Home / Feature Breaking news / तुलसीपुरले पिसिआर मेसिन खरिद गर्दै

तुलसीपुरले पिसिआर मेसिन खरिद गर्दै

तुलसीपुर, २० कार्तिक । कोरोना संक्रमणको दर बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकाले कोरोना परीक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ । परीक्षणका लागि घोराहीसम्म जानुपर्ने बाध्यता भएको भन्दै कार्यपालिकाको ९५औ बैठकले यस्तो निर्णय गरेको हो ।

‘कोरोना चेकजाँच गर्नका लागि घोराहीसम्म जाँदा संक्रमण हुने र फैलने त्रास हुने हुँदा यहाँ नै पिसिआर मेसिन राखेर कोरोना चेकजाँच गर्ने निर्णय गरिएको छ’, नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले मेसिन सहयोगको प्रतिवद्धता आइसकेको समेत जानकारी दिए । ‘मेसिनलाई व्यवस्थापन र सञ्चालनका लागि हामीले सबैको सहयोग लिनेछौ’, उनले भने ।

यसैगरी कार्यपालिकाको बैठकले आइसियु स्थापना गर्ने समेत निर्णय गरेको छ । लक्षण देखिएका बिरामीको संख्या बढेसँगै आइसियुको अभाव हुने कुरालाई मध्यनजर गरेर स्थापना गर्न लागिएको नगरप्रमुख पाण्डेले बताए । उनले तुलसीपुरको प्रादेशिक अस्पतालका साथै उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पतालमा गरेर ६ बेडसम्मको आइसियु स्थापना गर्न लागिएको बताए ।

उपमहानगरपालिकाको ९५औं कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आइसियु स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय लक्षण देखिएको संक्रमितको संख्या बढ्दै गएपछि उपचारमा समस्या देखिएको छ । ‘उपमहानगरपालिकाले केही रकम राखेर अन्य विभिन्न पक्षबाट सहयोग संकलन गर्दै तत्काल आइसियु सञ्चालन गरिनेछ’, नगरप्रमुख पाण्डेले भने ।

उनले आइसियु बेड सञ्चालनका लागि विभिन्न सरोकारवाल निकायसँग छलफल अगाडि बढाइएको समेत बताए । ‘विपद्को बेलामा नागरिकको जीउज्यान जोगाउने नै मुख्य दायित्व हो त्यसैले हामीले आफूलाई कोरोना प्रतिरक्षाका लागि विभिन्न कामहरुमा केन्द्रित गरेका छौं’, उनले भने । कोरोना संक्रमणमा परेर उपचार गराउन नसक्ने नागरिकको उपचारसमेत उपमहानगरपालिकाले गर्ने भएको छ ।

‘लक्षण देखिएका विपन्न वर्गका बिरामीको कोरोना चेकजाँचसमेत उपमहानगरपालिकाले गर्ने बैठकमा निर्णय भएको छ’, नगर प्रवक्ता सूर्यबहादुर डाँगीले भने– ‘बिरामीको आर्थिक अवस्था हेरेर उपचारसमेत उपमहानगरपालिकाले गर्ने निर्णय भएको छ ।’ यसैगरी कोभिडको लक्षण देखिएका तर होम क्वारेन्टाइनमा बसेका संक्रमितहरुलाई वडाध्यक्षको संयोजकत्वमा अनुगमन समिति बनाइएको छ ।

‘स्वास्थ्यकर्मी समेत समितिमा हुने भएकाले संक्रमितहरुको स्वास्थ्य अवस्था पनि बुझिनेछ’ प्रवक्ता डाँगीले भने– ‘कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको लाश व्यवस्थापनका लागि सम्बन्धित वडालाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ ।’ उपमहानगरपालिकाले कोरोना उपचारका लागि मेयर विपद् व्यवस्थापन कोषको परिचालन गर्ने भएको प्रवक्ता डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*