Home / Feature Breaking news / हुनै छाड्यो कन्ट्याक्ट ट्रेसिङ

हुनै छाड्यो कन्ट्याक्ट ट्रेसिङ

काठमाडौँ — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको ‘हटस्पट’ काठमाडौं उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट संकलन गरेको स्वाब मापदण्डविपरीत भन्दै परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ मा निश्चित समूहको मात्रै सिफारिसका आधारमा निःशुल्क पीसीआर गर्ने घोषणा गरेपछि स्थानीय तहले संकलन गरेको स्वाबको परीक्षण हुन छाडेको हो ।

सरकारी प्रयोगशालामा परीक्षण नभएपछि केही स्थानीय तहले सम्बन्धित व्यक्तिसँग पैसा लिएर निजीमा पठाउन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेका थिए । यो प्रयोगशालाले सरकारले वर्गीकरण गरेकाबाहेकको स्वाब लिन छाडेपछि अधिकांश स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ रोकिएको छ । ‘निश्चित समूहको त्यो पनि कागजी प्रक्रिया पूरा गरेर मात्रै पीसीआर हुने भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका ६ सय जनाभन्दा बढीको परीक्षण गर्नै सकेका छैनौं,’ ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले भने, ‘लक्षण नदेखिएकालाई घरमै बस्नू भनेको छु । लक्षण भएकालाई पनि स्वाब लिएर परीक्षण गर्न टेकु पठाउन सकेका छैनौं ।’ यसअघि नगरपालिकाले पाटन अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरेको थियो । शुल्क तिरेर पीसीआर गर्नै नसक्नेलाई नगरपालिकाले खर्चको बन्दोबस्त गर्ने योजना बनाएको उनले बताए । कन्ट्याक्ट ट्रेसिङमा परेकाको पनि पीसीआर नहुँदा संक्रमण बढ्ने चिन्ता नगरवासीमा रहेको उनले सुनाए । ‘हाम्रो नगरपालिकामा पैसा तिरेर पीसीआर गर्न नसक्ने कामदार धेरै छन् । उनीहरूका लागि खर्च व्यवस्था गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आइतबार १ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ, जुन देशभरिका संक्रमितमध्ये ५७ दशमलब ४३ प्रतिशत हो । काठमाडौं जिल्लामा मात्रै एक हजार ३ सय ६३ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ७ सयभन्दा बढीले पैसा तिरेर निजी प्रयोगशालाबाट पीसीआर गराएका छन् ।

स्वास्थ्य मन्त्रालयले विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा खटिने कर्मचारीको मात्रै निःशुल्क पीसीआर र उपचार हुने निर्णय गरेपछि त्यसको असर कन्ट्याक्ट ट्रेसिङमा परेको हो । उपत्यकामा संक्रमितको संख्या बढेपछि स्थानीय तहले स्वाब संकलन गर्ने भीटीएम खरिद गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न कर्मचारीलाई टोलटोलमा खटाउने गरेका थिए । प्रयोगशालाले नै स्वाब नल्याउन भनेपछि स्वाब संकलन हुन छाडेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन छुट्टै गाडी व्यवस्था गरेको थियो । ६ जनालाई तालिम दिएको थियो । प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा नगर प्रहरी र स्वास्थ्यकर्मीको टोलीले संक्रमितको टोलमा पुगेर स्वाब संकलन गर्ने गरेको थियो । सरकारको पछिल्लो निर्णय आएसँगै यो काम रोकिएको छ । ‘प्रयोगशालाले स्वाब नपठाउनु भनेकाले संकलन गर्नै छाड्यौं,’ सूर्यविनायकका मेयर वासुदेव थापाले भने, ‘अब नगरपालिकाकै खर्चमा गर्न सकिन्छ, सकिँदैन भनेर छलफल गरिरहेका छौं ।’

भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले सरकारको पछिल्लो निर्णयले लक्षण भएकालाई पनि निःशुल्क पीसीआर गराउन नसकिएको बताए । ‘दसैंपछि हामीले स्वाब पठाएकै छैनौं,’ उनले भने, ‘लक्षण भए पनि सबैलाई सित्तैमा परीक्षण गराउन नसक्ने भयौं । पैसा तिर्न सक्दिनँ भनेर कसैले भन्छ भने उसलाई नगरपालिकाबाट व्यवस्थापन गर्दैछौं ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले सरकारको वर्गीकरणमा परेका व्यक्तिको कागज पेस गरेपछि मात्रै स्थानीय तहले संकलन गरेको स्वाब परीक्षण हुने बताए । ‘यसअघि स्थानीय तहले जसको स्वाब पठाए पनि परीक्षण गरेर पठाउने गरेका थियौं,’ उनले भने, ‘अब पैसा तिर्न नसक्ने हो भने सक्दिनँ भनेर स्वघोषणा गरेको हुनुपर्छ र अरूको हकमा सिफारिस चाहिन्छ ।’ हरेक स्वाबमा कुन वर्गमा पर्ने भनेर आधार र प्रमाण पेस गर्नुपर्ने उनले बताए । उनका अनुसार वृद्धवृद्धा भए ७० वर्ष पूरा भएको नागरिकता वा भत्ता पाउने कार्डको प्रमाण पेस गर्नुपर्छ ।

टेकुबाट स्वाब फर्काउन थालेपछि वाग्मती प्रदेशको प्रयोगशालासँग समन्वय गरेर पीसीआर गर्न छलफल भइरहेको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले बताए । सरकारी प्रयोगशालाले नगरे निजीमा नगरपालिकाले पैसा तिरेर भए पनि नगरवासीको पीसीआर गराउने सूर्यविनायकका मेयर थापाले बताए । ‘एकदुई वटा बाटो र खानेपानी नबनाउला, तर जनताको पीसीआर नगरकै खर्चमा भए पनि गर्छौं,’ उनले भने ।

कागेश्वरी मनहरा नगरपालिकाले भने कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गरेर पैसा तिर्न सक्नेजतिको निजी प्रयोगशालामा पठाउने गरेको छ । ‘पैसा तिर्नै नसक्नेको स्वाब संकलन गरेर सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेपछि टेकुको प्रयोगशालामा पठाउँछौं,’ मेयर कृष्णहरि थापाले भने । धुलिखेलको प्रादेशिक प्रयोगशालाले नसक्ने भनेर पन्छिएपछि नगरवासीलाई पैसा तिराएर कन्ट्याक्ट ट्रेसिङ भने गराइरहेको उनले बताए । नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब मूलपानी अस्पतालमा संकलन गर्ने गरेको छ । पैसा तिर्नेहरूले पनि स्वाब दिन अरू प्रयोगशाला र अस्पताल चाहर्नु नपर्ने उनले बताए ।

सरकारले पीसीआर गर्न शुल्क तिर्नुपर्ने गरी ल्याएको प्रावधानले लक्षण भएका पनि पीसीआर नगरी घुलमिल हुन थालेको गुनासो आएको नगरप्रमुखहरू बताउँछन् । ‘पहिला पो हामीले स्वाब संकलन गरेर पठाउँथ्यौं । संक्रमित र उसका आफन्तले सित्तैमा आफ्नो स्वास्थ्य अवस्था थाहा पाउँथे,’ एक नगरप्रमुखले भने, ‘अब केन्द्र सरकारले शुल्कबिना पीसीआर गर्न नपाउने भनेपछि कन्ट्याक्ट ट्रेसिङ गर्न नसक्ने भयौं ।’

काठमाडौं महानगरले भने वर्गीकरणमा नपरेका व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा परेको भए शुल्क तिर्न नसक्ने अवस्थाको स्वघोषणा फाराम भर्न लगाएर स्वाब परीक्षण टेकु पठाइरहेको छ । ‘कागजी प्रक्रिया झन्झटिलो भए पनि स्वाब संकलन गरेर पठाइरहेका छौं,’ महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर वलीले भने ।

सरकारी प्रयोगशालामा न्यून परीक्षण

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कात्तिक १ मा १ हजार ७ सय ४६ जनाको स्वाब परीक्षण गरेको थियो । सरकारले शुल्क लिएर परीक्षण गर्ने निर्णय गरेको कात्तिक ३ मा पनि १ हजार ६ सय २६ जनाको पीसीआर गरेको थियो । फूलपातीको अघिल्लो दिन ६ गते पनि १ हजार ८ सय ६४ जनाको स्वाब परीक्षण भएको टेकुस्थित उक्त प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ५० जनाको मात्रै परीक्षण भएको छ । शनिबार पनि २ सय ५३ जनाको मात्रै परीक्षण भएको थियो ।

मुलुककै ठूलो र निजी प्रयोगशालालाई समेत अनुमति दिने सरकारी प्रयोगशालामा परीक्षण गर्न कडाइ गरेपछि निजीमा भने बढेको छ । निजी प्रयोगशालाले टेकुको भन्दा तेब्बर १ हजार ५ सय १९ जनाको स्वाब परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । पछिल्लो २४ घण्टामा स्टार अस्पतालले ८ सय ५३, सुरिया हेल्थले ९ सय ७४, केएमसीले ७ सय २६, डीकोडले ७ सय २१ जनाको पीसीआर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*