Home / Feature Breaking news / कोरोनाले जुरायो स्वदेशमै अवसर

कोरोनाले जुरायो स्वदेशमै अवसर

तिर्थराज ज्ञवाली
सिसहनियाँ,२३ भदौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण लाखौको क्षती व्यहोरिरहेका बेला दाङमा भने विदेशबाट फर्किएकाहरुले रोजगारीका अवसरहरु सिर्जना गर्न थालेका छन् । अर्काको देशका मेहनत र पसिना बगाउनुभन्दा आफ्नै देशमा श्रम गर्ने उद्देश्यले उनीहरुले अवसर समेत खोज्न थालेका छन् ।

जसका उदाहरणका रुपमा रहेका छन् देउखुरीको राप्ती गाउँपालिका–३ मसुरिया निवासी तुला गिरी । ११ बर्षदेखि वैदेशिक रोजगारका कारण रहेका गिरी कोरोना भाइरसको त्रासका कारण अव विदेश जाने योजनामा छैनन् ।

बरु उनी अव स्वदेशमै रहेर काम गर्ने उद्देश्यले घरपरिवारको सहयोग र समुहबाट रकमको जोहो गरि बागढड्डीमा हार्डवेयर्स पसल सुरु गरेका छन् । विदेशमा बस्दा समाजको सेवा गर्न नपाएका गिरी स्वदेशमै व्यवसाय गरेर समाजसेवा समेत गर्ने योजनामा रहेको बताएका छन् ।

त्यस्तै भारतको दिल्लीबाट कोरोना भाइरसका कारण कम्पनी बन्द भएपछि केही समय पहिले फर्किएका खेमराज खड्का पनि अहिले गाउँमै कुखुरापालन व्यवसायमा लागेका छन् ।

कोरोनाका त्रासको क्रममा बाहिर जानुभन्दा घरमै केही गरौ भन्ने उद्देश्यले कुखुरापालन व्यवसाय सुरु गरेको उनले बताए । त्यस्तै कतारबाट फर्किएका अनील चौधरी पनि घरनिर्माणको काममा लागेका छन् । उनले घर निर्माण सम्वन्धि परामर्श तथा निर्माण एजेन्सी खोलेर घर निर्माण कार्य थालेका हुन ।

यी त उदाहरण मात्रै हुन । कोरोना कहरका कारण विदेशबाट नेपाल भित्रिएका धेरै राप्ती गाउँपालिका नागरिकहरु अहिले गाउँघरमै रोजगारीका अवसरहरु सिर्जना गर्न जुटेका छन् । कोरोना कहरसंगै घरमै रहेर रोजगार खोज्ने क्रम बढेको छ । आफ्नै जग्गा तथा भाडामा लिएर तरकारी खेती, पशुपंक्षी,मंत्स्यपालन, माहुरीपालन,फलफुल खेतीमा लाग्ने बढेका छन् ।

कोरोना संक्रमणको कारणले धेरै जना विदेशबाट घर फर्किएर स्वदेशमै व्यवसायमा लागेका छन् । विदेशवाट घर फर्किएकाहरुले तरकारी खेती, पशुपंक्षीपालन, मंत्स्यपालन,माहुरीपालन तथा ब्यापार तथा उद्योग सुरु गरेका हुन ।

कोभिड लक्षित कार्यक्रम राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका १ सय ३० जनालाई विभिन्न ब्यवसाय सञ्चालन, ब्यवस्थापन तथा प्रोत्साहन वापत अनुदान सहयोग गरेको छ ।

नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारीसमा कोभिडबाट प्रभावित बैदेशीक रोजगारी गुमाएका वा यस क्षेत्रमा रहेर कृषि ब्यवसाय, बाख्रापालन, कुखुरापालन तथा फलफुल खेती गरेका व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएको प्राविधिक सहायक बरसाती गडरीयाले जानकारी दिएका छन् ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पहलमा घर आएका प्रदेसीलाई रोजगारीको अनुभुति गराउने उदेश्यका साथ १ सय तिस जनालाई अनुदान उपलब्भ गरिएकोे हो । प्रति कृषक २० हजारका दरले अनुदान प्राप्त गरेपछि थप उत्साहका साथ धेरैले ब्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने गाउँपालिका प्राविधिक सहायक सिमा भट्टले जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*