Home / Feature Breaking news / थारुहरुले चिनिसके–यो थारु बिरोधी सरकार होः योगेन्द्र चौधरी

थारुहरुले चिनिसके–यो थारु बिरोधी सरकार होः योगेन्द्र चौधरी

१४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो प्रचारलाई तिब्र पारेको छ । यसैक्रममा थारुहरुको हकअधिकारका लागि लड्दै आएका कांग्रेस नेता योगेन्द्र चौधरीले थारु समुदायका बस्तीहरुमा आफ्नो उपस्थिती बढाएका छन् । निर्वाचनको मुखैमा के भन्छ थारु समुदाय ? नेता चौधरीसंगको कुराकानी ।

yog

उपनिर्वाचनको संघारमा रहँदा तपाईको चुनावी सकृयता कस्तो छ ?

म पहिल्यै देखि थारु समुदायको माग र हितका निम्ती बढि चिन्तीत रहँदै आएको यहाँलाई सर्वविदितै छ । यो उपनिर्वाचनको संघारमा पनि म त्यहि थारु समुदायलाई फोकस गरिरहेको छु । कि कसरी थारु समुदायको मतलाई नेपाली कांग्रेसको पक्षमा पार्न सकिन्छ  ? भनेर थारु समुदायमा प्रवेश गरेको छु । उनिहरुले उपनिर्वाचनलाई हेर्ने दृष्टिकोण र थारु समुदायबाट यो निर्वाचनमा कांग्रेसलाई हुने फाईदाका बारेमा सुक्ष्मढंगले अनुगमन गरिरहेको छु । थारु समुदायको बिगत र वर्तमानलाई सुनेर भविष्यको लागि सुझाउने काम मेरो तर्फबाट भैरहेको छ ।

के भन्छ थारु समुदाय ?

उनिहरुमा चरम असन्तुष्टि छ । यो असन्तुष्टि वर्तमान सरकार प्रति मात्रै लक्षित देखिन्छ । अहिलेको सरकार र सरकारको नेतृत्व गरेको नेकपाले सोझा साझा आँफूहरुलाई नराम्ररी झुक्यायो भन्ने महशुस थारु समुदायले गरेको छ ।   लालपुर्जा दिलाईदिने, जागिर लगाईदिने, सुकुम्बासीहरुको समस्या समाधान गरिदिने , मोहि समस्या समाधान लगाएतका भ्रामक आश्वासन बाँडेर नेकपाले जसरी थारु समुदायलाई गुम्राहमा पार्यो, अहिले यसको चोटिलो घाउ बोकेर यो समुदाय बसेको छ । अहिलेको नेकपा नेतृत्वको सरकारले गरेका बाचा अनुसार थारु समुदायले के पायो ? एउटा उदाहरण दिने ठाउँ सम्म दिएन ।
यसर्थ उनिहरुले त्यो तितो विगतको ऋण अहिलेको उपनिर्वाचनबाट तिर्ने छन् । उनिहरुको मानसपटलमा मुख्यतया के कुरा मात्रै छाप बनेर पसेको छ भने—नेकपा छलकपटको राजनीतिमा सकृय रहेछ । विगतमा जसरी नेकपा प्रति थारु समुदाय भ्रममा पर्यो,अहिले त्यो भ्रमबाट यो समुदाय मुक्त भएको पाएको छु ।

नेकपाबाट थारु समुदाय ठगिएकै हो ?

मलाई यतिमात्रै बताईदिनुस्, कम्युनिष्टले सरकारको नेतृत्व गरेका बेलामा थारुहरुले उठान गरेका मुद्धाहरु कहाँ कति सम्बोधन भए ? थारुहरु सोझा हुन्छन् यिनीहरुलाई आश्वासन दिएमात्रै पनि भोट झरिहाल्छ भन्ने मानसिकताले नेकपा ग्रस्त बन्दै आयो । थारुहरुको पहिचानका निम्ती उठेको आवाज सम्बोधन गर्ने सवालमा किन उदार बन्न सकेन  नेकपा ? चुनावका बेला चिल्ला कुरा गरेर पहिचानका निम्ती बोलेको थारुहरुको आवाजलाई किन दबाईयो ? पहिचानका लागि बोलिएका आवाजहरुलाई बन्द गर्ने दुस्साहस भयो । आँफूले झुक्याएर भोट तानिएका तिनै थारुहरुले पहिचान संरक्षणको माग गर्दा उनिहरुको  मुख बन्द गरियो  । अनि भन्नुस् ,नेकपाको सरकारबाट थारुहरुले फाईदा पाएकी नोक्सानी बेहोरे ? उनिहरुलाई न्याय मिल्यो कि झन अन्यायमा पारियो ? सिंगो थारु समुदायले यो कुरा बुझ्न जरुरी छ कि खोई हाम्रो पहिचान ? कसले खोस्यो ? भन्ने प्रश्नको जवाफ थारु समुदायले यो उपचुनावबाट पक्कै खोज्ने छन् ।

यसको अर्थ नेपाली कांग्रेस प्रतिको आकर्षण बढेको भन्न मिल्छ ?

एकदमै । नेकपा प्रतिको चरम असन्तुष्टि भनेकै नेपाली कांग्रेस प्रतिको आकर्षण हो । विभिन्न प्रलोभन देखाएर चुनावी रणनीति बनाएको नेकपाको काम त प्रष्टै देखिईसक्यो नि । अँझै पनि जुन गाउँमा थारु समुदायको नेतृत्व छैन, त्यस्ता गाउँका सोझा साझा जनताहरुलाई विगतकै जस्तै भ्रम छर्ने काम नेकपाबाट भैरहेको छ । तर हामीहरुले त्यस्ता भ्रमहरुलाई चिरेर नेपाली कांग्रेसले मात्रै थारु समुदायको समस्या समाधान गर्ने भनेर बचनबद्धता पनि गरेका छौँ , र उनिहरु विश्वस्त पनि छन् । तर यति भन्दै गर्दाखेरी नेपाली कांग्रेसले पनि एउटा प्रमुख कुरा के बुझ्न जरुरी देखियो भने, प्रत्यक गाउँमा राजनीतिक नेतृत्व जन्माउनु पर्यो । जहाँ नेतृत्व जन्मन्छ त्यहाँ नेकपाको भ्रमले ठाउँ पाउन सक्दैन भन्ने ठूलो पाठ सिकाई भएको छ । आफ्नो संगठन विस्तारका क्रममा थारु समुदायको प्रतिनिधित्वलाई ध्यानमा राखिनु पर्ने आवश्यक्ता मैले देखेको छु । जहाँ कांग्रेसको नेतृत्व जन्मन्छ, त्यहाँका सोझा साझा थारु जनताहरुलाई कम्युनिष्टहरुले भ्रममा पारेर मत तान्न सक्दैनन्, यो सत्य कुरा हो । र अहिलेको थारु समुदायमा नेकपा प्रति बढेको असन्तुष्टिले स्वभाविकै रुपमा उपनिर्वाचनमा कांग्रेसलाई फाईदा पुग्नेमा कुनै शंका छैन ।

के चाहन्छ थारु समुदाय ?

मुलतः आफ्नो प्रतिनिधित्व । संगै पहिचान गुम्न दिँदैन यो समुदायले । राजनीतिक दलहरुमा आफ्नो प्रतिनिधित्वको खोजिमा थारु समुदाय छ । समावेशिता खोई ? यो समुदायले नेकपाको सरकारमाथि प्रश्न उठाईरहेको छ । अहिलेको सरकारमा थारु समुदायको शून्य प्रतिनिधित्व छ । यहाँ सम्मकी फूलमन्त्री त परैजावस् राज्य मन्त्री सम्म थारु समुदायलाई दिन चाहेन अहिलेको सरकारले । यसको पीडा थारु समुदायले महशुस गरेको छ । आँफूलाई भोट बैंकको रुपमा प्रयोग गर्ने तर समावेशिताको प्रकृयामा जहिल्यै ठगिँदै आएका थारु समुदायले नेकपाको हेपाईलाई अब पनि नबुझ्ने ? थारु समुदायमा उठेको बहस हो यो । नेपाली कांग्रेसले पार्टीभित्र समावेशीतालाई निकै महत्व दिएको छ । पदाधिकारीमै समावेशिताका हिसावले कांग्रेस थारु समुदायका लागि उत्तिकै उचित पार्टी हो । यसलाई सिंगो थारु समुदायले बुझ्न जरुरी छ र कांग्रेसले पनि यो समुदायलाई बुझाउनु जरुरी छ ।

यहाँले भनेजस्तै थारु समुदायले बुझ्ला त यो कुरा ?

मैले अघि पनि भने यो सरकारले या नेकपाले थारु समुदायले मागेको कुन चाहिँ अधिकार दियो ? अहिले सम्मको कमजोर उपस्थिती मन्त्री परिषदमा देखियो । यो थारु बिरोधी सरकार हो । थारुहरुलाई हेप्ने, ठग्ने यो सरकार र सरकारको नेतृत्व गरेको नेकपालाई सिंगो समुदायले यो चुनावबाट जवाफ दिन जरुरी छ । थारु समुदायले हेपिएको सहन्न भन्ने सन्देश दिने उपयुक्त अवसर उपनिर्वाचन हो । र मलाई विश्वास छ, अहिले धेरै माथि उठिसकेको थारु समुदायको राजनीतिक चेतना स्तरले पनि थारु बिरोधी सरकारलाई गतिलो जवाफ दिने छ । थारु समुदायलाई मेरो अनुरोध पनि छ कि अब सरकारबाट नहेपिउँ, यो उपचुनावबाट दह्रो जवाफ दिउँ । उँचो पहिचान कायम गर्नका लागि कांग्रेसको साथ र समर्थन निर्विकल्प हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*