Home / Feature Breaking news / बंगलाचुलीमा विपन्न परिवारलाई घर निर्माण

बंगलाचुलीमा विपन्न परिवारलाई घर निर्माण

लिलाधर वली

दाङ, २९ फागुन । दाङको पहाडी गाउँपालिका बंगलाचुलीले आर्थिक रुपमा विपन्न परिवारहरुकालागि ‘आवास निर्माण’ गरिदिएको छ । गाउँपालिकाले आर्थिक रुपमा विपन्न परिवारहरुको लागि तीन करोडको लागतमा घरहरु निर्माण गरिदिएको हो ।

संघीय सरकारको विशेष अनुदान अन्तर्गत दुई करोड ६४ लाख र गाउँपालिकाको ३६ लाख रुपैयाबाट गतबर्ष बंगलाचुली गाउँपालिकाको चार वडाहरुको पाँच स्थानमा दुई कोठे ३० वटा घरहरु (प्रिफेप) निर्माण गरिएको बंगलाचुली गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसीले वताए । ‘विपन्न समुदायको लागि आवास निर्माण गरेका छौ’ उनले भने ‘ निर्माण भएका आवासमा मानिस बस्न शुरु गरेका छन ।’
प्रशासन शाखा प्रमुख केसीका अनुसार बंगलाचुली गाउँपालिकाको वडा नं. २ को पुरुङमा ६ वटा, वडा नं. ४ को जुम्लेपानीमा ६ वटा, वडा नं. ५ को मुर्कुटी र झेल्नेटामा ६–६ वटा र वडा नं. ८ को हासीपुरमा ६ वटा प्रिफेप भवन निर्माण गरिएको हो ।

भवन निर्माणसँगै खानेपानी, बत्तिलगायतको सम्पुर्ण संरचनाहरु निर्माण भएको गाउँपालिकाले जनाएको छ । झेल्नेटामा मानिसहरु बस्न सुरु गरेकाले बक्ति समेत जडान गरिएको छ । तर अन्य स्थानमा विद्युत जोड्ने बाहेकको सम्पुर्ण काम पुरा भएको बंगलाचुली गाउँपालिकाले जनाएको छ । प्रतिघर दश लाख रुपैयाको दरले निर्माण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । निर्माण गरिएका घरहरुमा दुई घरपरिवार बराबर एक शौचालय र तीन घरपरिवार बराबर एक बाथरुम रहेका छन । प्रशासन शाखा प्रमुख केसीका अनुसार एउटै डिजाइनमा निर्माण गरिएका घरहरु भुकम्प प्रतिरोधात्मक छन ।

गाउँपालिकामा रहेका विभिन्न घरपरिवारलाई आवासिय सेवा दिने उद्देश्यले निर्माण गरिएपनि कतिपय वडाहरुमा गरिव परिवार छनोट हुन नसक्दा भवनहरु खाली रहेको समेत बताए । ‘संघीय सरकारको विशेष अनुदानमा आर्थिक रुपमा विपन्न परिवारलाई आवासीय सुविधा पु¥याउने उद्देश्यले गाउँपालिकाको चार स्थानमा भवनहरु निर्माण गरिएको छ’,प्रशासन शाखा प्रमुख केसीले भने,‘ निर्माण भएका घरहरुमा गरिव परिवार पहिचान गरेर राख्न सुरु भैसकेको छ, कतिपय वडामा छनोट हुन नसक्दा घरहरु रहेका छन ।’

केसीका अनुसार झेल्नेटामा ६ घर,मुर्कुटीमा चार घर र पुरुङमा दुई घरमा मात्र परिवार बस्ने गरेका छन । वडा कार्यालयले वडामा भएका गरिव परिवार पहिचान गर्न नसक्दा अधिकांस वडामा निर्माण गरिएका घरहरु खाली रहेका छन । कार्यविधि अनुसार उक्त घरहरुमा राख्नका लागि गरिव परिवारको छनोट गर्ने जिम्मा वडा कार्यालयलाई रहेको छ । बस्नको लागि घर र जग्गा समेत नभएकालाई नै ति घरमा राख्ने पालिकाले जनाएको छ । तर वडा कार्यालय गरिव परिवार छनोट गर्न नसक्दा वडा नं. ८ मा निर्माण गरिएका ६ घर, जुम्लेपानीका ६ घर, पुरुङका ४ घर र मुर्कुटीका दुई घरहरु खालि छन । ‘ गरिव परिवार पहिचानको काम भैराखेको छ’ केसीले भने ‘ बाँकि घरमा समेत गरिव परिवार राख्ने काम भैराखेको छ ।’

खाली भवनमा विद्यार्थीहरु पढ्दै

यसैविच बंगलाचुली गाउँपालिका वडा नं. ८ को हासीपुरमा निर्माण गरिएका प्रिफेप भवनहरुमा विद्यार्थीहरु बसेर अध्ययन गरिरहेका छन । वडा कार्यालयले गरिव परिवार पहिचान गर्न नसक्दा उक्त भवनहरुमा बंगलाचुली गाउँपालिका वडा नं.८ को हासीपुरमा रहेको खड्गदेवी आधारभुमत विद्यालयका विद्यार्थीहरु भवनमा बसेर अध्ययन गर्दै आएका छन ।

वडा अध्यक्ष गिरराज गाहामगरले भने विद्यार्थीहरुले बार्षिक परिक्षाको तयारीका लागि उक्त भवनमा बसेको बताए । भवनहरु खालि रहेको र विद्यार्थीहरुको बार्षिक परिक्षाको तयारीका लागि मात्र केही समय उक्त भवनमा बसेको बताए । विद्यार्थीहरुले परिक्षा सकेपछि उक्त घरहरु छोड्ने समेत बताए । ‘हाम्रो वडामा निर्माण गरिएका घरहरुमा राख्ने गरि विपन्न परिवार छनोटको काम गरिरहेका छौँ’,वडा अध्यक्ष गाहामगरले भने,‘अहिले दुई परिवार सम्पर्कमा रहनुभएको छ, अन्य परिवार भेटिएपछि त्यहाँ राख्ने छौँ ।’ गरिव परिवार पहिचानकालागि खोज्ने काम भैरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*