Home / Feature Breaking news / नेपालगञ्जामा एकैदिन देखिएका १५ संक्रमित बाँकेका पहिलो संक्रमितको सम्पर्कमा रहेको पुष्टि

नेपालगञ्जामा एकैदिन देखिएका १५ संक्रमित बाँकेका पहिलो संक्रमितको सम्पर्कमा रहेको पुष्टि

काठमाडौं- नेपालगञ्जमा हिजो फेला परेका नयाँ कोरोना सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सङ्क्रमित भएको पाइएको छ ।

नयाँ सङ्क्रमित सबै पहिलो पटक सङ्क्रमण देखिएका नेपालगञ्ज–८ डिएसपी रोडका ६० वर्षीयको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

पहिलो सङ्क्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । आइतबार फेला परेका १५ जना सङ्क्रमित सातदेखि ५८ वर्ष उमेरका छन् ।

फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो सङ्क्रमितको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएकामा ३० को नमूना परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई उपचारका लागि खजुरास्थित आइसोलेशन अस्पतालमा पठाइएको छ ।

९० मध्ये अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बताउनुभयो ।

नेपालगञ्जस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरुको स्वाब परीक्षणका क्रममा पहिलो पटक नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना सङ्क्रमण फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*