Home / Feature Breaking news / घोराहीमा स्वास्थ्य सेवा कतै सेवा विमुख, कतै सेवा विस्तार

घोराहीमा स्वास्थ्य सेवा कतै सेवा विमुख, कतै सेवा विस्तार

 

लिलाधर वली
दाङ, १ असोज । संघात्मक अभ्याससँगै स्वास्थ्य सेवा पनि स्थानीय तहको मातहतमा गएपछि केही स्थानमा स्वास्थ्य सेवामा सुधार देखिएको छ भने केही स्थानका नागरिक सामान्य स्वास्थ्य सेवाबाट समेत विमुख भएको अवस्था देखिएको छ । सेवा विस्तारित हुने स्थानीयवासीले खुशी व्यक्त गरेका छन् भने उपमहानगरपालिकाकै केही वडाहरुभने स्वास्थ्य सेवा विमुख भएका छन् । उनीहरुले सम्बन्धित वडाध्यक्षमार्फत् उपमहानगरपालिका प्रमुखको समेत ध्यानाकर्षण गराएका छन् ।

घोराही उपमहानगरपालिका दुई वडाहरुमा अझै स्वास्थ्य सेवा पुग्न सकेको छैन । उपमहानगरपालिकाका १९ वटा वडामध्ये १७ वटा वडाहरुमा स्वास्थ्य सेवा पुगे पनि वडा नं. १ र ३ मा अझै स्वास्थ्य सेवा पुग्नसकेको छैन । यातायात सेवा सहज भए पनि त्यहाँ सहरी क्लिनीकसमेत स्थापना हुनसकेको छैन । वडामा स्वास्थ्य उपचार केन्द्र नहुँदा वडावासी सामान्य विरामी हुँदासमेत छिमेकी वडा तथा घोराहीको उपक्षेत्रीय अस्पताल धाउन बाध्य रहेका छन् ।

संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमामा परिभाषित् गरे पनि वडावासीले भने अहिलेसम्म वडामा स्वास्थ्य सेवा प्राप्त गर्नसकेका छैन । निर्वाचनको क्रममा वडामै स्वास्थ्य सेवा ल्याउने प्रतिबद्धता जनाएका जनप्रतिनिधिलेले निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत वडामा स्वास्थ्य सेवा पु¥याउन नसकेको स्थानीयको गुनासो रहेको छ ।
तर घोराही उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष माधव चौधरीले वडामा स्वास्थ्य सेवा समस्या रहे पनि आपूmले समस्या समाधान गर्न नसकेको बताए । वडामा सहरी स्वास्थ्य किल्नीक समेत नहुँदा अहिले सामान्य विरामी हुँदासमेत वडावासीहरु कि त गोग्ली कि त घोराही जानुपर्ने बाध्यता रहेको छ । ‘वडामा स्वास्थ्य प्रमुख समस्याको विषय रहेको छ, यो समस्या समाधानका लागि मैले उपमहानगरपालिका कुरा उठाएको छु’– वडाध्यक्ष चौधरीले भने–‘उपमहानगरपालिकाको बैठकमा राख्ने निर्णय भए पनि अझै हुन सकेको छैन ।’ तत्कालका लागि सहरी स्वास्थ्य किल्नीक राख्नका लागि झिङ्नीमा भवनको लागि समेत कुरा गरिएको वडाध्यक्ष चौधरीले बताए ।
आठवटा वडामा स्वास्थ्य चौकी
घोराही उपमहानगरपालिकाका ८ वटा वडामा मात्रै स्वास्थ्य चौकी रहेका छन् । घोराही उपमहानगरपालिका हुनुपूर्व गाविस तथा नगरपालिका रहेको स्थानमा मात्र स्वास्थ्य चौकी रहेका छन् । जसमध्य हाल उपमहानगरपालिकाका वडा नं. २ को रामपुर, वडा नं. ४ को लक्ष्मीपुर, ५ को बसन्तापुर, ७ को सौंडियार, ८ को ढिकपुर, १० को नारायणपुर, १२ को हापुर र १९ को सैघामा स्वास्थ्य चौकी रहेको घोराही उपमहानगरपालिका स्वास्थ्य विभाग प्रमुख नारायण घर्तीले जानकारी दिए ।

स्वास्थ्य चौकीमा सरकारले निःशुल्क प्रदान गरेका ३५ प्रकारका औषधिसँगै एकजना हेल्थ असिष्टेन्ट, दुई जना नर्स, १ जना अनमीलगायत कार्यालय सहयोगीको दरबन्दी रहेको घर्तीले बताए । भौतिक पूर्वाधारका रुपमा लक्ष्मीपुर स्वास्थ्य चौकी सुविधासम्पन्न रहे पनि अन्य स्वास्थ्यचौकीहरुको भवन राम्रो नरहेको उनी बताउँछन् ।
‘सरकारले कूल बजेटको दश प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्छ, अझै त्यो अनुसार काम हुनसकेको छैन’–प्रमुख घर्तीले भने–‘स्वास्थ्यका लागि वडामा पर्याप्त बजेट नहुँदा स्वास्थ्यमा सुधार ल्याउन सकिएको छैन ।’ नगरवासीलाई वडामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहे पनि त्यो अनुसारको काम हुन नसकेको उनको भनाई छ ।

आठ वडाका दश स्थानमा सहरी स्वास्थ्य क्लिनीक
घोराही उपमहानगरपालिकाले एक वर्षको अवधिमा नगरका ८ वटा वडाका दश स्थानमा सहरी स्वास्थ्य किल्नीक स्थापना गरेको छ । नगरवासीलाई वडामै आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्थानीय तहमा जनप्रतिनिधिहरु आइसकेपछि १० स्थानमा नगर स्वास्थ्य केन्द्र स्थापना गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

जसअन्तर्गत घोराही उपमहानगरपालिकाको वडा नं. ६ को फचकपुर, वडा नं. ९ को आन्द्राभरैया, वडा नं. ११ को शिवपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । त्यस्तै वडा नं. १३ को भ्यूडर र कलमघारी, वडा नं. १४ को नयाँबजारमा सहरी स्वास्थ्य किल्नीक तथा राप्ती उपक्षेत्रीय अस्पतालअन्तर्गत् संस्थागत परिवार नियोजन किल्नीक सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख घर्तीले बताए ।

त्यस्तै १६ नं. वडाको करौंतीडाँडा, १७ को चौघेरा र १८ नं. वडाको घोरदौरा र हात्तीखर्कमा सहरी स्वास्थ्य किल्नीक सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ । सहरी स्वास्थ्य किल्नीकमा १ जना अहेव, १ जना अनमी र १ जना कार्यालय सहयोगी हुनुपर्ने व्यवस्था भए पनि आर्थिक अवभाका कारण कतै अहेव र कतै अनमीको भरमा चलाउनुपर्ने बाध्यता रहेको छ । ‘अहेव वा अनमी दुई जना हुनुपर्ने हो, तर अधिकांश एक जना मात्र कार्यरत छन्’– स्वास्थ्य शाखा प्रमुख घर्तीले भने–‘एक जना मात्र हुँदा अप्ठेरो पर्ने गरेको छ, कहिले आफै विरामी पर्दा, काममा बाहिर जाँदा कुर्ने मान्छेसम्म हुँदैन ।’

आठ स्थानमा वर्थिङ सेण्टर
घोराही उपमहानगरपालिकाभित्र ८ सस्थानमा स्वास्थ्य चौकी रहेका छन् । स्वास्थ्यचौकी रहेका स्थानमा वर्थिङ सेण्टर सञ्चालन गरिएको छ । स्वास्थ्य प्रमुख घर्तीका अनुसार वर्थिङ सेण्टरमा एक वर्षको अवधिमा ५ सय ५३ जना महिलाहरुले प्रसुती गराएका छन् ।

रामपुर वर्थिङ सेण्टरमा एक सय ३९, नारायणपुर वर्थिङ सेण्टरमा २ सय ३०, लक्ष्मीपुर वर्थिङ सेण्टरमा ४३ जना, सौंडियार वर्थिङ सेण्टरमा १४, धर्ना वर्थिङ सेण्टरमा १७ जना, ढिकपुर वर्थिङ सेण्टरमा ६३ जना, हापुर वर्थिङ सेण्टरमा २१ जना र सैघा वर्थिङ सेण्टरमा १६ जना महिलाहरुले डेलीभरी गराएका छन् । जसको सञ्चालनका लागि स्वास्थ्य चौकीमा रहेका २ जना नर्सिङ वा अनमी सहित एक थप करारमा अनमीको व्यवस्था गरिएको छ ।

पुराना भवन र पर्याप्त बजेट नहुँदा वर्थिङ सेण्टरको सुधार गर्न नसकिएको घोराही उपमहानगरपालिकाले जनाएको छ । ‘अहिले वर्थिङ सेण्टरका लागि प्रत्येक स्वास्थ्य चौकीमा एक जना बेडको व्यवस्था गरिएको छ, आकस्मिक थप अर्की सुत्केरी महिला आउनुभयो भने सुताउने बेड छैन’–घर्तीले बताए । वर्थिङ सेण्टरमा नर्मल अवस्था भए मात्र राखिने गरेको छ । नत्र राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलगायतका स्थानमा रिफर सेण्टरले गर्ने गरेको स्वास्थ्य प्रमुख घर्ती बताउँछन् । वर्थिङ सेण्टरमा गर्भवती महिलाहरुको नियम चेकचाँज, स्वास्थ्य परीक्षण, खोप लगाउनेलगायतका काम हुने गरेको छ ।

नारायणपुरमा मात्रै एम्बुलेन्स

स्वास्थ्यचौकी तथा वर्थिङ सेण्टरहरुमा अनिवार्य रुपमा एम्बुलेन्स सञ्चालन भएको हुनुपर्ने भए पनि उपमहानगरपालिकामा १० नं. वडा वाहेक अन्य कुनै स्थानमा एम्बुलेन्स सञ्चालन छैन । वर्थिङ सेण्टरमा अनिवार्य रुपमा एम्बुलेन्स हुनुपर्ने भए पनि अहिलेसम्म नारायणपुर वाहेक अन्यत्र कुनै पनि स्थानमा एम्बुलेन्स छैनन् । एम्बुलेन्स नहुँदा जोखिमपूर्ण प्रसुती सेवा रहेको छ ।

‘वर्थिङ सेण्टरमा एम्बुलेन्स हुनुपर्ने हो, तर अहिले कुनै पनि स्थानमा छैन’– घर्तीले भने–‘जसले गर्दा नियमित गर्भवती चेकजाँच गर्न महिला वर्थिङ सेण्टर आउने तर बच्चा जन्माउने दिन नजिकिँदै गर्दा घोराही तथा जिल्ला बाहिरका अस्पताल जाने गरेका छन् ।’ सुरक्षित प्रसुती सेवाका लागि वर्थिङ सेण्टरको सुधारसँगै प्रत्येक वर्थिङ सेण्टरमा एम्बुलेन्स सेवा हुन आवश्यक रहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*