Home / Feature Breaking news / मैतीले पाइन ग्याँस चूल्हो

मैतीले पाइन ग्याँस चूल्हो

घोराही, २५ बैशाख । कमजोर आर्थिक अवस्थामा गुज्री रहेकी घोराही उपमहानगरपालिका–१६ खिरिटियाकी मैती घर्तीलाई ग्याँस चूल्होको खुब रहर थियो । गाउँमा दाउराको अभावका कारण उनलाई खाना पकाउन निकै सास्ती झेल्नु परेको थियो । गाउँ छिमेकमा ग्याँस चूल्हो बलेको देखेर उनको मन भने सधैं भक्कानिन्थ्यो । तर के गर्ने ? साथ पैसा थिएन । आफू अपांग । श्रीमान पनि अपांग । साँझ बिहानकै छाक टार्न गाह्रो थियो ।  यस्तोमा ग्याँस चूल्हो मैतीको लागि आकासको फलजस्तै भएको थियो ।

जीवनमा कहिले काही आकासको फल पनि प्राप्त हुँदोरहेछ । आज मैतीको लागि त्यस्तै भएको छ । ग्याँस चूल्होमा खाना पकाउने उनको सपना साकार भएको छ । यतिबेला मैती दंग छिन्, गद्गद् छिन् । उनको यो सपना लामिछाने–खत्री गंगगोत्र समाज दाङका अध्यक्ष युवा व्यवसायी  एवं समाजसेवी पदम केसीले पूरा गरिदिएका हुन् ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितको समन्वयमा समाजसेवी केसीले विहीबार मैतीकै घरमा पुगी ग्याँस चूल्हो र सिलिण्डर प्रदान गरेका छन् ।  केही दिनअघि पत्रककार पीडितले मैतीलाई ग्याँस चूल्हो आवश्यक परेको कुरा फेसबुकमा लेखेका थिए । समाजसेवी केसीले सोही पोष्ट पढेर मैतीलाई सहयोग गर्ने आशय राखेर पीडितलाई सम्पर्क गरेका थिए ।

‘मैले केएल पीडितले फेसबुकमा राख्नु भएको सामग्री हेरेको थिए । घरको अवस्था कमजोर र श्रीमान श्रीमती दवै अपांग रहेको परिवारलाई सहयोग गर्नु भित्रै  ठूलो धर्म हुने संझेर मैले मैती घर्तीलाई सहयोग गरेको हुँ । मरिलानु के छ र ? मानवसेवा नै जीवन हो ।’ समजसेवी केसीले बताए ।

जिल्लाका बिभिन्न सामाजिक अभियानहरुमा संलग्न केसी दाङ स्थापित समाजसेवी एवं युवा व्यवसायी हुन् । उनले जिल्लामा संचालन हुने प्रायः सबै अभियानहरुलाई सहयोग गरेका छन् । केही दिन पहिले मात्र उनले घोराही उपमहानगर पालिकालाई राहत वितरण अभियानका लागि १ लाख सहयोग गरेका थिए । समाजसेवी केसी मैतीको परिवारलाई अन्य विपतमा सघाउने बताएका छन् ।

मजदूरी गरी घर चलाइरहेकी मैतीका १ श्रीमान र २ छोरा छन् । ग्यास चूल्हो पाए दंग भएकी मैतीले आफ्नो घर बनाउने इच्छा देखाएकी छिन् । उनको आफ्नो घर छैन । अहिले उनी देवरको घरमा बस्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*