Home / समाचार / असहायहरुका लागि दाङमा सेवा घर संचालनमा

असहायहरुका लागि दाङमा सेवा घर संचालनमा

केएल पीडित
दाङ, १२ मंसिर । विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपांग, मनोरोगी एवं वेवारिशे व्यक्तिहरुको उद्धार एवं संर गर्ने उद्देश्यले दाङमा सेवाघर संचालन गरिएको छ । मानव कल्याण समाजले घोराही १५ मा मंसीर ६ देखि सेवाघर संचालनमा ल्याएको हो ।

सेवाघरमा हाल १२ जना अशक्त, असहाय र मानसिक रोगीहरु छन् । सेवाघरमा उनीहरुको गास, बास, कपास र औषधि उपचारको व्यवस्था गरिएको अभियन्ता सुष्मिता श्रेष्ठले बताउनु भयो ।
दाङमा स्थापना गरिएको यस सेवाघरमा असहायहरुको सेवाका लागि ५ जना अभियन्ता र सेवकको व्यवस्था गरिएको छ ।

सेवाघरलाई लुम्बिनी प्रदेशस्तरीय बनाउने लक्ष्य रहेको संचालक संस्था मानव कल्याण समाजका सचिव बिजय पोख्रेलले बताउनुभयो । मानव सेवाका दृष्टिले लुम्बिनी प्रदेशलाई मानवताको सुन्दर प्रदेश बनाउने आफ्नो संकल्प रहेको सचिव पोख्रेलले बताउनुभयो ।

‘हामी कुनैपनि मान्छेले आफन्त र घरपरिवारबाट परित्यक्त भई वेवारिशे जीवन बिताउनु पर्ने अवस्थाको अन्त्य गर्न चाहन्छौं र व्यक्ति व्यक्तिमा मानवीय मूल्य र मान्यताको विकास गर्न चाहन्छौं’सचिव पोख्रेलले थप्नु भयो ।

सचिव पोख्रेलका अनुसार उद्धार गरी सेवाघर ल्याइएका व्यक्तिहरुलाई अवस्था सुधारपछि परिवारमा पुनस्मिलन गराइनेछ र घरपरिवारविहीनहरुलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाइनेछ । सेवाघर संचालनको मुख्य श्रोत मुठ्ठीदान, नगद, जिन्सी तथा श्रमदान रहेको सचिव पोख्रेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*