Home / Feature Breaking news / कोरोनाको त्रास : ई–हाजिरी छोडेर रजिष्टरमा हाजिर

कोरोनाको त्रास : ई–हाजिरी छोडेर रजिष्टरमा हाजिर

दाङ, ११ बैशाख । सरकारले लकडाउन घोषणा गर्नुअघि जिल्लाका अधिकांस कार्यालयहरुमा विद्युतीय हाजिरी नै प्रयोगमा थियो । तर कोभिड १९ को संक्रमणसँगै कार्यालयहरुले ई–हाजिरी रोकेका छन् । ई–हाजिरी गर्दा एकै ठाउँमा धेरै जनाले औले ल्याप्चे लगाएझैं गरी हाजिर गर्न पर्छ । कार्यालयमा उपस्थित हुने कर्मचारीहरुले रजिष्टरमा नै हाजिरी गर्न थालेका छन् । संक्रमणको समयमा ई–हाजिरीसमेत जोखिम मानिएकाले कार्यालयहरुले तत्कालको लागि रोकेका जनाएका छन् ।

लमही नगरपालिकाले लकडाउनभन्दा अघि ई–हाजिरीको व्यवस्था गरेको भएपनि लकडाउनसँगै ई–हाजिरी रोकेको जनाएको छ । ‘ई–हाजिरी तत्कालको लागि रोकेको छौ’,लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले भने,‘सहज वातावरण निर्माण नहँुदासम्म रजिष्टरमा नै हाजिर हुन्छ ।’ त्यसैगरेर राप्ती गाउँपालिकाले पनि तत्कालको लागि ई–हाजिरी रोकेको जनाएको छ । कार्यालयमा उपस्थित हुने कर्मचारीले रजिष्टरमा हाजिर गर्ने गरेका छन् ।

घोराही उपमहानगरपालिकाको कार्यालयका कर्मचारीले पनि आजभोलि रजिष्टरमा नै हाजिरी लगाउने गरेका छन् । ‘विगतमा ई–हाजिर गर्ने गरिन्थ्यो । तर लकडाउनसँगै कार्यालयमा जाने कर्मचारीले रजिष्टरमा हाजिरी गर्ने गरेका छांै’,शाखा अधिकृत प्रेम केसीले भने,‘कोभिड १९ संक्रमणको जोखिमका कारण विद्युतीय हाजिरी गर्न छोडेका छौ ।’ कोरोनाको त्रास नहट्दासम्म रजिष्टरमै हाजिरी गर्ने उनले बताए ।

सरकारले लकडाउन गरेसँगै अत्यावश्यक कामबाहेक अरु सबै स्थगित नै छन् । सरकारले आफूभन्दा माथिको कर्मचारीको सम्पर्कमा रहेर काम गर्न कर्मचारीलाई निर्देशन दिएको छ । त्यो कारण पनि अधिकांश कर्मचारी कार्यालय जाने गरेका छैनन् । कोराना संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले व्यक्तिगत सरसफाई र सामाजिक दूरी कायम राख्न भनेको छ । विगतका वर्षदेखि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले ई–हाजिरी प्रणालीमा आबद्ध हुन चाहने सरकारी कार्यालयलाई डिभाइस र सफ्टवेयर उपलब्ध गराउँदै आएको थियो । यस प्रणालीले उपस्थित कर्मचारीको व्यवस्थित हाजिरी संकलन र विदा तथा व्यक्तिगत सूचनाको केन्द्रीय व्यवस्थापन गर्ने र ई–हाजिरी प्रणालीमा आबद्ध भएका कार्यालयमा दैनिक कति कर्मचारी उपस्थित र अनुपस्थित भए वा विदामा छन् भन्ने आँकडा नियमित अपडेट राख्ने काम समेत गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*