Home / समाचार / सुजिता मृत्यु प्रकरण : प्रहरीले भन्यो– अभियन्ता, युट्युबरका गतिविधिले अनुसन्धानमा असर पर्‍यो

सुजिता मृत्यु प्रकरण : प्रहरीले भन्यो– अभियन्ता, युट्युबरका गतिविधिले अनुसन्धानमा असर पर्‍यो

चितवनकी सुजिता भण्डारीको मृत्युसम्बन्धी घटनामा हालसम्म कुनै नतिजा हात नपरेको प्रहरीले जनाएको छ ।

आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनालाई भ्रमित, उत्तेजित र खलल पुर्‍याउने समूहका कारण अहिलेसम्म घटनाको ‘क्लु’ भेट्टाउन समस्या भएको बताइएको हो । सुजिता हराएको दुई हप्ता बितिसक्दा र मृत फेला परेको चार दिनसम्म पनि कुनै प्रगति गर्न नसकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मृत फेला परेको चार दिनसम्म पनि उल्लेखनीय प्रगति गर्न नसकिएको बताए । “प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, अभियन्ता र घटनालाई अतिरञ्जित बनाउने समूहका कारण अनुसन्धानलाई बाधा पुगेको छ,” उनले भने ।

हाल सुजिताका परिवार, आफन्तनिकट व्यक्तिहरुसँग घटनाबारे फरक–फरक तरिकाले सोधपुछ भइरहेको उनले जानकारी दिए । “घटनाको अनेक डाइमेन्सन हुन्छन् । तर, घटनाको विषयमा भन्न मिल्ने अहिलेसम्म केही त्यस्तो प्रगति भएका छैन,” प्रहरी उपरीक्षक अधिकारीले भने ।

परिवार र आफन्त अनुसन्धानमा सहयोग गर्न तयार भए पनि त्यस्ता समूहका अनावश्यक हल्ला, अड्कल, अनुमानको भरमा घटनालाई अन्तै मोड्ने प्रयास भएको उनको भनाइ थियो ।

अभियन्ताको नाममा विभिन्न व्यक्ति, समूहहरुले ब्यानर र पर्चा प्रिन्ट गरी भिड जम्मा गर्ने, प्रदर्शन गर्ने, प्रहरीमाथि ढुंगामुढा प्रहार गर्नेजस्ता क्रियाकलापले अनुसन्धानमा थप कठिनाइ भएको अधिकारीले बताए ।

“काठमाडौंबाट प्लेन चढेर अभियन्ता आउने, युट्युबर आउने, रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गर्नेजस्ता प्रवृत्तिले अनुसन्धानमा असर पुग्यो,” उनले भने । अनुसन्धानमा खटिनुपर्ने प्रहरी अधिकारी अहिले कर्फ्यु व्यवस्थापनमा खटिनुपरेको उनको भनाइ थियो ।

अपहरणमा परेकी सुजिताले एउटै व्यत्तिलाई ६ पटकसम्म कल गर्नु, पट्टी बाँधिएको छ भन्नु, मेसेज गर्नु, मोबाइलमा इन्टरनेट अन हुनुजस्ता विषयले थप सशंकित बनाएको पनि प्रहरी उपरीक्षक अधिकारीले बताए ।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी निरन्तर खटिएको बताउँदै उनले प्रहरीले दिएको आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरे ।

परिवारजनले प्रहरीलाई घटनाबारे जानकारी दिँदा पनि प्रहरीले सक्रियता नदेखाएको कारण सुजिताले अनाहकमा ज्यान गुमाउनुपरेको स्थानीयको आरोप छ ।

सुजिता मृत फेला परेको स्थानीय ब्रह्म सामुदायिक वनमा प्रहरीले माउन्टेन ड्युको बोतलमा धानमा छर्ने विषादी, झोला, केही खुद्रा पैसा, सिम नभएको मोबाइल फेला पारेको थियो । तर, मृत फेला परेको स्थल नै मुख्य घटनास्थल हो वा होइन भन्ने विषय प्रष्ट भएको छैन ।

सुजिताको शवको परीक्षण काठमाडौंमा गरिए पनि त्यसबाट थप केही नखुलेको बताइएको छ । भिसेरा रिपोर्ट आएपछि केही खुल्न सक्ने प्रहरीको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*