दाङ,१० फागुन । दाङको घोराही उपमहानगरपालिकाले घोराही सहरको इतिहास झल्काउने उद्देश्यले घोराही सहरको दुई स्थानमा घोडाको प्रतिमा राखेको छ। घोराही बजारको मुख्य चोकहरु गुम्रा चोक र घोराही चोकमा घोडाको प्रतिमा स्थापना गरेको हो।
घोराही सहरको नाम घोडा शब्दबाट अपभ्रंश भई घोराही रहन गएकाले इतिहासको संरक्षण गर्ने उद्देश्यले घोडाको प्रतिमा राखिएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए।
नगरकार्यपालिकाको निर्णय अनुसार घोराहीको घोराही चोक र गुम्राहचोकमा घोडाको प्रतिमा राखिएको बताए। जसमध्ये गुम्राहचोकमा स्थापना भइसकेको र घोराही चोकमा निर्माणको क्रममा रहेको नगर प्रमुख चौधरीले जानकारी दिए।
गुम्राह चोकमा दुई वटा सिल्भरबाट निर्माण गरिएका घोडा र गोडीको प्रतिमा राखिएको र घोराही चोकमा फाइबरबाट निर्माण गरिएको एक वटा घोडाको प्रतिमा राखिने भएको छ।
गुम्रा चोकमा राखिएको घोडाको प्रतिमा २९ लाखमा टेण्डर आह्वान गरिएकोमा २५ लाखमा निर्माण भएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए।
घोराही चोकमा राखिने घोडाको लागत भने केही सस्तो रहने उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार घोराही चोकमा निर्माण हुन थालेको घोडाको प्रतिमा बन्न केही समय लाग्नेछ।
घोडाको मुख्यमन्त्रीद्वारा उदघाटन
यसैबीच गुम्राह चोकमा स्थापाना गरिएको घोडाको प्रतिमाको प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन्। शनिबार बिहान एक कार्यक्रमको आयोजनाबीच घोडाको प्रतिमा मुख्यमन्त्रीले उदघाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, नेकपाकी सचेतक एव प्रतिनिधिसभा सदस्य शान्ता चौधरीलगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।