Home / Feature Breaking news / फेरि पनि सरकार र प्रतिपक्षकै कुरा

फेरि पनि सरकार र प्रतिपक्षकै कुरा

सुभाष न्यौपाने
अप्ठेरोको संकेत दिए ओलीले शेरुलाई ।
कांग्रेसका साथ चाहियो आज सरकारलाई ।।
आफ्ना भन्ने पनि आफ्ना भएनन् है आज ।
जे–जे भन्छौ त्यही पु¥याउँला साझेदारी माझ ।।
तिमी हामी मिले पछि अरु के दरकार भो ।
नेतृत्व तिम्ले गरे शेरु चुनावी सरकारको ।।

पछिल्लो समयमा आएर नेकपाभित्र देखिएको विवाद र असहमति पर्खालसँगै सरकार ढल्ने र पार्टी फुट्ने कुरा सर्वत्र व्यापक रुपमा आइरहँदा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहदाुर देउवासँग आफ्नो नेतृत्वको सरकार अप्ठेरोमा परेकोले सरकार जोगाइदिन गरेको याचना पनि सार्वजनिक भइसकेको छ ।

प्रधानमन्त्री ओली शेरबहादुरलाई आश्वासन पनि दिएका छन् रे, भागबण्डा मागे अनुसार मिलाउँला तिमीलाई नै चुनावी सरकारको नेतृत्व गर्ने प्रबन्ध पनि मिलाउँला भन्ने आश्वासन र लोभ पनि देखाइदिएको कुरा समेत सार्वजनिक भइसकेको छ । हुन पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि मीठो पाएपछि खाइहाल्ने स्वभावका भएकाले पनि ओलीजीले यो खालको आश्वासन दिएर आफू र आफ्नो सरकार जोगाउन खोजेका हुन सक्छन् ।

ओलीजीको प्रश्नको जवाफमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले उक्त विषय र प्रशंगको प्रष्ट जवाफ दिएका छन् । हामी यस अवधिभरि सरकारमा जाँदैनौा । जनताले हामीलाई प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वा गर्ने म्याण्डेट दिएका छन् । त्यसैले हामी यस अवधिभरि सरकारमा जाँदैनौँ ।

तर जनताले हेरिरहेका छन् कि नेपाली कांग्रेसको भूमिका कस्तो रहन्छ ? जनता भन्छन् पनि नेपाली कांग्रेस यस परिस्थितिमा सरकारमा जानु भनेको नेपाली कांग्रेसले भन्ने लोकतन्त्र मुलुक यी जनताका लागि नभएर आफ्नो भोक मेटाउने लोकतन्त्र खोजेको बुझिन्छ । सत्ताधारी दलका दुई समूहको बीचको विवाद अहिले उत्कर्षमा पुगिरहँदा यसको उद्देश्य र आशय के पनि बुझिन्छ भने सत्ताधारी दलका यी दुवै समूह पार्टी कब्जाको होडमा अघि बढेको हो कि जस्तो पनि देखिन्छ ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको बीचमा बालुवाटारमा भएको सत्ता समीकरणसम्बन्धी सम्वादलाई नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण काँड र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमानको पाँच वर्ष नेपाली कांग्रेस सरकारमा जाँदैन ।

प्रतिपक्षमा नै बस्छ भनेर सार्वजनिक गरिसक्न नपाउँदै पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटस्थ पार्टी नेताहरुलाई दौरा सुरुवालको लागि एलर्ट हुन दिएको निर्देशन के हो ? के पार्टी प्रवक्ता र पार्टी संसदीय दलका प्रमुख सचेतकहरु पार्टी सभापतिको धारणा बुझ्दै नबुझेर बोलेका हुन् ? या कार्यकर्ता वृत्तमा विरोध आउन सक्छ भनेर बुझी–बुझीकन बुझ पचाएर बोलेका हुन् ? कार्यकर्तालाई यसको जवाफ चाहिन्छ ।

सरकार र सरकारवादी दल आपसी पत्रयुद्धमा अघि बरिहँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बालुवाटारबाट सिधै हेलिकोप्टरमार्फत् ताप्लेजुङ पुगेर भन्छन् – तपाईंहरुले कुनै पिर मान्नु पर्दैन । ढुक्क हुनुहोस् न त सरकार ढल्छ न त सरकार फेरिन्छ । सरकारले गरेका राम्रा कामहरुबाट आत्तिएका सरकार विरोधीहरुले ल्याएको अफवाह मात्र हो ।

तपाईंहरु सबैलाई थाहा छ हामीले कोरोना महामारीका विरुद्धमा जनतालाई राहत दिने, स्वास्थ्योपचार गर्ने क्रममा सरकारको तर्फबाट भएको अर्बाैंको भ्रष्टाचार गरेर मोटाएको त देख्नुभएकै छ । त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्बन्धमा गरिएको भद्र अनियमिततालाई देख्न नसक्नेहरुले उठाएको नकारात्मक धारणा मात्र हो । त्यसैले गरेको भद्र अनियमितताको जसले जति विरोध र विवाद गरे पनि हाम्रो सरकारलाई केही पनि हुँदैन ।

तर दोस्रो अध्यक्ष प्रचण्डले पार्टीमा पेश गरेको राजनीतिक प्रस्तावका नामको अवरोध पत्रको कुने पनि हालतमा म जवाफ दिँदैन भन्ने पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आली एकाएक आउँदो सचिवालयको बैठकमा जवाफ दिने मुड बनाएका छन् रे । नेकपाका दुवै अध्यक्षका बारेमा जानकारहरु र वर्तमानको नेकपाका नेताहरुको एकआपसको झगडालाई नजिकबाट नियालेका जननकारहरुको अनुसार अहिलेको नेकपाभित्रको अवस्था पहिले पहिले जस्तो दुई–चारवटा पक्षीय भागबण्डा मिलाएमा दुई अध्यक्षहरु अंकमाल गरेर हिड्ने अवस्था छैन रे ।

त्यसैले आउँदो सचिवालयको बैठकमा को कसरी उपस्थित हुने हुन् अझै एकीन गरेर भन्ने अवस्था छैन रे । अझै पनि कोही भन्दै छन् वारपार हुन्छ, कोही भन्छन् भागबण्डामा मिल्छ । तर यी सबै मान्छेका अड्कलवादी मात्र हुन् । नेकपाका दुई खेमाका नेताहरु राजधानी हस्तिनापुर कब्जा गर्नका लागि मल्ल युद्ध या कर्णयुद्ध दुवै युद्धको लागि अहिले दुवै पक्ष तिघ्रामा घ्यू घसेर बसेको बेलामा यदि नेपाली कांग्रेस आजै आत्तिएर कुनै एउटा समूहको रथ हाँक्ने सारथी या युद्धको नेतृत्व गर्ने रहरमा सूर्य सुत र भद्रपति बन्न चाहन्छ भन्ने नेपाली कांग्रेस आगामी निर्वाचनसम्म पुग्दा सोही युद्ध मैदान हराउन पनि सक्छ । त्यसमा पनि कांग्रेसको भाडामा आएका सिपाहीहरुलाई त खासै त्यति न खल्ला ।

किनभने उनीहरुले मैदानबाट भाग्नुपरे पनि मन्जुरी त उठाइसकेका छन् । जो सधैँ नेपाली कांग्रेस लेखेको झोला बाकेर नागरिक स्वतन्त्रताको पक्षमा वकालत गरिरहेका छन् उनीहरले पानी समेत पिउन पाउने छैनन् । त्यसैले नेकपाका हस्तिनापुर कब्जा गर्नै लडाइँमा कांग्रेसले अहिले नै आफ्नो भूमिका कुनै समूहलाई पेश गर्न थाल्यो भने त्यो सन्दर्भमा कांग्रेस बाघ चाहिँ कुकुर उत्ताउलो त बन्ने नै छ । त्यति मात्र नभई नेपाली कांग्रेस जनताको चक्रव्यूहमा समेत फस्नेछ ।

त्यसैले मुलुकको आजको खाँचो पूरा गर्नको लागि त मुख मिठाउने कडा दूध, चिनी सहतिको चिया र मसला र चिल्ला सहितको तरकारीभन्दा मेथी हालेको चिया र झोलिलो, रसिलो तरकारी बन्नसक्यो भने जनतालाई असाध्यै रोग सुगर र प्रेसरबाट पनि जोगाउने शरीरलाई सुख्खा हुनबाट जोगाउन पानीको मात्रा पनि पर्याप्त होला । होइन मीठो मात्र खान खोज्यो भने नेकपाभनदा पहिले नेका खोज्नुपर्ने हुनसक्छ ।

कोरोना संक्रमणको महामारी बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओली विवादित हुँदै गए । हुँदाहुँदा नेकपा अहिले आफ्नै कारण विवादित हुँदै जटिल मोडतर्फ उन्मुख भएर गैरहेको छ । निर्वाचनमार्फत् गठन भएको सरकार आज आफ्नै कारण नागरिकले आफ्नो अभिमतमार्फत् दिएको प्रशिद्धि क्रमशः हराउँदै गइरहेको छ । सदन अन्त्य भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि सरकार अर्को सदन बोलाउने कुरामा गम्भीर भएको छ ।

त्यस विषयको उठान प्रमुख प्रतिपक्ष दलले पनि गर्न सकेको छैन । सरकार आफूलाई विज्ञापनमा लैजान चाहन्छ । खस्न लागेको घोती र टोपीलाई स्याहारेको जस्तै गरी आफ्ना लाज ढाक्न खोज्दै छ । त्यही लाज ढाक्न प्रमुख प्रतिपक्ष बेला–बेलामा बालुवाटार परिसरको दृश्यले पनि देखाउँछ । तर ख्यला गर्नुपर्ने कुरा के भने सरकारको लाज ढाक्न खोज्यो भने प्रतिपक्षले कोशिस नगरेदेखिन राम्रो हुने धारणा नेपाली जनताको छ ।

नेकपा जुट र फुटको नाटक गर्दै आ–आफ्नो समूहबाट रणनैतिक रुपमा अगाडि बढिरहँदाको अवस्थामा प्रमुख प्रतिपक्षी दल कसैको पनि बैसाखी बन्ने चाहना नराख्दा उपयुक्त हुने आम जनसमुदायको भनाइ छ । लोकतन्त्रमा नागरिकको नैसर्गिक अधिकार स्वास्थ्य, शिक्षा र सुरक्षाको रक्षा गर्ने प्रबन्ध मिलाउन सकेका भए सरकारको सबैले तारिफ गर्ने थिए । सरकारी दलको न त सरकारी पक्षले नै जनताको हित र सुरक्षाको निमित्त आफ्नो कार्यक्रमहरु ल्याउन सक्यो न त सत्ताधारी दलको इतर पक्षले नै वर्तमानमा कोरोना महामारीबाट उब्जिएका जल्दाबल्दा समस्याहरुको बारेमा सरकारलाई औलाउने काम भयो ।

उनीहरुको त नितान्त लेनदेन, पद र पैसाको मात्र झगडा भएको बुझिन्छ । यस्तो गैर नागरिक सरकारका गतिविधिहरुको कारण यिनीहरुमा आएको खिचातानी प्रमुख प्रतिपक्षी दलले कसैको पक्षमा वकालत नगरी आफ्नो ड्यूटी के हो ? भनेर बुझिकन अगाडि बढ्दा राम्रो होला । यदि प्रमुख प्रतिपक्षी दलका नेताहरु गतिला भैदिएको भए सरकारले यिनीहरुका मुद्दालाई केही हदसम्म त पक्कै पनि सम्बोधन गर्ने थियो ।

ऊ पनि सरकार र सरकारी दलसँग लोलोपोतो र मिलेमतोमै अल्झिएको छ । सत्ताधारी दल र सरकार आफ्ना कारणले आफै अल्झिएका र रुमलिएका छन्, त्यसमा प्रतिपक्षले चासो राखेर मुख मिठाउनु त्यति राम्रो होइन । त्यतिबेला प्रतिपक्षले अलि–अलि मीठो खान पाए पनि त्यो वस्तु विष बन्नसक्छ । नेकपाका नेताहरु गुट, फुट र जुटको अस्तित्व जोगाउन मुलुक र जनतालाई दाउँमा राखेर जुँगाको लडाइँ लडिरहेको अवस्थामा नेपाली कांग्रेस पनि जनता र देशको विरुद्धको मोर्चामा सहभागी हुन जानु भनेको जनताको आधारको रुपमा रहेको नेपाली कांग्रेस जनताको शत्रु सावित हुने छ ।

लोकतन्त्रको सम्वाहकको रुपमा रहेको कांग्रेस सरकार र सरकारी दलले लोकतन्त्र विरोधी गतिविधि सञ्चालन गरिरहँदा त्यसमा प्रवेश गरेर लोकतन्त्रका सबै मूल्य मान्यताहरुका विरुद्धको साँठगाँठमा नेपाली कांग्रेस सहभागी हुनु भनेको सदैव राष्ट्र र जनताप्रतिको घात ठहर्ने छ । यतिबेला त कांग्रेसले ढोकामा बसेर खबरदारी गर्नुपर्ने भूमिका निर्वाह गरोस् भन्ने चाहना जनताको रहेको छ । नेकपाको यस पटकको विवाद पहिले पहिले जस्तो दम्काएर खानेखालको नभएर अलि भिन्न देखिएको छ ।

यतिखेर उनीहरु दुवै पक्ष दुवैलाई मुसो खेलाउँदै आफू विरालो बन्ने पक्षमा छन् । यस्तो दाउँमा उनीहरु देश, जनता र लोकतन्त्र सबै बाजी राखेर अघि बढिरहेको अवस्थामा नेपाली कांग्रेसले कुनै एउटा समूहलाई काँध हालेर हिड्न खोज्नु भनेको सिधै जनता र राष्ट्रपतिको अपराध हो । तसर्थ, हस्तिनापुर हत्याउने कुरुक्षेत्रको लडाइँमा यी दुवैमध्ये कुनै समूहसँग मिल्नु भनेको त नेपाली कांग्रेसको लागि जनताको आँगनमा जाने आफ्नो समेत बाटो बन्द गर्नु हो । जनताले लोकतन्त्र प्राप्तिको लागि सहादत गरेको रगतको होलीमा सरकार र सत्ताधारी दल रमइरहेको अवस्थालाई प्रतिपक्षले राम्रोसँग बुझनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*