काठमाडौं–नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ ।
पार्टीको मंगलबारको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत चयन हुनुपर्ने व्यवस्था विधाननै गर्नुपर्ने प्रस्ताव अघि गरेका हुन् ।
पार्टी भित्रको गुट, उपगुटलाई अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने पनि सभापति सर्वसम्मत चयन हुनुपर्ने उनको तर्क छ ।
त्यसैगरी अर्का केन्द्रिय सदस्य धनराज गुरुङले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने किटानी व्यवस्था विधाननै गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
पार्टी विधिसम्मत ढंगले अघि नबढेका कारण काँग्रेस कमजोर हुन पुगेको उनको भनाई थियो । केन्द्रिय सदस्य गुरुङले पार्टीलाई विचार प्रदान गराउन पनि बाध्य बनाउने व्यवस्था विधानमा गर्न उपयुक्त हुने धारणा पनि राखे ।
केन्द्रिय सदस्य उमाकान्त चौंधरीले विधानमा पदाधिकारीको संख्या बढाउनुपर्ने माग गरे । केन्द्रिय सदस्य बढाउनुपर्ने प्रावधान विधान मस्यौदामा राखिएपनि पदाधिकारी संख्या भने बढाउने प्रस्ताव नगरेकोमा उनको असन्तुष्टि छ ।
बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । पार्टीको आगामी मंसीर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको हो ।