Home / Feature Breaking news / योजना कार्यान्वयनको तयारीमा स्थानीय तह

योजना कार्यान्वयनको तयारीमा स्थानीय तह

दाङ, १७ कार्तिक । जिल्लाका स्थानीय तहहरु स्थानीयस्तरका योजनाहरु कार्यान्वयनका लागि जुट्न थालेका छन् । चालु आर्थिक वर्ष २०७७÷०७८ मा आफ्नो स्थानीय तहले बनाएका विकासे योजनाहरु कार्यान्वयनमा जुटेको स्थानीय तहहरुले जनाएका छन् । समयमा नै योजना सम्पन्न गर्ने उद्देश्यअनुसार आफूहरु लागि परेको उनीहरुको भनाइ रहेको छ ।

स्थानीय तहहरुले तिहारसम्म उपभोक्ता समिति गठन तथा योजना सम्झौता गरिसक्ने र तिहारलगत्तै योजना कार्यान्वयनमा जाने गरी काम गरिरहेको बताएका छन् । अघिल्लो वर्षको अन्त्यमा कोरोना संक्रमण हुन नदिनका लागि सरकारले गरेको लकडाउनको कारण विकास निर्माणमा पनि प्रभाव गरेको कारण यस वर्ष समयमा नै शुरु गरेर सम्पन्न गर्ने तयारीमा स्थानीय तहहरु रहेका छन् ।

तर आर्थिक वर्षको अन्त्यमा आएर योजनाहरु सम्झौता गर्ने विगतदेखिको समस्या रहँदै आएको छ । जनप्रतिनिधिहरु आएपछि यस प्रकारको समस्या केही कम हुने अपेक्षा गरे पनि त्यसो हुन नसकेको यसका जानकारहरुको भनाइ रहेको छ । आर्थिक वर्षको अन्त्यमा आएर विकास निर्माणका कार्य शुरु गर्दा छिटो सक्नुपर्ने भएकाले हतारमा काम गर्दा कामसमेत गुणस्तरीय नहुने र टिकाउसमेत नहुने विज्ञहरुको भनाइ छ ।

असारे विकास हटाउन सरकारले प्रयास थाले पनि प्रयास सार्थकता पाउन भने सकेको छैन । अझै पनि विकास निर्माणको धेरै काम आर्थिक वर्षको अन्त्यमा भएको पाइन्छ । घोराही उपमहानगरपालिको योजना कार्यान्वयन गराउनका लागि उपभोक्ता समिति गठन गराउने र योजना सम्झौता गर्ने काम गरिरहेको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिए ।

उपभोक्ता समिति गठन गरेर योजना सम्झौताका लागि उपमहानगरपालिकाले आह्वानसमेत गरेको चौधरी बताउँछन् । योजनाको प्रकृति हरेर सम्झौता भएका कामहरु शुरुसमेत भइरहेको उनको भनाइ छ । ‘हामी समयमा नै काम सम्पन्न गर्ने तयारीका साथ अगाडि बढेका छौं’, सूचना अधिकारी चौधरीले भने ।

लमही नगरपालिकाले पनि योजनाको कामलाई अगाडि बढाएको जनाएको छ । हालसम्म २,३ वटा योजना मात्र सम्झौता भइसकेको लमही नगरपालिका योजना शाखा प्रमुख तेजा गैरेले जानकारी दिइन् । केही फाइलहरु योजना सम्झौताका लागि प्रक्रियामा रहेको उनको भनाइ रहेको छ । समयमा नै काम सम्पन्न गर्नका लागि आफूहरु लागि परेको गैरेले बताइन् । वडाहरुमा उपभोक्ता समिति गठन गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

बबई गाउँपालिकाले पनि योजना समयमा नै सम्पन्न गर्ने गरी काम गरिरहेको जनाएको छ । गाउँपालिकाले यही कार्तिक ३० गतेसम्म योजना सम्झौता गरिसक्ने गाउँपालिकाका सूचना अधिकारी भुवन चन्दले जानकारी दिए । गाउँपालिकाले तोकेको समयभित्रमा योजना सम्झौता गरिसक्न आग्रह गर्दै वडाहरुलाई पत्र समेत पठाइसकिएको उनको भनाइ रहेको छ ।

अहिले योजना सम्झौता गर्ने काम भइरहेको चन्दले बताए । ‘गाउँपालिकाले कार्तिक समान्तसम्म योजना सम्झौता सकेर तिहारपछि कार्यान्वयनमा जाने गरी काम गरेका छौं’, सूचना अधिकारी चन्दले भने ।

उता राजपुर गाउँपालिकाले पनि कार्तिक मसान्तसम्म योजनाहरुको सम्झौता गरिसक्न आग्रह गरेको जनाएको छ । अहिले गाउँपालिकाका वडा–वडामा पुगेर उपभोक्ता समिति गठन गरिरहेको गाउँपालिकाका सूचना अधिकारी महेश थापा ठेडीले जानकारी दिए ।

‘वडा तथा गाउँपालिकाका प्रतिनिधिहरुसमेत सहभागी भएर उपभोक्ता समिति गठन गर्ने काम भइरहेको छ’, सूचना अधिकारी थापाले भने । कार्तिक समान्तसम्म उपभोक्ता समिति गठन तथा योजना सम्झौता सकेर मंसिरदेखि योजनाको कार्यान्वयनमा लाग्ने गरी गाउँपालिका अगाडि बढेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*