Home / Feature Breaking news / कांग्रेसमा १५ सय नेता कार्यकर्तामाथि छानबिन हुँदै, तीन सय क्रियाशील सदस्यता खारेज

कांग्रेसमा १५ सय नेता कार्यकर्तामाथि छानबिन हुँदै, तीन सय क्रियाशील सदस्यता खारेज

लिलाराज खनाल

काठमाडाैँ, ३१ साउन

नेपाली कांग्रेसले दुई वर्षअघि भएको स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध लाग्ने करिब १५ सय क्रियाशील सदस्यलाई कारबाही गर्नेभएको छ ।

आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, विद्रोही उम्मेदवारको समर्थक र प्रस्तावक तथा आधिकारिक उम्मेदवारको विपक्षमा लागेका पार्टी कार्यकर्तामाथि कांग्रेसले अनुशासनको कारबाही गर्न लागेको हो ।

स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, उनीहरुको समर्थक र प्रस्तावक बसेका दुई सय ९८ क्रियाशील सदस्यको नाम अभिलेखबाट हटाउन केन्द्रीय अनुशासन समितिले निर्णय गरेको समिति सदस्य उमाकान्त चौधरीले बताए ।

पार्टी विधान अनुसार त्यस्ता क्रियाशील सदस्य पाँच बर्षसम्म पार्टीको क्रियाशील सदस्यबाट स्वतः हट्ने व्यवस्था छ । अनुशासन समितिले ४९ जिल्लाबाट पार्टीका केन्द्रीय सदस्यदेखि क्रियाशील सदस्यविरुद्ध परेको अनुशासन उलंघनका घटनाको छानबिन गरिरहेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिमा निर्वाचनमा अनुशासन उलंघन गरेको आरोपमा समितिकै दुई सदस्यहरु देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरसहित एक हजार दुई सयविरुद्ध उजुरी परेको छ ।

पार्टीको हितविपरीत र आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अभियोगमा केन्द्रीय सदस्य गुरुराज घिमिरे र अतहर कमाल मुसलमान, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वराज्यमन्त्री पुष्कर ओझा, डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लविरुद्ध पनि उजुरी परेका छन् ।

अनुशासनको कारबाहीको लागि उजुरी परेका एक हजार दुई सय क्रियाशील सदस्यलाई यसै साता अनुशासन समितिले पत्राचार गर्ने भएको छ ।
समितिले ३५ दिन भित्र लिखित स्पस्टीकरण दिन भन्दै सबैलाई पत्राचार गर्न लागेको अनुशासन समिति सदस्य चौधरीले बताए । ‘४९ जिल्लाका एक हजार दुई सय जनालाई नै पत्राचार गरिने छ,’ उनले भने ।

यसअघि गठन भएको अनुशासन समितिका संयोजक रमेश रिजालले स्थानीय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेवारविरुद्ध लाग्ने एक सय ५४ जनालाई स्पष्टिकरणका लागि पत्राचार गरेका थिए । त्यसमध्ये जम्मा २४ जनाले मात्र लिखित जवाफ दिएका थिए ।

स्पष्टिकरण सोधिएका एक सय ३० जनाले लिखित जवाफ नपठाएकाले उनीहरुलाई सफाइको मौका दिन पुनः पत्राचार गरिने भएको छ । समितिमा अनुशासन उलंघनका उजुरी अझै आइरहेका छन् ।

समितिको सचिवालयले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाईंले दिएको उजुरी लिएको छैन । सभापति देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराका सभापति कर्ण बहादुर मल्ललाई अनुशासनको कारबाही जसरी गर्न दबाब दिइरहेको स्रोतले बतायो ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा समानान्तर संगठन खोलेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न दवाव दिएका छन् । जोशीले पौडेलविरुद्ध प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिए पनि निर्वाचन आयोगले उनको उम्मेदवारी रद्ध गरेको थियो ।

केन्द्रीय कार्य समितिको ४ चैत, २०७५ को बैठकले भीष्मराज आङ्दम्वेको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेको थियो । समितिलाई सर्वसम्मतमा निर्णय गर्ने म्याण्डेड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*