Home / Feature Breaking news / खसी, बोका निर्यातपछि धान खरिद गर्दै खाद्य

खसी, बोका निर्यातपछि धान खरिद गर्दै खाद्य

दाङ, १६ कार्तिक । जिल्लाबाट दशैँका लागि एक करोड बढी मूल्यको खसी, बोका निर्यात गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट दशैँका लागि एक करोड २५ लाख ३७ हजार ८ सय १४ रुपैयाँ ५० पैसाको खसी, बोका बाहिर पठाएको कम्पनीका निमित्त प्रमुख नहकुल चौधरीले बताए ।

गएको वर्ष यसभन्दा कम मूल्यको खसी बोका निर्यात गरिएको थियो । यस वर्ष जिल्लाबाट ८ सय एक वटा काठमाडौं पठाइने भएको थियो । जसमा ढुवानी गर्दा एउटाको मृत्यु भएको थियो भने ८ सय काठमाडौँ पु¥याइएको चौधरीले बताए ।

कम्पनीले दशैँ अघि २ पटक गरेर ८ सय खसी, बोका पठाएको जनाएको छ । अघिल्लो वर्ष जिल्लाबाट ६ सय खसी, बोका काठमाडौं पठाइएको निमित्त प्रमुख चौधरीले बताए । जिल्लाको पश्चिमक्षेत्र तथा देउखुरी क्षेत्रबाट खसी खरिद गरिएको कम्पनीले जनाएको छ । देउखुरीमा सहकारी संस्थाहरुले पालन गरेको खसी, बोका खरिद गरिएको चौधरीले बताए । पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा बाख्रा पालन व्यवसाय बढ्दै गएको उनको भनाइ छ ।

व्यवसाय रुपमा पालन बढेसँगै खरिद गर्ने समेत सहजता भएको कम्पनीका निमित्त प्रमुख चौधरीले बताए । खसी, बोका खरिद तथा विक्रीका लागि कम्पनीले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले मूल्य निर्धारण गरेको थियो । किसानहरू मारमा नपर्ने गरीे खसी, बोकाको मूल्य निर्धारण गरिएको चौधरीले बताउँछन् । उनका अनुसार यस वर्ष २५ केजीभन्दा माथिको खसीको खरिद मूल्य प्रतिकेजी ५ सय ५० निर्धारण छ ।

यसैगरी २० देखि २५ केजीसम्मको खसीको खरिद मूल्य ५ सय ३५ निर्धारण गरेर खरिद गरिएको थियो । २० केजीभन्दा माथिका बोका खरिद मूल्य प्रतिकेजी ५ सय ३० रूपैयाँमा खरिद गरिएको थियो । ‘कम्पनीले २० केजीभन्दा कम तौल भएको खसी, बोका खरिद गरेन’–चौधरीले भने–‘ढुवानीमा समस्या हुने भएकाले २० केजी भन्दा कम तौलको खरिद गरिएन ।’

खरिद गरिएका खसी, बोका ढुवानी गर्ने धेरैले नमान्ने उनको भनाइ छ । दशैं–तिहारमा खसी, बोकाको कारोबार धैरै हुने र मनपरी मूल्यमा विक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसी, बोका खरिद गरेर विक्री गर्ने गरेको छ । ‘चाडपर्वमा बढी मात्रामा मासु खपत हुने भएकाले मूल्य बढाउन नदिनका लागि बजार मूल्यलाई नियन्त्रण गर्ने सरकारले नै खरिद गरेर विक्री गर्ने गरेको हो’ चौधरीले भने ।

घर–घरमा गएर कम्पनीले खसी, बोका खरिद गरिदिएर सहज गराएको कृषकहरु बताउँछन् । यसले किसानहरूलाई थप राहत प्रदान गर्ने चौधरी बताउँछन् । स्थानीय उत्पादन र उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखी प्रत्यक्ष रूपमा खसी, बोका खरिद गरी विक्रीका लागि जिल्ला बाहिर पठाइएको चौधरीले बताए ।

तुलसीपुर, घोराही, लमही क्षेत्रमा रहेर कृषि फर्महरू सञ्चालन गरेका सहकारी तथा सामूहिक संस्थामार्फत् खसी, बोका खरिद गरिएको उनको भनाइ छ । पशु चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराएर मात्रै खसी, बोका खरिद गरिएको र स्वास्थ्य परीक्षण नै गराएर काठमाडौं पठाइएको चौधरीले बताए ।

तिहारपछि धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले तिहारपछि धान खरिद गर्ने भएको छ । धान खरिदका लागि केन्द्रले भनिसकेको र आफूहरु पनि तयारीमा रहेको कम्पनीका निमित्त प्रमुख नहकुल चौधरीले बताए । सरकारले धानको समर्थन मूल्य तोके पनि जिल्लामा हालसम्म धानको मूल्य तोकि नसकेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले धानको मूल्य तोक्ने उनको भनाइ छ । अहिले धान बढी उत्पादन हुने क्षेत्रमा गएर सम्पर्क गर्ने, मीलहरुसँग समन्वय गर्ने काम भइरहेको उनले बताए । धान किनेर ल्याएर राख्नका लागि स्थान समेत समस्या रहेको चौधरीले बताए । ‘हामीसँग आवश्यक पर्ने मात्रामा गोदाम छैन’ निमित्त प्रमुख चौधरीले भने–‘खरिद गरेर मीलमा कुटाएर चामल गोदाममा राखिने छ ।’ उनले त्यसका लागि जिल्लामा रहेका ठूला मीलहरुको खोजी गरेर कुटाउनका लागि समन्वय भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*