Home / समाचार / क्यान्सर पीडितको उपचारका लागि सहयोग जुट्दै

क्यान्सर पीडितको उपचारका लागि सहयोग जुट्दै

दाङ, २२ भदौ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ की क्यान्सर पीडित सरिता केसी (श्रेष्ठ) लाई सहयोग रकम जुट्न थालेको छ । पाठेघरमा क्यान्सर भएपछि चितवनमा उपचार गराइरहनुभएकी केसीको पैसाको अभावमा उपचार हुन सकेको थिएन ।

विभिन्न संचारमाध्यमले क्यान्सर पीडित केसीको पैसाको अभावमा उपचार हुन सकेन भन्ने समाचार प्रकाशन गरेपछि अहिले सहयोग रकम जुट्न थालेको हो । अहिलेसम्म करिब ५ लाख सहयोग रकम जुटिसकेको क्यान्सर पीडित सरिता केसी बचाउ अभियानका संयोजक आशिश श्रेष्ठले बताउनुभयो । अब करिब रु १० लाख रुपैयाँ जुट्न सके केसीको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

आज मात्र रोटरी क्लव अफ दाङले क्यान्सर पीडित केसीको लागि ३६ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लब अफ दाङका अध्यक्ष चेतनारायण पाण्डे, पुर्व अध्यक्ष संकल्प श्रेष्ठ,सचिव गजेन्द्र वर्माको साह्भागितामा पीडित केसीकी छोरी सुस्मिति केसीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

उक्त चेक हस्तान्तरण गर्दै अध्यक्ष पाण्डेले क्यान्सर पीडित केसीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले थप आर्थिक सहयोग जुटाउन आफ्नो तर्फबाट अन्य संघसंस्था सँग पनि समन्वय गर्ने बताए । साथै उनले दुखि पीडितलाई सहयोग गर्दा पुण्य हुने भन्दै सक्ने सहयोग गर्न समेत अपिल गरेका छन् ।

दुई छोरीसहित ४ जना रहेको उक्त परिवारमा कमाउने कोही नभएको सरिताका श्रीमान खोपिराम केसीले बताए । सरिताको उपचारका क्रममा अहिलेसम्म ५ लाख भन्दा बढी सकिएको समेत उनले जानकारी दिएका छन । सहयोगका लागि पीडित केसीकी छोरी रस्ना केसीको नाममा रहेको ग्लोवल आईएमई बैंकको खाता नम्बर ४१०७०१००१२१५४ मा सहयोग सकिने छ । थप जानकारीका लागि ९६७३४०७३ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने उक्त परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*