Home / Feature Breaking news / कांग्रेस महाधिवेशन हुन्छ त ?

कांग्रेस महाधिवेशन हुन्छ त ?

कुलचन्द्र वाग्ले

नेपालको सबैभन्दा पुरानो र जीवन्त ऐतिहासिक पार्टी नेपाली कांग्रेस घोषित मितिले चौधौं महाधिवेशनको सम्मुख छ । तर, शुभेच्छुक र सानाठूला कार्यकर्र्ता नै भेटघाटमा सोध्छन् – के महाधिवेशन हुन्छ त ? यो प्रश्नको निश्चित उत्तर सायद कसैले दिनसक्ला ? सम्भावना र आशंकासहित सद्भावको यस्तो प्रश्न गरिएको हो भन्नेमा कुनै शंका छैन ।

कोरोनाको बन्दाबन्दीपछि अलि खुकुलो परिवेशले हाल साथीभाइसँग हुने कुराकानीमा यस्तो सोधाइ प्रशस्तै आएको छ । यो कुनै एकजना व्यक्तिको अनुभवमात्र पनि होइन होला । कांग्रेसको सबालमा धेरैले सामना गरेको हालको प्रश्न हुनुपर्छ यो । उत्तर पनि आआफ्नै होलान् । तर, मलाई भने यस्तो सोधाइ नै किन आयो ? भन्ने जिज्ञासामा कारण त केही हुनुपर्छ भन्ने लागिरहेको छ ।

मसँग त थप बाटोघाटो र चिया पसलमा भेट हुने साथीहरु विशेषण थपेर सोध्छन् – तपाईं त पत्रकार थाहा होला नि ? फुक्र्याउन जानेकाहरु वरिष्ट पत्रकार पनि भनिदिन्छन् र मानौ कुनै निश्चित उत्तर दिन पत्रकारले सक्नुपर्छ भनेजस्तै गर्छन् । कांग्रेस महाधिवेशन हुने, नहुने सबालमा ठोकुवा उत्तर खोजेजस्तै यो प्रश्नले पत्रकारिताको हैसियतमा स्वयंलाई पनि गम्भीर बनाउँछ । के पत्रकारले सम्भावनाको अँध्यारो उधिनेर निश्चित उत्तर दिनसक्छ वा मिल्छ ?

पत्रकारिताप्रतिको विश्वास हो कि परख ? सोध्नेहरुले नै बुझेको हुनुपर्छ । पत्रकारले समय, परिस्थितिको विश्लेषण गर्न सक्छ, गर्नु पनि पर्छ । तर ऊ ठोकुवा गर्ने भविष्य वक्ता चाहिँ होइन, हुन पनि सक्दैन । सम्भावनाको विश्लेषण मिल्न पनि सक्छ र नमिल्न पनि सक्छ । पत्रकारिता विश्वास, अविश्वासको गाली, ताली पाउने कर्म हो । बुझ्नेले यो कुरा बुझेकै छन् ।

महाधिवेशनको सम्मुख अहिले कांग्रेसप्रति किन यस्तो सन्देह गरिएका होला ? प्रश्न पत्रकारको नाताले सोधिएको भए पनि लक्षित चाहिँ कांग्रेससँगै हो । किन ? कांग्रेसका  नेताले यस्तो प्रश्नको कति सामना गरेका छन् र निश्चित उत्तर के दिएका होलान् ? उनीहरु निश्चित उत्तर दिन समक्ष हुन्थे भने यस्तो जिज्ञासा आउथ्यो वा सोध्नेहरुको जिज्ञासा पहिल्यै मेटिन्थ्यो ? समीक्षा कांग्रेसजनले गर्नुपर्छ ।

हेर्दा, सुन्दा र बुझ्दा जिल्ला, जिल्लामा कांग्रेसका कार्यकर्ता महाधिवेशनप्रति उत्साहित छन् र सक्रिय पनि । कता कता उनीहरुमा समेत घोषित मितिमा १४ औं अहाधिवेशन हुने नहुनेमा शंका भने ध्वनित हुन्छ । अहिले क्रियाशील सदस्यताको मेसोमा विवाद पनि प्रशस्त छ । कतिपय जिल्लाहरुको कार्यकर्ता फाइल बोकेर सदस्यता वितरणमा पक्षपात भएको उजुरीसहित पदाधिकारी नेताहरुको घरदैलामा पुगेको देखिन्छ, सुनिन्छ ।

स्वाभाविक हो नेपाली राजनीतिमा केही योगी पनि छन् तर धेरै भोगी भित्रिएका छन् । यसमा कांग्रेस पनि अछुतो छैन । योगीलाई योगदानप्रति मोह छ, भोगीलाई भावी भोगको चिन्ता छ । नेतृत्वलाई जो होस् समर्थक चाहिएको छ ।समर्थक नभए योगी पनि तिरष्कृत र भोगी समर्थक भए स्वीकृत छ । नेपाली राजनीतिको विकृत मुहान यही हो ।

माथिको प्रश्नमा आफ्नै जिज्ञासा थपेर कांग्रेसले कार्यतालिकासहित महाधिवेशन तय गरेको छ । नेताहरु उम्मेदवारीको घोषणा गरिरहेका छन् । भदौको घोषित मितिमा महाधिवेशन हुनैपर्ने बाध्यता छ । अन्यथा पार्टीले वैधानिकता नै गुमाउन सक्छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन गराउन नसकेको वा नचाहेको कलंकको टीका लगाउन चाहन्न, घोषित महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ भनेको सार्वजनिक भएको छ । पार्टी सभापतिको यति ठूलो प्रतिबद्धतामा बाँकी आशंका प्रश्न किन ? साथीहरु भन्छन् – तै पनि ? यो कस्तो आशंका र अविश्वास हो ?

छानबिन समितिका सदस्य भन्छन् – नेताहरुको सहमति र दिएको उपायपछि क्रियाशील सदस्यताको कारण महाधिवेशनमा व्यवधान हुनेछैन । तैपनि यस्तो प्रश्न किन ? थाहा पाएसम्म यसअघिका महाधिवेशनप्रति यस्तो आशंका र अविश्वास खासै सुनिएको थिएन । मिति केही हेरफेर भए होलान् तर निश्चित समयावधिमा सकुशल कांग्रेस महाधिवेशन सम्पन्न भए । यसपटक चाहिँ किन यति व्यापक आशंका भयो त ? यो प्रश्नमा अरु कोही किन, कांग्रेस नेतृत्व नै बढी घोत्लिनुपर्छ र प्रश्नको ऐनामा उनीहरुले आफ्नो अनुहार नियाल्नुपर्छ ।

कारण नेतृत्वप्रति भरोसा टुटेकोले कार्यकर्ता वा शुभेच्छुकमा जन्मिएको अविश्वासकै परिणाम यो नेतृत्वले महाधिवेशन गराउँछ कि गराउँदैन भन्ने चिन्ता र प्रश्न हो । अविश्वासको यति गम्भीर प्रश्नले खासगरी सभापति देउवालाई झस्काएको हुनुपर्ने हो । अझै पनि सभापतिले महाधिवेशनलाई निश्चिन्त बनाउन नसक्नुको कारण के होला ?

संक्षिप्तमा नेतृत्वप्रतिको भरोसा टुट्नु नै यस्ता प्रश्नको मूल

कारण हो । के यतिमात्रै होला त कारण ? अरु सहायक कारण पनि छन् भन्ने लाग्छ । महाधिवेशन रोकिए यस्ता कारण पनि हुन सक्छन् भन्नैपर्ने भएको छ । पहिलो कोरोनाको महामारी पुनः असाध्य फैलिने । दोस्रो प्राकृतिक विपद्ले बाटै छेक्ने । तेस्रो कम्युनिस्ट सरकारको उपद्रो व्यवधान बन्ने, बनाइने । चौथो जिम्मेवारी निर्वाह गर्न असफल नेता, नेतृत्व । यी कारण हुन् र देखाइन सक्छन् तर पार्टी जीवन ?

यस्ता कुराले पनि महाधिवेशनप्रति आशंका उब्जाएको हुनुपर्छ । आफ्नैसमेत साथीहरुको कुराकानीमा यही बुझिन्छ । आशंका जति गरेपनि अब महाधिवेशन हुने नै देखिन्छ । सामना गर्नै नसक्ने वा नचाहने परिस्थितिको कुरा बेग्लै हो । जिम्मेवारी बोध नभएको नेतृत्व होइन तर जिम्मेवारी राम्ररी निर्वाह नगरेकै कारण यस्तो आशंका जन्मे हुर्केको न हो ।

यस्तो आशंका वा अविश्वास कैले निवारण होला त ? अहिले सुन्दा त महाधिवेशनको मैदानमा सबै उपस्थित भएपछि मात्र यस्ता आशंका हट्लान् कि भन्ने लाग्दैछ । कांग्रेसका लागि के यो सुखद कुरा भयो र ? पार्टी जोगिए नै नेतृत्व आउने, जाने हो नि । अन्त्यमा निश्चिन्त भन्न सकिन्छ अब महाधिवेशनको विकल्प कांग्रेस सामु अर्को छैन र यो अनपेक्षित विकल्प खोज्नु पनि अनिष्टकारी नै हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*