरुले पराजित निरजको उदारताको र दुई युवाको मित्रताको खुलेरै प्रशंसा गरे । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले युवाहरुको यो मित्रता र जित–हारलाई सहर्ष स्वीकार गरेर देखाएको उदारताको प्रशंसा गरिन् । प्रदेशसभा सांसद अर्जुनकुमार श्रेष्ठले लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक प्रक्रियाको हार–जितपछिको मित्रता उदाहरणीय भएको बताए । संविधानसभा सदस्य राजु खनालले युवाहरुले पार्टीलाई नयाँ सन्देश दिएको बताए । नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगीले निर्वाचन क्षेत्र नं. २ मा पार्टीलाई एकढिक्का बनाएर लैजान आवश्यक भएकाले सबै नेताहरुलाई यो अभियानमा लाग्न अनुरोध गरे ।

घोराही उपमहानगरपालिका निर्वाचन समितिका संयोजक युवराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत प्रह्लादकुमार कार्की, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मोहनलाल वली, जिल्ला उपसभापति कमानसिंह भारती, जिल्ला कोषाध्यक्ष सावित्रा राना, महिला संघ दाङका अध्यक्ष गोमा रावत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला निर्वाचन समितिका सदस्य रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निर्वाचन समितिका श्रीराज आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*