Home / समाचार / कौवाघारीमा रोटरीको आरसिसी भिलेज

कौवाघारीमा रोटरीको आरसिसी भिलेज

दंगीशरण, ६ पुस । दंगीशरण गाउँपालिका–२ को दुर्गम दलित बस्ती कौवाघारीमा रोटरी क्लव अफ तुलसीपुरले रोटरी कम्युनिटी कप्स (आरसिसी) गठन गरेको छ । यससँगै रोटरी क्लव अफ तुलसीपुरको मातहतमा दुईवटा आरसिसी भिलेज गठन भएका छन् ।

यसअघि शान्तिनगर गाउँपालिकाको काँशीपुरमा पनि आरसिसी भिलेज गठन भइसकेको छ । रोटरी क्लव इन्टरनेशनलले नेपालभरी हालसम्म १ सय १६ वटा यस्ता कमिटी गठन गरिसकेको बताइएको छ ।
‘सीमान्तकृत समुदायमा शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानीलगायतका विभिन्न सामाजिक अभियानमा विशेष महत्व दिनका लागि कौवाघारीमा आरसिसी भिलेज गठन गरिएको हो’, नवगठित आरसिसी कमिटीलाई बधाइ तथा कार्यभार सुम्पँदै रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष सुरेश हमालले भने ।

रोटरी क्लव भरतपुर चितवनको विशेष पहल र रोटरी क्लव अफ तुलसीपुरको सहकार्यमा सो स्थानमा रहेका कम्तीमा एक सय घरपरिवारलाई खानेपानी सुविधा पु¥याउनका लागि डिपबोरिङ योजनासमेत निर्माणको चरणमा रहेको छ । त्यसैगरी सो दुर्गम बस्तीलाई विशेषज्ञ स्वास्थ्य शिविर, विद्यालयमा पढ्ने गरिब बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरणदेखि अन्य सामाजिक कार्यहरु पनि सो गाउँमा पु¥याउन रोटरी क्लवले पहल गर्ने पनि अध्यक्ष हमालले बताए ।

कार्यवाहक वडाध्यक्ष नन्दराम केसीको विशिष्ट आतिथ्यमा भएको आरसिसी गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा रोटरी क्लव अफ तुलसीपुरका पूर्व अध्यक्ष कुशल तर्तालले नगगठित आरसिसी समितिका पदाधिकारीहरुलाई बधाइ दिँदै रोटरी क्लवको विधानबमोजिम सामाजिक अभियानमा जुट्न आग्रह गरे । आरसिसी पनि रोटरी क्लवको विंग्स भएको उल्लेख गर्दै यस बस्तीमा भएका शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विभिन्न समस्या समाधानमा रोटरी क्लवले हातेमालो गर्ने पनि उनको अभिव्यक्ति थियो ।

सोही अवसरमा रोटरी क्लव अफ तुलसीपुरका पूर्व अध्यक्ष तुफानबावु श्रेष्ठले रोटरीको अभियान विशुद्धरुपमा सामाजिक अभियान भएको बताउँदै यो दुर्गम बस्तीलाई आइपर्ने हरेक समस्यामा रोटरी क्लव अफ तुलसीपुर सदैव साथ रहने प्रतिवद्धता व्यक्त गरे । रोटरीले आरसिसी भिलेज गठन गरेका गाउँहरुमा शिक्षा, स्वास्थ्य तथा खानेपानीलगायतका अभियानलाई विशेष महत्वका साथ सम्बोधन गर्दै जाने पनि उनको अभिव्यक्ति थियो ।

रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय युवा दोर्ण विकको अध्यक्षतामा रोटरी क्लवको आरसिसी दंगीशरण, कौवाघारी गठन भएको छ । अध्यक्ष तथा प्रमुख अतिथिले एक समारोहबीच नवगठित कार्यसमितिलाई माइन्यूट तथा रोटरीको विधान हस्तान्तरण गरेका थिए ।

नगगठित आरसिसी कौवाघारीका अध्यक्ष विकले आफूले रोटरीको विधान र आचरणबमोजिम तोकिएको क्षेत्रमा सामाजिक कार्यक्रमहरु गर्दै रोटरीको शिर उचो बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

इलेक्टेड प्रिसिडेण्ट शिव श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण रोटरी क्लव अफ तुलसीपुरका महासचिव देवेन्द्र केसीले गरेका थिए भने धन्यवाद ज्ञापन रोटरीयन विनिल केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*