साफ महिला च्याम्पियनसिप बिहीबारबाट दशरथ रंगशालामा सुरु हुँदै छ । सहभागी सातै देशका प्रशिक्षक र कप्तानले विगत बिर्सेर उपाधि जित्न खेल्ने बताएका छन् । सहभागी टोलीले तयारी राम्रो भएको बताउँदै उपाधि जित्न आइपुगेको बताएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)द्वारा आयोजित प्रतियोगिता १४ कात्तिकमा सम्पन्न हुनेछ ।
उद्घाटन खेलमा पाकिस्तान र सर्वाधिक पाँचपटकको विजेता भारत भिड्नेछन् । नेपालले २ कात्तिकमा भुटानसँग पहिलो खेल खेल्नेछ । दुई वर्षअघि दशरथ रंगशालामा प्रतियोगिता हुँदा नेपाल उपविजेता भएको थियो । सेमिफाइनलमा भारतलाई १–० ले हराए पनि नेपाल फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भयो । सातौँ संस्करणको समूह ‘ए’मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । समूह ‘बी’मा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् ।
सर्वाधिक पाँचपटक उपाधि जितेको भारतका प्रशिक्षक सन्तोष कश्यपले उपाधि जित्न खेल्ने बताए । ‘प्रतियोगितामा भारतसँगै नेपाल, बंगलादेश र पाकिस्तान बलिया छन् । हामी विगतलाई बिर्सेर उपाधि जित्न खेल्नेछौँ,’ उनले भने । दुई वर्षअघि नेपालमै भएको प्रतियोगितामा भारत सेमिफाइनलबाटै बाहिरिएको थियो । उनले पहिलोपटक भारतीय महिला टिम हेर्दै छन् । रश्मिकुमारी घिसिङको निर्णायक गोलमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकालेको थियो । रश्मिको गोलपछि भारत पहिलोपटक फाइनल पुग्न चुकेको थियो । पहिलोपटक फाइनलमा नयाँ प्रतिद्वन्द्वी पाएको नेपाल बंगलादेशसँग ३–१ ले पराजित हुँदा उपाधिबाट छैटौँपटक टाढा रह्यो ।
नेपाली कप्तान अन्जिला तुम्बाप्पो सुब्बा तयारी पूरा भएको र विगतको नतिजा बिर्सेर घरमै उपाधि जित्न खेल्ने बताउँछिन् । ‘पछिल्लोपटक फाइनलमा पराजित भयौँ । यसपटक त्यसलाई बिर्सेर खेल्नुपर्छ । टोलीमा अधिकांश खेलाडी अनुवभी छौँ । अनुभव प्रयोग गरी मिहिनेत गर्नेछौँ ।’
नेपालले पाँचपटक फाइनल खेलेको छ, तर उपाधि जित्न सकेको छैन । नेपाल चारपटक भारतसँग फाइनलमा पराजित भएको थियो । बंगलादेशका प्रशिक्षक पिटर जेम्स बटलरले अघिल्लो उपाधि इतिहास भइसकेको बताउँदै नयाँ सुरुवात गर्ने बताए । उनले टोलीमा युवा खेलाडीको बाहुल्यता भएको बताए । ‘टोली राम्रो छ । युवा र अनुभवी खेलाडीको मिश्रण छ,’ उनले भने, ‘अघिल्लो संस्करण उपाधि जितेका केही खेलाडी छैनन् । यद्यपि, भएका खेलाडी उपाधि जित्न तत्पर छन् । टोली यसपालि पनि उपाधि जित्न तयार छ ।’
पर्याप्त तयारी हुन सकेन
राजेन्द्र तामाङ, प्रशिक्षक, नेपाल
अभ्यासका लागि दुई हप्ता मात्र समय पायौँ । राष्ट्रिय महिला लिग भइरहेका कारण अभ्यास कम भयो । समय धेरै भएको भए अझै काम गर्न सकिन्थ्यो जस्तो लागेको छ । स्ट्राइकर सावित्रा भण्डारी र रेखा पौडेल नहुँदा पूरा खेलाडीले अभ्यास गर्न पाएनौँ । तर, जति समय पायौँ, उपाधिमा केन्द्रित रह्यौँ । भुटानविरुद्ध भिन्न रणनीतिअनुसार खेल हुनेछ । पर्याप्त समय नभएका कारण युवा खेलाडी समेट्न पाएनौँ ।
टिम राम्ररी बुझ्न पाएको छैन
सन्तोष कश्यप, प्रशिक्षक, भारत
साँच्चिकै भन्दा टोलीलाई राम्ररी हेर्न पाएको छैन । अन्य टोलीबारे पनि बुझ्न पाएका छैनौँ । भर्खरै महिला टोलीको जिम्मेवारी पाएको हो, तर हाम्रा खेलाडी बलिया छन् । शारीरिक र प्राविधिक रूपमा पनि सफल छन् । टोली बलियो बनाउनका लागि सक्दो गरेको छु । भारतसँगै नेपाल, बंगलादेश र पाकिस्तानलाई बलियो मान्छु । इतिहास भनेको इतिहास हो । फुटबलमा हार–जित त भइहाल्छ । बंगलादेश र नेपाल राम्रो टोली हो, तर हामी पनि कम छैनौँ ।
अघिल्लो उपाधि इतिहास भइसक्यो
पिटर जेम्स बटलर, प्रशिक्षक, बंगलादेश
टोली राम्रो छ । युवा र अनुभवी खेलाडीको मिश्रण छ । वर्षको सुरुवाती दुई खेल हारेका थियौँ । पछि जितको लयलाई फर्कायौँ । अघिल्लो संस्करण उपाधि जितेका केही खेलाडी छैनन् । यद्यपि, भएका खेलाडी उपाधि जित्न तत्पर छन् । टोली यसपालि पनि उपाधि जित्न प्रेरित छ । अघिल्लो उपाधि इतिहास भइसक्यो । अहिले कुनै पनि महŒव राख्दैन । अहिले हामी सबै बराबर छौँ । सबै टोलीप्रति हाम्रो उत्तिकै सम्मान छ ।
विगतभन्दा उत्साहित छौँ
मोहम्मद निजाम, प्रशिक्षक, माल्दिभ्स
यसपालि विगतभन्दा उत्साहित छौँ । उपाधि जित्ने लक्ष्य छ । पहिलो खेलका लागि ध्यान केन्द्रित गरेका छौँ । पछि हेर्दै जान्छौँ । कतासम्म पुग्न सकिन्छ । खेलाडीहरू नेपालको वातावरणसँग परिचित छन् । तीन–चार प्रतियोगिता खेलिसकेका छन् । टोली त्यसैले पनि राम्रो बनेको छ ।
लामो समय तयारी गर्न पाएनौँ
अदिल रिजकी, प्रशिक्षक, पाकिस्तान
लामो समय तयारी गर्न पाएनौँ । रणनीतिक कुरालाई पनि राम्ररी ध्यानमा राख्न सकेनौँ । प्रतिबन्धपछि हामी पाकिस्तान फुटबलको अस्तित्वका लागि खेल्दै आएका छौँ । प्रतियोगितामा राम्रो छाप छोड्न सक्दो प्रयास गर्नेछौँ । हामी कठिन समूहमा छौँ । तर, फुटबल भनेको यही हो । शीर्ष स्तरको फुटबल खेल्न नै पर्छ । यसपालि टोलीको मनोबल उच्च छ ।
४० दिनको प्रशिक्षण
एमएच रुमी, प्रशिक्षक, श्रीलंका
४० दिनको प्रशिक्षण समय पाएका छौँ । प्रशिक्षणका दौरान खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार ल्याएका छन् । श्रीलंकाली टोली साफ च्याम्पियनसिपका लागि तयार छ । खेलाडीको मनोबल पनि उच्च नै छ । यसपटक राम्रो नतिजा दिने योजना बनाएका छौँ । त्यसमै केन्द्रित छौँ ।
दोस्रो चरणमा पुग्ने लक्ष्य
निकोला डे मेनी, प्रशिक्षक, भुटान
भुटानले यस च्याम्पियनसिपका लागि लामो र प्रभावकारी तयारी गरेको छ । त्यसैले पनि उत्साहित छौँ । आफ्नो समूहमा राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य छ । पछिल्लोपटक पनि हामीले उत्कृष्ट प्रदर्शन गरेका थियौँ । यसपटक त्यसैलाई निरन्तरता दिने योजना छ ।

RaptiSandesh RaptiSandesh