Home / Feature Breaking news / पौडेल राष्ट्रपति बन्दा दंग देउवा

पौडेल राष्ट्रपति बन्दा दंग देउवा

पौडेल र देउवाको करिब छ दशक लामो सम्बन्धको खातामा मित्रता र सहकार्यभन्दा प्रतिस्पर्धा र धोकाधडीको हिसाब ज्यादा छ । तर राजनीतिक घुम्तीहरूको उत्तरार्धमा उनीहरूले आपसी सहयोगी बनेर हिसाब राफसाफ गरेका छन् ।

रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि गत बिहीबार संसद् भवनको ल्होत्से हलमा निर्वाचन आयोगले प्रमाणपत्र दिने कार्यक्रम थियो । उक्त कार्यक्रममा पौडेललाई मत दिने दलका शीर्ष नेता सांसदहरूले हल भरिभराउ थियो । मञ्चमा रहेका धेरै शीर्ष नेतामध्ये औधी खुसी देखिन्थे- कांग्रेस सभापति शेरबहादुर देउवा ।

देउवा मञ्चमा हुने कार्यक्रमहरूमा हँसिलो विरलै देखिन्छन् । मञ्चमा बस्दा उनको अधीरता झल्किन्छ । बेलाबेला उनमा कुन हदसम्मको अधीरता हुन्छ भन्ने त पुस ११ मा पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि राष्ट्रपति भवनमा शपथ लिँदा देखिएको थियो । दाहालले शपथग्रहण सक्दानसक्दै कुर्सी पनि साटासाट नगरी मञ्च छोडेर हिँडेका थिए उनी ।

बिहीबार भने रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि उनले पटक-पटक अंगालो हाले । मञ्चमै हँसिलो मुद्रामा सुरुदेखि अन्त्यसम्म बसे । पौडेलकी श्रीमती सबितालाई समेत तानेर उनले प्रफुल्ल मुद्रामा खुसी साटे ।

राष्ट्रपति निर्वाचनसँगै गुमिसकेको सत्ता फिर्ती भएको र सँगसँगै पौडेललाई नै राष्ट्रपति बनाउन सफल भएकोमा देउवामा प्रफुल्लित छन् । किनकि यही प्रकरणले देउवालाई फेरि सत्ताको नेतृत्व गर्ने बाटो खुलेको छ र पार्टीभित्र पौडेललाई देउवाले कहिल्यै केही दिएन भन्नेहरूलाई जवाफ मिलेको छ ।

‘रामचन्द्रजी हाम्रो पार्टीको सिनियर नेता हो । प्रजातन्त्रको स्थायित्वका लागि उहाँले जीवनभर ठूलो संघर्ष गर्नुभएको छ, त्यही कारण उहाँले जिन्दगीमा धेरै ठूलो दु:खहरू पनि पाउनुभयो,’ राष्ट्रपतिमा पौडेललाई भोट अपिल गर्दै आठ दलका सांसदको भेलामा देउवाले भनेका थिए, ‘तपाईंहरू शेरबहादुरले रामचन्द्रलाई कहिल्यै केही दिएन भन्नुहुन्छ । तर हामी धेरै पुरानो साथी हो, मलाई पनि उहाँको बारेमा खटपट भइरहन्थ्यो । त्यसकारण यसपालि राष्ट्रपतिको उम्मेदवार बनाएको छु ।’

पार्टी र राष्ट्रिय राजनीतिमा पौडेलले अधिकांश समय देउवासँग नै प्रतिस्पर्धा गरिरहे भने देउवाले जितिरहे । तर राजनीतिक जीवनको उत्तरार्धमा भने पौडेलले देउवाकै सहयोगमा मुलुकको राष्ट्रपति बन्ने अवसर पाएका छन् ।

देउवा र पौडेल समकालीन हुन् । उमेरमा भने पौडेल देउवाभन्दा दुई वर्ष जेठा छन् । देउवा र पौडेलको करिब ६ दशक लामो सम्बन्ध मित्रतापूर्णभन्दा धेरै प्रतिस्पर्धात्मक, सहकार्य र विश्वासभन्दा धेरै धोकाधडीपूर्ण छ । राजनीतिक घुम्तीहरूमा धेरै समय एकअर्काको प्रतिस्पर्धी नै भएपनि उत्तरार्धमा भने उनीहरू दुवै एकअर्काको सहयोगी बनेका छन् । सभापति देउवाकै आग्रहमा कांग्रेसको १४ औं महाधिवेशनपछि बनेको करिब डेढ वर्षको सहकार्यले भने अहिले नयाँ स्वरूप पाएको छ ।

त्यसो त पौडेल र देउवाबीच सहकार्य र धोकाधडीको श्रृंखला भने निकै लामो छ । राजनीतिक प्रतिस्पर्धा र बन्द कोठामा मात्रै होइन, उनीहरू पार्टीका अनेक सार्वजनिक मञ्चहरूमा प्रतिस्पर्धी र एकअर्काको कडा आलोचकका रूपमा देखिएका छन्, यतिसम्म कि एकअर्काबीचको रिस र आवेगमा सार्वजनिक मञ्चहरूमै देउवा र पौडेलको भनाभन र उठाउठ चलेका दृश्य देखिन्थे ।

निकटस्थ नेताहरूका अनुसार देउवा र पौडेल पञ्चायतविरोधी आन्दोलनकै क्रममा भेट भएका हुन् । ०२७ सालमा नेविसंघ गठन हुँदा देउवा र पौडेल एउटै समितिमा समेटिए । नेविसंघको संस्थापक सभापति बन्न विपीन कोइराला र मार्सलजुलुस शाक्यबीच प्रतिस्पर्धा थियो । देउवा र पौडेल दुवैले सघाएपछि कोइराला पहिलो सभापति भए, देउवा र पौडेल दुवै सदस्य ।

नेविसंघले दोस्रो महाधिवेशन ०२८ असोजमा चितवनमा गर्‍यो । त्यसपछि भने देउवा र पौडेलबीचको प्रतिस्पर्धा सुरू हुन्छ । त्यसबेला सभापतिमा देउवा, पौडेल र शिवबहादुर खड्काको दाबी थियो । देउवाले पार्टीमा नेताको मन जिते, कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद र बीपी कोइरालासम्मलाई आफ्नो पक्षमा पारेका देउवा सर्वसम्मत सभापति घोषित भए । पार्टी राजनीतिमा देउवा अघि लागेको पनि त्यहीबाट हो ।

त्यसपछि देउवाले लामो समयसम्म नेविसंघकै नेतृत्व गरे, पौडेल पार्टीमा सक्रिय भए । पञ्चायतविरोधी आन्दोलनमा पौडेलले तनहुँमा नेतृत्व गरे । निरन्तर सक्रियता र संघर्षले देउवा र पौडेल दुवै पार्टीभित्र लोकप्रिय बने । प्रजातन्त्र पुन:स्थापनापछि ०४८ मा देउवाले डडेलधुराबाट चुनाव जिते, पौडेलले तनहुँबाट ।

२०४८ को गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा देउवा र पौडेल दुवै मन्त्री भए । त्यसबेला पनि देउवा गृहमन्त्री भए, पौडेल सामान्य प्रशासनमन्त्री । कांग्रेसको आन्तरिक विभाजनले ०५१ मा मध्यावधि चुनाव भयो । यसपटक पनि उनीहरू दुवैले चुनाव जिते । तर, कांग्रेस भने दोस्रो दलमा खुम्चियो ।

सरकारको नेतृत्व पाउने सम्भावना पनि थिएन, अर्को पक्षबाट भट्टराईले देउवालाई समर्थन गरेर संसदीय दलको नेतामा अघि सारेपछि गिरिजाप्रसादले पनि चुनाव लड्न चाहेनन् । त्यसबेला संसदीय दलको चुनाव नै भएन । नेताहरूका अनुसार प्रधानमन्त्री नहुने बेला दलको नेता किन बन्ने ? भनेका रामचन्द्र सभामुख भए ।

तर, सबैले अड्कल काटेविपरीत त्यही कार्यकालमा देउवाले सरकारको नेतृत्व गर्ने मौका पाए । तर रोचक त के छ भने गिरिजाप्रसाद र कृष्णप्रसाद दुईतिर विभाजित हुँदा पनि देउवा र पौडेल भने दुवैका प्यारा थिए । नेविसंघका संस्थापक सभापति विपीन कोइरालाले भनेका छन्, ‘ पहिले त हामीहरू राम्रै साथी थियौँ, तर राजनीतिमा प्रतिस्पर्धा र गुटबन्दीले त्यो सम्बन्ध कता पुग्यो कता ?’ उनका अनुसार देउवा र पौडेलका केही समान स्वभावसमेत छन् । पार्टीमा गणेशमान सिंह, गिरिजाप्रसाद र कृष्णप्रसादबीच खटपट हुँदा देउवा र पौडेल मिलाउँथे । केही समय एउटा नेतासँग नजिकिए जस्तो देखिने उनीहरू अर्कोतिर फाइदा पाउनेबित्तिकै उता पनि पुग्थे ।

‘पौडेलले गुट बनाएनन्, तर देउवाले बेलैदेखि गुट बनाए । विचारमा पौडेल जति प्रष्ट छन्, देउवा छैनन् । तर सत्ता राजनीतिमा भने देउवा खेलाडी हुन्,’ कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्, ‘पौडेल नेताहरू हुन्जेल उनैको आड लागे, देउवा पार्टी फुटाएर भए पनि आफैं नेता भए ।’

देउवा–पौडेल सम्बन्धमा अर्को त्यस्तै मोड आयो, ०५९ सालमा । पार्टी विभाजनको मुखमा पुग्दासम्म देउवाले पौडेललाई साथ लिन चाहेका थिए । ४ असोज, ०५९ मा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा घोषणा सभा आयोजना गरिएको थियो ।

बहालवाला प्रधानमन्त्री रहेका देउवा विभाजित पार्टीको सभापति पौडेललाई बनाउन चाहन्थे । अघिल्लो दिनसम्म त्यही तयारी थियो पनि । सभापति बन्न तयार भएका पौडेल बानेश्वरको भेलामा पुगेनन्, पछि देउवा आफैं प्रजातान्त्रिक कांग्रेसको सभापति भए, पौडेल कांग्रेसमै रहे ।

देउवा बाहिरिएपछि भने कांग्रेसमा पौडेलको भूमिका बढ्यो । यहीबीचमा उनी पार्टीको महामन्त्रीसमेत भए । तर, शान्ति प्रक्रियापछि भने कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच पार्टी एकता भयो, जति बेला देउवा वरिष्ठ नेता घोषित भए भने पौडेल उपसभापति थिए ।

०६७ सालमा भएको कांग्रेसको १२ औं महाधिवेशनमा देउवाले सुशील कोइरालासँग चुनाव हारे । सभापतिमा पराजित भए पनि देउवा वरिष्ठ नेता रहे । संविधानसभाको निर्वाचनपछि पौडेल संसदीय दलको नेता बने । त्यही बेला उनी १७ पटकसम्म प्रधानमन्त्रीको चुनाव लडे, तर प्रधानमन्त्री बन्न पाएनन् ।

कांग्रेसको १३ औं महाधिवेशनको मुखमा तत्कालीन सभापति सुशील कोइराला बितेपछि पौडेल कार्यवाहक सभापति भए । उनैले १२ औं महाधिवेशनको नेतृत्व गरे । त्यसबेला सभापतिमा पौडेल र देउवाको प्रतिस्पर्धा भयो । पौडेल पराजित भए, देउवा सभापति बने । त्यसपछि भने पौडेलले पार्टीमा एउटा पक्षको नेतृत्व गरे । कोइराला परिवारको लामो विरासत बोकेको समूह पौडेलको नेतृत्वमा थियो ।

पाँच वर्षसम्म पौडेलले देउवाको विकल्प खोजे, देउवाविरुद्ध पार्टीमा संघर्ष गरे, सत्तामा भाग मागेर कार्यकर्ता खुसी बनाए । १४ औं महाधिवेशनबाट सभापति बन्ने पौडेलको चाहना थियो ।

महाधिवेशनअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्दा देउवा ओलीकै पक्षमा थिए । तर कांग्रेसमा पौडेलले सुरू गरेको संघर्षले संसद् पुन:स्थापना र गठबन्धनको नेतृत्व गर्दै देउवा प्रधानमन्त्री बनेका थिए । त्यसबेला देउवा र पौडेल दुवैको दाउ महाधिवेशनको मुखको चुनावले पार्टीमा आफ्नो राजनीति नबिग्रियोस् भन्ने नै थियो । तर, महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिएका बहालवाला प्रधानमन्त्री देउवासँग जुध्न पौडेलले आफ्नै गुटको साथ नपाएपछि मैदान छोडे ।

पौडेल अहिले राष्ट्रपति हुने परिस्थितिको सुरूवात त्यही घडीबाट भएको थियो । महाधिवेशनमा नेतृत्वको दौडबाट मैदान छोडेका पौडेललाई देउवाले निवासमै पुगेर भनेका थिए, ‘राष्ट्रलाई तपाईंको अझै खाँचो छ, स्वास्थ्य राम्रो बनाएर बस्नुहोला ।’

देउवाले निवासमै आएर आग्रह गरेपछि पौडेलले देउवालाई जिताउन कार्यकर्तालाई इशारा गरे, देउवा सभापतिमा दोहोरिए । त्यसयता देउवाका सबै कदममा पौडेल सहयोगी छन् । ०७९ को चुनावमा देउवा र पौडेल दुवै फेरि विजयी भए ।

पार्टीको संसदीय दलको चुनावमा पौडेल देउवाको प्रस्तावक नै बसे । संस्थापक पक्षका एक नेता भन्छन्, ‘रामचन्द्र दाइलाई राष्ट्रपति बनाउने कुरा त्यही बेला टुंगिएको थियो । त्यसपछि उहाँ प्रस्तावक बन्नुभयो ।’

१० पुसमा माओवादी केन्द्रले एमालेको समर्थनमा सरकार बनाएपछि पौडेल तत्कालै कांग्रेस–माओवादी गठबन्धन फर्काउन सक्रिय भए । उनले संसदबाटै राष्ट्रिय सहमतिको प्रस्ताव गरे, र घुमाउरो पाराबाट आफूलाई राष्ट्रपति बनाउने माहोलमा लागिरहे । अन्तत: पौडेल नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।

देउवाको सहयोगमा पौडेल राष्ट्रपति बनेकोबारे नेता घिमिरे भन्छन्, ‘एकै व्यक्ति सबै पदमा पुग्न सम्भव हुँदैन । सबै राजनीति गर्ने व्यक्ति प्रधानमन्त्री हुँदैन, र राष्ट्रपति पनि हुँदैन, त्यसैले यो पौडेललाई देउवाको गुनमात्रै होइन, उहाँको योगदानको कदर पनि हो ।’

त्यसो त पौडेललाई राष्ट्रपति बनाएपछि देउवाले आफूलाई सहज हुने ठानेका छन् । पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा आफूलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्ने भनेर दिएको भविष्यवाणी साँचो बनाउन चाहन्छन् । पौडेल उनको भविष्यवाणी पूरा गर्न सहयोगी बन्ने देउवाको बुझाइ देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*