Home / Feature Breaking news / बढ्न थाल्यो चिसो, मौसमविद् भन्छन्–अब निरन्तर तापक्रम घट्दै जान्छ

बढ्न थाल्यो चिसो, मौसमविद् भन्छन्–अब निरन्तर तापक्रम घट्दै जान्छ

काठमाडौं,१ कार्तिक । केहीदिन यता संघीय राजधानी काठमाडौंसमेत देशका विभिन्न भागमा चिसो बढ्न थालेको छ । यसअघि अलि पहिला नै चिसो बढ्ने गरेकोमा अहिले भने केही ढिलो मात्रै चिसो महसुस हुन थालेको हो । असोजदेखि नै पहिला चिसो हुने गरेकोमा अहिले कात्तिक सुरु हुने बेलादेखि मात्रै केही चिसो बढेको छ ।

मौसमविद् मिनकुमार अर्यालले तापक्रम घट्दै गएकोले चिसो पनि बढ्दै जाने बताए । शुक्रबार कुराकानीमा उनले भने,‘‘पश्चिमी वायुको प्रभावले अझै पनि पश्चिमका कतिपय भूभागमा छिटपुट वर्षा हुन सक्ने अवस्था रहेको छ । तर, लामो समयसम्म रहँदैन ।’’
उनका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम १६।३ डिग्री सेल्सियस रहेको थियो । यद्यपि हिजोको तुलनामा भने यो तापक्रम केही बढी हो । हिजो बिहान काठमाडौंको तापक्रम न्यूनतम १४।५ डिग्री रहेकोमा अधिकतम २८ डिग्री सेल्सीयस पुगेको थियो ।

मौसम पूर्वानुमान महाशाखाको हिजोको रेकर्डअनुसार हिजो दीपायलमा १७.२, डडेल्धुरामा १२.७, धनगढीमा १८.६, वीरेन्द्रनगरमा १५.३, नेपालगञ्जमा १९.३, जुम्लामा ७.५, दाङ्गमा १७.५, पोखरामा १७..१, भैरहवामा २१.८, सिमरामा २१, ओखलढुंगामा १४, ताप्लेजुङ्गमा १२.८, धनकुटामा १५.६, विराटनगरमा २.।३, जोमसोममा ६.१, धरानमा २२, लुम्लेमा १२.५, जनकपुरमा २२.५ र जिरीमा ९.२ डिग्री सेल्सियस न्यूनतम तापक्रम पुगेको थियो ।

मनसुन केहीदिन अघि बाहिरिएको भए पनि अझै केही दिन देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पूर्वको पहाडमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने मनसुन यसपालि झण्डै तीन सातापछि गएको आइतबार मात्रै बाहिरिएको हो ।

आज कात्तिक १ गते शुक्रबार दिउँसो देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पूर्वी पहाडका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । भोलि शनिबार देशभरी आंशिक बदली रही अपरान्हपछि पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको र राति पनि देशको पूर्वी भुभागमा आंशिकदेखि सामान्य बदली र मध्ये तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आगामी आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली तथा देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*