Home / Feature Breaking news / विगत सम्झदा झस्कन्छन् कमलहरी

विगत सम्झदा झस्कन्छन् कमलहरी

विमला घर्ती
दाङ । मुक्त कमलहरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीलाई विगतको माघी सँम्झदा अहिले पनि अचम्म लाग्ने गरेको छ । माघ लाग्दा नलाग्दै घरमा जमिन्दारहरुको लाइन लाग्ने गर्दथ्यो । आफूहरुमाथि मोल मोलाई हुन्थ्यो ।

बर्ष दिनभर अरुको घरमा काम गरेर माघीको एक दिन विदा पाएर घरमा आउँदा पनि मनै फुरुङ्ग हुन्थ्यो । तर आज समय फेरिएको छ । हिजोको त्यो दुःख कसैले पनि भोग्नु परेको छैन तर विगतले झस्काइरहन्छ । यस्तै मुक्त कम्लहरी विकास मञ्च दाङकी पूर्व अध्यक्ष उर्मिला चौधरीलाई पनि विगतको त्यो दिन झल्झल्ती आइरहेको छ ।
माघीको दिन फुटेका हात र फुटेका खुट्टा सहित घर जाँदा पनि बावु आमासँंग भेटघाट गर्न पाइयो भनेर खुशी लाग्थ्यो । तर दुई दिन पछि त्यो खुशी फेरि पुरानै नियतीमा फर्किन्थ्यो । हरेक दिन जुठा भाँडा माझ्नुपर्ने, कपडा धुनुपर्ने, सरसफाई गर्नुपर्ने, मालिकका छोराछोरीलाई पुराउन विद्यालय जानुपर्ने । करिव १२ बर्षसम्म चलेको दैनिकी अहिले फेरिएको छ ।

जतिवेलादेखि दाङमा कमलहरी मुक्तीको अभियान चल्यो त्यसपछि पश्चिम नेपालका पाँच जिल्लाका करिव १३ हजार कमलहरीहरु मुक्त भए । हिजो अरुको घरमा भाँडा माझेर बस्नेहरु आज कतिपय विद्यालय शिक्षामा छन् । कतिपय जागिरमा छन् । कतिपयले एम.ए. सम्मको अध्ययन पुरा गरेका छन् । कतिपय विए तहमा पढिरहेका छन् । प्लस टुमा पढ्नेहरुको संख्या सयौं रहेको छ ।

सुनिता र उर्मिला मात्रै होइन विगत सँझेर झस्कने र अहिले रमाउनेहरुको संख्या सयौं रहेको छ । एउटा गैर सरकारी संस्थाले थालेको कम्लहरी मुक्तीको अभियान जारी हुँदै जाँदा सरकारले पनि कम्लहरी मुक्तीको घोषणा ग¥यो । अव कसैले पनि कम्लहरी राख्न पाउँदैन । कम्लहरी मुक्तिको अभियान सवैको अभियान बन्यो । यो अभियान सरकारी निकायको अभियान बन्यो । यो अभियान संचारको अभियान बन्यो । सवैको साथ र सहयोगले गर्दा आफूहरुले नयाँ जीवन पाएको धारणा छ उर्मिलाको । सरकारले कम्लहरी मुक्तीको घोषणा गरेर परिचय वितरण गर्न थालेको छ । विद्यालय शिक्षाका लागि सहयोग गरिरहेको छ ।
केहीलाई सिपमुलक तालिम पनि दिइएको छ । तर अहिलेपनि कतिपय कमलहरीको जीवनस्तर माथि उठ्न भने सकेको छैन । दासतापूर्ण जीवनको अन्त्य भएकोमा भने मुक्तकम्लहरीहरु खुशी छन् । ‘पहिले माघ महिनाको समयमा साना नानीहरुको मनमा चिसो पस्ने गर्दथ्यो ।

त्यतिवेला माघ महिना कमैया तथा कमलहरी पठाउने चलन थियो । तर अहिले त्यसो अवस्था छैन् ।’ घोराही उपमहानगरपालिका १० नारायणपुरकी सरस्वती चौधरी भन्नुहुन्छ । ‘माघ महिना आयो भने डर हुन्थ्यो । घरका बुवा आमाले कहाँ पठाउनुहुने हो, कहाँ जानपर्ने हो भन्ने मनमा चिसो पस्थ्यो । तर अहिले समय बदलिएको छ । हामी सवै खुशी छौं ।’ थारु समुदायको महान पर्व माघे सक्रान्ति एकातर्फ धुमधामका साथ मनाइथ्यो । भने अर्काे तर्फ गाउँमा जमिनदारहरु कमलहरी खोज्न आउने, कोही गाडी चढेर आउँथे ।

कोही मोटरसाइकिलमा आउँथे । कोही कारमा आउँथे । दाङमा आएर बुटवल, काठमाडौं, पोखरा लगायत अन्य जिल्लाहरुमा लग्दथे । आफ्नो जीवनमा पनि यस्तै घटनाहरु भएको सम्झनु भयो । बुवाको मृत्यू भएपछि सात बर्षको उमेरमा उहाँ कमलहरी बस्न प¥यो । सात बर्षको उमेरमा नारायणपुर स्थित एक घरमा काम गर्न बस्नुभयो । बार्षिक दुई हजार रुपैँयामा उहाँ कमलहरीका रुपमा काम गर्न बस्नुभएको हो । उहाँले भन्नुभयो, अझै विश्वास छैन्, सात बर्षको उमेरको बच्चीले के गर्न सक्छ, तर मैले गरे ।

घरको चुलो पोत्न पर्ने, भाडा माझ्न पर्ने, घर सफा गर्न पर्ने । सानै उमेर भएकाले काम गर्न सक्दैन, थिए । भाडा राम्रो संग सफा नहुँने, फेरी माझ्न लगाउने, चुलो राम्रो संग नपोतिने, फेरी पोत्न पर्ने, गिलास पनि दोस्रो तेस्रो पटक माझन् पर्दथ्यो । नारायणपुरमा दुई बर्ष, घोराहीमा एक बर्ष, लमहीमा दुई बर्ष गरी करिव पाँच बर्ष कमलहरी जीवन विताएको उहाँले बताउनुभयो । यस्तै कमलहरी मुक्ति भइसकेपछि पनि १५÷१६ बर्षको उमेर सम्म अरुको घरमा काम गरेरै विताएको सम्झनुभयो । उहाँको दुख संगै आनन्ददायी कुरा पनि छन्, ।

सरस्वतीले नेपाल युथ फाउण्डेशनको सहयोगमा पठनपाठनलाई अगाडी बढाउनुुभयो । अहिले स्नाकोत्तर दोस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ नारायणपुर स्थित ओजरार कृषि सहकारी संस्थाको अध्यक्षको जिम्मेवारी संहाल्नुभएको छ । भने मुक्त कमलहरी विकास मंच दाङकी कोषाध्यक्ष हुनुन्छ । विगतको माघि पर्व ‘डर’ मा विताउनुपर्ने भएपनि अहिले भने उहाँले घरपरिवार आफन्तसंग मनाउन पाइने भएकाले फरक भएको बताउनुभयो । सरकारले मुक्त कमैया तथा कमलहरी घोषणा गरेको केही बर्ष वितेको छ । तर कमलहरी बसेकाहरुको आर्थिक अवस्थामा आउनुपर्ने जति परिवर्तन आउन सकेको छैन् ।

नेपाल युथ फाउण्डेशनका कार्यक्रम अधिकृत फकला थारुका अनुसार पश्चिम नेपालका पाँच जिल्लामा १२ हजार आठ सय मुक्त कमलहरी रहेका छन् । तर भूमि सुधार कार्यालयले भने दुई हजार नौ सय ४१ जना मुक्त कमलहरी भनेको छ । जसमा एक हजार तीन सय जनाको प्रमाणिकरण भएको छ । ती मध्य कमलहरी परिचयपत्र सात सय जनालाई दिइएको छ । भने अरु बाँकीलाई पनि दिने क्रम अगाडी बढेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*