दाङ, २२ असार । जिल्लामा होटल, बाल उद्यानसहितको फनपार्क सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० को अमराईमा विभिन्न सेवा एकै स्थानमा प्रदान गर्न गरेर फनपार्क सञ्चालनमा ल्याइएको हो ।
३ वर्षअघिदेखि निर्माण सुरु गरिएको दाङ फर्न भ्याली प्रालि सञ्चालनमा आएको हो । उक्त फनपार्कमा हालसम्म करिब १५ करोडको लगानी लागिसकेको प्रालिका महाप्रवन्धक नरेशकुमार श्रेष्ठले बताए । केही काम गर्न बाँकी रहेकाले लगानी बढ्ने सञ्चालकहरुको भनाइ छ । कोभिडको कारण सामग्रीको मूल्यवृद्धि भएकाले लगानीमा बृद्धि हुने उनी बताउँछन् । कोभिडको बीचमा पनि निर्माण गरेर सञ्चालनमा ल्याउन सकिएको उनले बताए । ‘कोभिडले गर्दा समस्या भए पनि हामीले सञ्चालनमा ल्याउन सकेका छौँ’, श्रेष्ठले भने– ‘कोभिडको कारण निर्माणमा केही समय पछि धकेलिएको हो ।’
जिल्लामा विभिन्न क्षेत्रमा कार्य गर्दै आएका व्यक्तिहरुको लगानीमा फनपार्क सञ्चालनमा ल्याएको उनले बताए । फनपार्क ३ बिगाहा ५ कठ्ठा जग्गा भाडामा लिएर सञ्चालन गरिएको हो । ‘जिल्लामा नयाँ प्रकारको व्यवसाय गर्ने उद्देश्यले फनपार्क सञ्चालन गरिएको हो । यस प्रकारको सेवा सहितको होटलहरु नभएकाले आफूहरु यसतर्फ लगानी गरेका छौँ’, श्रेष्ठले भने– ‘होटलहरुमा पनि नयाँपन दिएर सञ्चालन गर्नुपर्दछ भन्ने सोचका साथ अगाडि बढेका हौँ ।’ एकै स्थानबाट धेरै सुविधा प्रदान गरिने उनको भनाइ रहेको छ ।
जुन जिल्लामा नै पहिलो रहेको सञ्चालकहरुको दावी छ । ‘हामीले एकै स्थानबाट धेरै सेवा प्रदान गर्नेछौँ’, महाप्रवन्ध श्रेष्ठले भने । फनपार्कमा गेष्ट रुम, पार्टी प्यालेस, रेष्टुरेण्ट, इन्डोर गेम, लाइज जिम, व्याडमिन्टन कोर्ट, बाल उद्यान, बाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्वीमिङ पुलको व्यवस्था गरिएको छ भने पिक्निक खान जानेहरुलाई छुट्टै व्यवस्थासमेत गरिएको छ । निश्चित रकम लिएर पिक्निक खान दिइने छ । अहिले वाटर पार्क, स्वीमिङ पुलबाहेकका सेवा सुरु भइसकेका छन् । सबै सेवाहरु माघदेखि सुरु हुने श्रेष्ठले बताए ।
विद्यार्थीहरुलाई अध्ययन गर्न सजिलो होस् भनेर चिडियाखाना र संग्रहालय समेत बनाउने लक्ष्य लिएको श्रेष्ठ बताउँछन् । ‘यसले गर्दा आन्तरिक पर्यटकको आकर्षण समेत बढ्ने छ’, महाप्रवन्ध श्रेष्ठले भने । फनपार्कमा ५० जनाले रोजगारी प्राप्त गर्नेछन् । यसले थोरै भए पनि रोजगारीको सिर्जना गर्ने सञ्चालकहरु बताउँछन् ।
जिल्लाको आर्थिक तथा पर्यटन विकासमा समेत भूमिका खेल्ने अपेक्षा गरिएको छ । पछिल्लो समयमा जिल्लामा होटलमा लगानी बढ्दै गएको छ । शहरीकरणसँगै सानादेखि ठूला होटलमा लगानी गर्नेहरुको संख्यामा बृद्धि भएको छ ।