Home / Feature Breaking news / सोलारले ल्याएको स्थानीयमा खुशी

सोलारले ल्याएको स्थानीयमा खुशी

शिवराज खनाल
दाङ, ११ भदौ । राप्ती गाउँपालिका–१ बगासोतीखर्क निवासी चेतमान बुढा २१ बर्षका भएका छन् । उनको बाल्यकाल सल्लाको दियालो, टुकी र लालटिनमै बित्यो । गाउँमा विद्युत नपुग्दा घरमा बत्ती बाल्न पाएका थिएनन् । उनको घरमा ४ जनाको परिवार अन्धकारमै रात काट्दै आएका थिए । उनले लालटिन र टुकीमै २१ बर्ष रात कटाए तर अहिले भने राप्ती गाउँपालिका–१ ले बगासोतीखर्क गाउँमा सोलार बत्तीको व्यवस्था गरिदिएपछि चेतमानले घरमा बत्ती बालेका छन् ।

गाउँमा वडाले सोलारको व्यवस्था गरिदिएपछि पहिलेजस्तो अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको उनले बताए । सोलार बत्तीले धेरै सजिलो बनाइदिएको समेत उनले बताए । ‘अघिल्लो पुस्ता दियालो लाल्टिन र टुकीमै जीवन बिताउन प¥यो । हाम्रो पुस्ताले पनि आधा बढी जीवन अँध्यारोमै बितायौँ’, स्थानीय बुढाले भने– ‘तर गाउँमा वडा कार्यालयले सोलारको व्यवस्था गरिदिएपछि अहिले बत्ती बाल्न थालेका छौँ । हामीलाई सहज बनाइदिएको छ । गाउँमा बत्ती बाल्न पाउँदा खुशी भएका छौँ ।’

त्यस्तै सोही ठाउँ निवासी सुशीला बुढा पनि अहिले खुशी छिन् । बर्षाैबर्ष अन्धकारमा जीवन बिताएकी उनी अहिले गाउँमा सोलारबाट भए पनि बत्तीको व्यवस्था भएपछि निकै खुसी लागेको बताइन् । ‘घरको काम रातिसम्म गर्नुपर्छ । जसले गर्दा महिलाहरुलाई धेरै अप्ठेरो हुने गरेको थियो’, उनले भनिन्– ‘तर अहिले सोलारबाट भए पनि रातमा काम गर्दा बत्ती बाल्न पाइन्छ । जसले गर्दा आफूहरुजस्ता महिलाहरुलाई काम गर्न सहज भएको छ ।’

घरमा बत्ती भएपछि रातमा सर्प तथा अन्य किराकाँटीहरुको डर हराएको बताइन् । उनका अनुसार बत्तीले गर्दा काम गर्नसँगै बच्चाबच्चीहरुलाई रातको समयमा पढ्नसमेत सजिलो भएको छ । त्यस्तै उनले टुक्की तथा लाल्टिन हुँदा बच्चाबच्चीको लापरबाहीले गर्दा आगलागीको समेत जोखिम हुने गरेको थियो तर अब बत्तीको व्यवस्था भएपछि त्यो जोखिमसमेत हटेको बताइन् ।

बगासोतीखर्कका चेतमान र सुशीला मात्र होइन, गाउँमा सोलारबाट बत्तीको व्यवस्था भएपछि धेरै स्थानीय खुशी भएका छन् । उनीहरुले बर्षौदेखि स्थानीयले उठाउँदै आएको माग पूरा भएको भन्दै स्थानीयलाई सोलार बत्तीको व्यवस्था गरिदिने वडा कार्यालयलाई समेत धन्यवाद दिएका छन् । वडाको विकट बस्तीका रुपमा रहेको बगासोतीखर्कमा २ लाख रुपैयाँ बजेटबाट १३ घरमा बत्तीको व्यवस्था गरिदिएको राप्ती गाउँपालिका वडा नं. १ का अध्यक्ष तारा डिसीले बताए ।

सोलारबत्तीले आर्थिकरुपमा विपन्न परिवारलाई सजिलो भएको समेत उनले बताए । ‘बागासोतीखर्कमा अति बिपन्न परिवारहरु बसोबास गर्नुहुन्छ । त्यसैमा कगाउँ पनि विकट रहेको छ’, वडा अध्यक्ष डिसीले भने– ‘जसले गर्दा घरहरु पनि टाढा–टाढा छन् । विद्युत पु¥याउन समस्या भइरहेको थियो । त्यही भएर सोलारको व्यवस्था गरेका हौँ ।’ उनले तत्कालका लागि सोलारका माध्यमबाट बस्तीमा विद्युत पु¥याइएको भन्दै पछि विद्युत विस्तार नै गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*