Home / Feature Breaking news / दाङका सात ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना

दाङका सात ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना

दाङ, २९ असोज । चाडपर्वहरुलाई मध्यनजर गर्दै प्रहरीले दाङका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । विगतका वर्षहरुजस्तै चाडपर्वको समयमा यात्रा गर्ने यात्रुहरु नठगिऊन् भनेर प्रहरीले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

नेपालीको महान चाड बडादशैँ, दीपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवागमन बढ्ने र सवारी साधनहरुमा हुने अस्वाभाविक प्रतिस्प्रर्धालाई रोक्न प्रहरीले सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षका माध्यमबाट प्रहरीले महिला, ज्येष्ठ नागरिक र अपङ्गता भएका व्यक्तिलाई छुट्याइएको आरक्षण सिटलाई अनिवार्य रुपमा प्रयोगमा ल्याउने जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकृत एवं प्रहरी नायव निरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

यसैगरी यात्रुबाट यातायात व्यवसायीले तोकेभन्दा बढी भाडा लिने, सवारी चालकले मादकपदार्थ सेवन गरी सवारी चलाउने, चालक र सहचालकबाट यात्रुहरुलाई अभद्र व्यवहार हुने, सवारी साधनको अस्वाभाविक प्रतिस्पर्धा हुन गई सवारी दुर्घटना बढ्नुका साथै कोरोना भाइरसको संक्रमणप्रति विशेष सावधानी अपनाई चाडपर्वको समयमा यात्रुहरुलाई सहयोग पु¥याउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव निरीक्षक खड्काले जानकारी दिएका छन् ।

उनकाअनुसार घोराही उपमहानगरपालिका–१४ नयाँबसपार्क, राप्ती गाउँपालिका–१ पुल्चोक भालुवाङ, राप्ती गाउँपालिका–१ कै प्यूठानचोक भालुवाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क, लमही नगरपालिका–९ पूर्व–पश्चिम राजमार्ग अमिलिया, लमही नगरपालिका–५ लमही र पश्चिम दाङको बबई गाउँपालिका–५ हापुरेमा रहेको बसपार्कमा स्थापना गरेको छ । साथै प्रहरीले चालकबाट अभद्र व्यवस्था भएमा वा बढी पैसा लिएमा सहायता कक्षमा सम्पर्क गर्न सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*