काठमाडौं,३१ बैशाख । सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघबीच छलफल भएको छ ।
आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहितको टोली र महासंघका सचिव शीतल महतोको नेतृत्वसहितको टोलीबीच सो विधेयकका विषयमा छलफल भएको हो । छलफलमा आयोगका कावा अध्यक्ष वस्तीले प्रेस स्वतन्त्रताका पक्षमा मानव अधिकार आयोग सधैँ रहेको हुनाले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने खालको प्रावधानलाई विस्तृत रुपमा अध्ययन गरी राय दिने बताए ।
महासंघका सचिव महतोले नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गराएको हुनाले त्यसलाई उल्लंघन नहुने गरी कानून बनाउनुपर्नेमा जोड दिए । महासंघ प्रेस स्वतन्त्रतालाई आघात पार्ने केही बुँदा सच्चाउन माग गर्दै आन्दोलनमा उत्रिएको छ । रासस