Home / Feature Breaking news / उठ्न छोड्यो फोहर, एक साता बजारमै थुप्रने

उठ्न छोड्यो फोहर, एक साता बजारमै थुप्रने

तुलसीपुर, १० साउन । स्थायी डम्पिङसाइटको अभावका कारण कहिले यो कुना त कहिले उ कुनामा विसर्जन गरिँदै आएको तुलसीपुरको फोहर करिब एक साता नउठ्ने भएको छ । हाल अस्थायी रूपमा फोहर फालिँदै आएको एउटा चिरामा जाने सडक मर्मत गर्नुपर्ने भन्दै उपमहानगरपालिकाले एक साताका लागि फोहर उठाउन छाडेको हो ।

हाल विसर्जन हुँदै आएको अस्थायी डम्पिङसाइटमा टिप्पर र कम्प्याक्टर नै आवतजावत गर्ने सडक भत्किएकाले मर्मतका लागि कम्तिमा एक साता लाग्ने भन्दै उपमहानगरपालिकाले फोहर उठाउन नसकिएको बताएको छ । यसकै कारण विगत केही दिनदेखि तुलसीपुर बजारमा दैनिक रूपमा बजारका चोक–चोकमा थुपारिएका फोहर र घरधनीहरूबाट दैनिक फोहर संकलन हुनसकेको छैन ।

स्थायी डम्पिङसाइट नहुँदा विभिन्न समयमा फोहर विसर्जन र संकलनमा समस्या हुदै आएको तुलसीपुरमा २÷३ दिनदेखि आंसिक रूपमा मात्र फोहर संकलन हुँदै आएको छ । उपमहानगरपालिकाले आफ्नो सहरलाई स्मार्ट सिटीका रूपमा व्यापक प्रचारप्रसार गरे पनि बजारैभरि अव्यवस्थित फोहरले उपमहानगरको स्मार्ट सिटीको नारालाई गिज्याइरहेको छ ।

‘सार्वजनिक जग्गाहरू दिनहुजसो अतिक्रमण भइरहँदा उनीहरूलाई हटाउनुको साटो झनै प्रोत्साहन गर्दा फोहर फाल्ने खाडल खन्नलाई समेत उपमहानगरपालिकासँग सार्वजनिक जग्गा अभाव हुनथालेको छ’– तुलसीपुरका एक नागरिकले भने । उनका अनुसार उपमहानगरपालिकाले फोहरको वैज्ञानिक व्यवस्थापनको थालनी गर्न नसक्नु दुर्भाग्यको विषय हो ।

छिमेकी घोराही उपमहानगरपालिकाले फोहर व्यवस्थापनमा फड्को मारेको छ । उसले नगरबासीबाट फोहर खरिद गर्न समेत थालिसकेको छ तर तुलसीपुरले भने डम्पिङसाइटको विकल्प खोज्न नसक्दा नगरमा उत्पादन भएको फोहर संकलन गर्न पनि छाडेको छ । फोहरको वैज्ञानिक व्यवस्थापन गरी जैविक मल र वायोग्यास उत्पादन गर्ने उपमहानगरपालिकाको अभियानले पनि सार्थकता पाउन नसकेकोमा नगरबासीले गुनासो गरेका छन् ।

कहिले स्थान अभाव त कहिले अस्थायी डम्पिङ मर्मत गर्नुपर्ने भएकाले विभिन्न समयमा फोहर संकलनमा समस्या आउने गरेको तुलसीपुर उपमहानगरपालिकाले बताएको छ । उपमहानगरपालिकाले स्थायी डम्पिङ साइटको निर्माणका लागि करिब एकदशक अघि तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा खरिद गरेको करिब त्यो बेलाको एक करोड रूपैयाँ मूल्यको जग्गा पनि अहिले उपयोगविहीन बनेको छ । त्यो बेला फोहर व्यवस्थापनका लागि भन्दा पनि कमिशनमा उद्देश्य केन्द्रित भएका कारण पनि हालसम्म सो डम्पिङसाइटका लागि खरिद भएको जग्गाको सही सदुपयोग हुन नसकेको नगरबासीको बुझाइ छ ।

यो साता तुलसीपुर उपमहानगरपालिकाले अस्थायी डम्पिङसाइटको मर्मत सुधार गर्न लागेकाले अत्यावश्यक बाहेक सबै फोहरहरू उठाउन नसकेको फोहर व्यवस्थापन शाखाले जनाएको छ । उपमहानगरपालिकाले दैनिक रूपमा फोहर व्यवस्थापन गर्दै आएको अस्थायी डम्पिङ क्षेत्रको मर्मत गर्न लागिएको भन्दै अझै एक सातासम्म फोहर व्यवस्थापनमा समस्या हुने बताएको छ । उपमहानगरपालिकाले तुलसीपुर ६ र १२ को सिमानामा पर्ने महेन्द्र स्कूलको खोल्सामा अस्थायी डम्पिङसाइट बनाएको छ ।

दैनिक फोहर संकलन नहुँदा विभिन्न स्थानबाट फोहर संकलनका लागि फोन आउने गरेको फोहर व्यवस्थापन शाखाका अधिकारी खेमकान्त पाण्डेले जानकारी दिए । ‘केही दिनदेखि नियमित फोहर संकलन हुनसकेको छैन, बिहानदेखि लगातार फोन आएका छन्’ –उनले भने । स्थायी फोहर विसर्जनको गर्ने स्थान अभावका कारण कर्मचारी र स्वयम् उपमहानगरपालिकालाई पनि यो समस्या आउने गरेको छ ।

हाल फोहर विसर्जन गर्दै आएको ठाउँ साँघुरो हुनुका साथै टिप्परहरू आवतजावत गर्न समस्या भएकाले डम्पिङसाइटमा जाने बाटो समेत नभएकाले मर्मतको काम भइरहेको पाण्डेले जानकारी दिएका छन् । यसैगरी फोहर फाल्ने ठाउँ समेत साँघुरो हुँदै गएकाले थप व्यवस्थित र फराकिलो बनाउन लागिएको छ । तुलसीपुरमा दैनिक टिप्पर, कम्प्याक्टरहरू र टेक्टरबाट फोहर संकलन तथा व्यवस्थापन हुँदै आएको थियो ।

अब तुलसीपुरमा सीमित क्षेत्रबाट मात्रै दैनिक फोहर संकलन र व्यवस्थापन हुने उनले जानकारी दिए । ‘हाल अत्यावश्यक धेरै थुपारिएका र अन्य मरेका जीवजनावरहरू टेक्टरबाट उठाउने गरेका छौँ, घर–घर पुगेर फोहर संकलन गर्ने काम केही दिनदेखि बन्द भएको छ’ –पाण्डेले भने । यस अघि दैनिक २२ देखि २४ टन फोहर संकलन तथा व्यवस्थापन हुने गरेकोमा अब दैनिक करिब दश टन फोहर व्यवस्थापन हुने उनले जानकारी दिए ।

फोहोर फाल्ने ठाउँको अभावले गर्दा हप्ता दिनसम्म तुलसीपुर क्षेत्रको सबै ठाउँको फोहर उठाउन नसकिने उनको भनाइ छ । जहाँ अत्यावश्यक र बढी समस्या छ, त्यस्ता ठाउँमा मात्रै अब फोहर उठाइनेछ । नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न दीर्घकालीन ल्याण्डफिलसाइटको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनकाको लागि वर्षेनी उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ बजेट भने छुट्याउने गरेको छ ।

तर सो नीति तथा कार्यक्रम कार्यान्वन भने हुँदैन । गत वर्षजस्तै यो वर्ष पनि उपमहानगरले नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न दीर्घकालीन ल्याण्डफिल साइटको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनकाको लागि १ करोड २५ लाख रूपैयाँ विनियोजन भने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*