दाङ,१४ साउन । प्रचारप्रसारवसँगै गुफासम्म पुग्नका लागि बाटो नहुदा रोल्पामा रहेको एक गुफा ओझेलमा परेको छ । पर्यटकिय सम्भावना बोकेको रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ५ को दुम्लापानी भित्ता सामुदायिक वन क्षेत्रमा रहेको ऐतिहासिक महत्व बोकेको चमेरे गुफा ओझेल परेको हो ।
धौलाबाङ गाउँदेखि करिव एक घण्टाको दुरीमा रहेको गुफाको ऐतिहासिक महत्वसँगै भित्रमा भिन्न देविदेवताहरुको आकृतिहरु देख्न छ । घना जंगलको बिचमा रहेको गुफाको प्रचारप्रसारसँगै गुफासम्म पुग्नका लागि बाटो नहुँदा पर्यटकिय सम्भावना रहेरपनि पछि परेको स्थानीय डिलबहादुर वलीले बताए । ‘गुफाको चित्ताहरुमा विभिन्न देवीदेवताको आकृतिसँगै हजरौका संङख्यामा रहेका चमेरा देख्न सकिन्छ’,वलीले भने,‘तर त्यहाँसम्म पुग्नकालागि राम्रो बाटो नहुँदा ओझेलमा रहेको छ ।’ उनका अनुसार गुफाको ऐतिहासिक महत्व समेत रहेको छ ।
पृथ्वीनारायण शाहले नेपाल एकिकरणको समयमा तत्कालिन सल्यानी राज्यमा आक्रमण गर्ने सम्भावना बढेपछि,राजाले यो गुफामा पैसा लुकाउन लगाएको जनविश्वास रहेको छ । गुफा गहिरो रहेका कारण त्यो लुकाएको पैसा निकाल्न नसकेको भन्ने सुन्दै आएको वडा नं. ५ का वडा सदस्य समेत रहेका स्थानीय रामलाल कामीले बताए । ‘तत्कालिन समयमा यस क्षेत्रका राजाले पैसा लुटिने डरका कारण यो गुफामा पैसा लकाएको भन्ने प्रचलन रहेको छ’,स्थानीय कामीले भने,‘तर त्यसको सोधखोज भने हुन सकेको छैन ।
निकै विकट क्षेत्रमा रहेको र स्थानीयले प्रचारप्रसार भन्दा गाउँमा सडक,खानेपानी, शिक्षा,विद्युतलगायतका आवश्यक रहेका कारण यो प्राथमिकतामा पर्न नसकेको बताए । ‘गुफासम्म पुग्नलाई बाटो छैन, थोरै बजेटवाट बाटो खोल्न सकिने अवस्था पनि छैन’,विकले भने,‘त्यो भन्दा आवश्यक सडक,खानेपानी, शिक्षा, विद्युतलगायतका आवश्यकताहरु भए,त्यसले गर्दा आफनै ठाउँमा रहेको गुफाको प्रचारप्रसार हुन सकेको छैन ।’ गुफाको प्रचारप्रसारसँगै केन्द्र, प्रदेश वा गाउँपालिकास्तरवाट विकासकालागि पहल हुन सके पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सकिने कामीले बताए ।
पर्यटकिय सम्भावनाका रुपमा रहेको चमेरे गुफाको प्रचार–प्रसारसँगै विकासालागि गाउँपलिकाको बैठकमा कुरा उठाएको अर्का वडा सदस्य गोविन्द डागीले बताए । ‘ऐतिहासिक एव पर्यटकियसम्भावना बोकेको गुफाको विकास गर्नुपर्छ भनेर गाउँपालिकासँगै यसक्षेत्रवाट प्रतिनिधित्व गर्ने नेतासँग कुरा राख्ने काम गरेका छौँ,’वडा सदस्य डागीले भने,‘तर सवैक्षेत्रवाट हुन्छ भन्ने तर काम नगर्ने प्रवृतिका कारण अहिलेसम्म कुनै पहल भएको छैन ।’ गुफाको प्रचारप्रसारसँगै त्यहाँसम्म पुग्नका लागि सिडी बनाउन सकिए त्यसक्षेत्रको विकास हुने उनी बताउँछन ।