नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ।
कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो।
सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रदेशलगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरिएको छ।
कात्तिकदेखि सुरू गर्ने तय भएको वडा अधिवेशन दुई महिना पछाडि धकलेर पुसमा पुर्याइएको छ। पुस ६ गतेदेखि वडा अधिवेशन सुरू हुनेछन्।
कांग्रेसले कोरोना महामारीकै बीच अब बाँकी रहेका करिब ३० जिल्लामा समायोजनका काम, क्रियाशील सदस्यता वितरण तथा नविकरणका काम सुरू गर्न लागेको हो।
सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो। विधानकै व्यवस्थाअनुसार सभापति देउवाले एक वर्ष कार्यकाल थपेका थिए।
यस्तो छ कार्यतालिका:
१. गाउँ/नगर वडा अधिवेशन– २०७७ पुस ६ गते
२. गाउँ/नगरपालिका अधिवेशन– २०७७ पुस ८ गते
३. प्रदेश सभा क्षेत्रीय अधिवेशन– २०७७ पुस ११ गते
४. प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला) अधिवेशन– २०७७ पुस १३ गते
५. एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते
६. प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
७. केन्द्रीय महाधिवेशन- २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं।
RaptiSandesh RaptiSandesh