Home / Feature Breaking news / कोरोना नियन्त्रणमा सरकारले सिन्को भाँचेन, अझै दश अर्ब खर्च देखाउँछ: कांग्रेस

कोरोना नियन्त्रणमा सरकारले सिन्को भाँचेन, अझै दश अर्ब खर्च देखाउँछ: कांग्रेस

काठमाडौँ, १ असार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा केन्द्र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकले कोरोनाबारे अनुगमन गर्न गठन गरेको समितिका संयोजक सहमहामन्त्री प्रकाशशरण महतले केन्द्र सरकारले कोरोना नियन्त्रणमा काम नगरेको पाइएको बताएका हुन्।

‘मैले पूर्वदेखि पश्चिमसम्म सोधें- केन्द्र सरकारले सिन्को भाँचेको देखिएन,’ सहमहामन्त्री महतले सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने, ‘बरू प्रदेशले पाँच/सात लाख पैसा दिएको रहेछ। केन्द्रले सिन्को भाँचेन, अझै दश अर्बको खर्च देखाउँछ। सरकारले चेतेको छैन।’

उनले कोरोना प्रभाव र नियन्त्रण तथा रोकथाममा भएका सबै कुराबारे आफूले अनुगमन गर्ने र पार्टीलाई प्रतिवेदन दिने पनि बताए।

‘देशैभर सघन अनुगमन गरेर पार्टीलाई रिपोर्टिङ पछि धारणा बनाएर सार्वजनिक गर्छौं,’ महतले भने, ‘सरकार सच्चिएर अगाडि बढेन भने सदन र सडकमा आवाज उठाउँछौं।’

नेविसंघले सोमबार काठमाडौंमा प्रदर्शन गरेर दश अर्ब केमा सरकारले खर्च गरेको हो पारदर्शी ढंगले सार्वजनिक हुनुपर्ने माग राखेको थियो।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको र खर्च पनि पारदर्शी नभएकोले भातृ संस्थालाई परिचालन गर्दै खबरदारी सुरू गरिएको महतले बताए।

पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा सरकारले वृद्धि गर्न नसकेको र अविश्वसनीय आरडिटी अझै प्रयोग गरिरहेको महतको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*