Home / Feature Breaking news / भालुवाङ क्षेत्रको भूकम्पीय जोखिम मापन

भालुवाङ क्षेत्रको भूकम्पीय जोखिम मापन

तीर्थराज ज्ञवाली
भालुवाङ, २६ असोज । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको छ ।

राजधानीको व्यवस्थापनको लागि विभिन्न अध्ययन अनुगमनसँगै त्रिभुवन विश्वविद्यालय भूगर्व शास्त्र केन्द्रीय विभागद्वारा राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नं. ८ र ९ साथै गढवाको वडा नं. १ रङसिङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको हो । भूगर्भ शास्त्री डा सुमन पन्थी, डा सुवेश घिमिरे र डा कमलाकान्त आचार्यको टोलीले इलेक्ट्रिकल रेजिस्टिभिटी सर्भेको माध्यमबाट दुई दिन लगाएर यस क्षेत्रको भौगोलिक अवस्थाको अध्यन तथा विभिन्न खाले कम्पन्नको सहनशीलताका बारेमा अध्यन गरिएकोे हो ।

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चाँपको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुने तरङ्गको कारण र अवस्थाका बारेमा अध्ययन गरिएको टोलीका भूगर्व शास्त्री डा घिमिरेले बताए ।

शास्त्री डा घमिरेले विगतको अवस्थालाई अध्ययन गर्दा कुमाउदेखी पोखरा लमजुङसम्मको क्षेत्रमा ठूलो भूकम्पीय धक्काको महशुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पत्ता लगाउन अनुसन्धान गरिएको बताए ।

राप्ती तटीय जमिनको अवस्था र तराई, मधेश, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुँदा राप्ती गउँपालिका क्षेत्र, शितगंगाको वडा नं. ८ र ९ साथै गढवाको वडा नं. १ रङसिङ क्षेत्रको भूकम्पीय जोखिम मापन पश्चात विश्वविद्यालयले सरोकारवालाहरुलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने भूगर्व शास्त्री डा पन्थीले बताए ।

भूकम्पीय जोखिम मापनका लागि उच्च स्तरको भियस ३० र रिजोनेश फ्रिक्वेन्सीका मापनमा ११ वटा लो–फ्रिक्वेन्सी जियोफोनको प्रयोग गरी सेस्मो ग्राफको माध्यमबाट धेरै टाढाबाट आउने पृथ्वीको कम्पनलाई पत्ता लगाउन यो विधाको प्रयोग गरेको शास्त्री डा घिमिरेले बताए ।

हिमालय क्षेत्रमा भारत महादीप ठाउँअनुसार हरेक वर्ष करिब दुईदेखि पाँच सेन्टिमिटरका दरले एशिया महादीपतर्फ (नेपालका सन्दर्भमा चीनतर्फ) धर्सिँदै जाने र हिमालयन प्लेटका आधारमा भूकम्पीय धक्काको अनुमान गर्न सकिने हुँदा यस क्षेत्रको अध्ययन गरिएको टोलीका भूगर्व शास्त्री डा आचार्यले बताए ।

लुम्बिनी प्रदेशका लागि आगामी दिनमा ठूला भौतिक संरचना निर्माण हुने हुँदा जमिनको भूवनोटको बारेमा जानकार हुनु आवश्यक रहेकोले आगामी दिनमा निर्माण हुने संरचना र जमिनको बीचमा रहेको अन्तरसम्बन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको र आउनसक्ने प्रकोप बाढी, पहिरो, भूकम्प, हावाहुरीलगायतका प्रकोपसँग जमिनले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने पत्ता लगाउन यो अनुसन्धानले सहयोग गर्ने भूगर्व शास्त्री डा पन्थीले बताए ।

लाखौं वर्ष पहिले भारत महादीप हालको स्थानभन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादीपहरुको नजिकै रहेको र पछि भारत महादीप चलायमान हुँदै उत्तरपूर्वतर्फ बढ्दै आई एशियासँग तल पर्ने गरी ठोक्किन पुग्यो, जसले गर्दा सगरमाथालगायतका हिमालहरुको उत्पत्ति भएको मानिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*