तुलसीपुर,७ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रदेश नम्बर ५ का सांसद डिल्लीबहादुर चौधरीले कुनै पनि हालतमा बुटवल प्रदेश राजधानी हुनै नसक्ने बताएका छन्।
दाङको तुलसीपुरमा मंगलबार प्रदेश टुडे दैनिकको बार्षिक उत्सवलाई सम्बोधन गर्दै ५ नं. प्रदेशका लेखासमितिका सभापति समेत रहेका चौधरीले बुटवल राजधानी हुनै नसक्ने जिकिर गरेका हुन्।
‘बालकृष्ण दाइले अरु पाँच वटा आन्दोलन गरे पनि कुनै पनि हालतमा बुटवल स्थायी राजधानी हुनै सक्दैन,’सांसद चौधरीले भने, ‘अहिले भइरहेको गृहकार्य त्यही हो।’
प्रदेशको स्थायी राजधानीको सवालमा हाल तीव्र धुव्रीकरण भइरहेको बताएका सांसद चौधरीले त्यो सवालमा पश्चिम पार्टी र पूर्व पार्टी मात्रै रहेको तर्क गरे।
‘राजधानीको सवालमा हाल कांग्रेस, नेकपा भन्ने केही छैन,’ सांसद चौधरीले भने ‘दाङका पक्षधर पश्चिम पार्टी र बुटवलका पक्षधर पूर्वी पार्टी जस्ता भएका छौं।’
सांसद चौधरीले आन्दोलन तथा जुलुस निकाल्दैमा राजधानी नपाइने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि दाङलाई स्थायी राजधानी बनाउन राम्रो प्रयास भइरहेको उल्लेख गरे।
‘दाङ सम्भावनाको नजिक पुगिसकेको खबर मैले पनि प्राप्त गरेको छु,’मेयर पाण्डेले भने,’ तर,त्यसका लागि जिल्लामा रहेका सबै राजनीतिक दल, संघ संस्था एक हुन आवश्यक छ।’
अन्य वक्ताहरूले पनि आवश्यकताको आधारमा प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
RaptiSandesh RaptiSandesh