Home / Feature Breaking news / दाङमा पेन्सिल उद्योग

दाङमा पेन्सिल उद्योग

अमरराज आचार्य
दाङ,१४ मंसिर । घोराही उपमहानगरपालिका–१८ मसिनाका विमल भट्टराईले स्मार्ट पेन्सिल उत्पादन सुरु गरेका छन् । जिल्लामा पेन्सिल उत्पादन गर्न सुरु गर्ने उनी पहिला व्यक्ति हुन् । विमल विजनेश कराउनअन्र्तगत स्मार्ट भलवेट पेन्सिलको उत्पादन उनले एकल लगानीमा गरेका हुन् ।
अरुले गरेको कामभन्दा नयाँ काम गर्नु पर्दछ भन्ने सोचले पेन्सिल उत्पादन गर्ने सुरु गरेको उनले बताए । “अरुले भन्दा नयाँ काम गर्नु पर्दछ भनेर यसतर्फ लागेको हुँ भट्टराइले भने, “पढाइबाट बचेको समयलाई पेन्सिल उत्पादनमा लगाउँछु ।

बीए दोस्रो वर्षमा राजनीति शास्त्र पढ्दै गरेका उनीसँग ६ जनालाई सानो भएपनि रोजगारी दिएका छन् । विशेषगरी आप्mना साथीलाई फुर्सदको समय सदुपयोग गराउने गरेको उनको भनाइ छ । “आर्थिक रूपमा धेरै रकम दिन नसके पनि सीप र साथीको समयलाई सदुपयोग गर्ने काम भएको छ,” भट्टराईले भने । यसले गर्दा गफ गरेर बस्ने समयको सदुपयोग भएको छ । पेन्सिल उत्पादन दाङमात्र नभई राप्ती अञ्चलमा समेत नरहेकाले यसतर्फ हात हालेको उनको भनाइ छ ।

यसरी राप्तीमा नै उत्पादन नभएपछि जिल्ला बाहिरवाट ल्याउनु पर्ने बाध्यता रहेको थियो । जिल्लामा पेन्सिल भारतबाट आउने गरेको भट्टराईको भनाइ छ । जसले गर्दा रकमसमेत बाहिर जाने गरेको छ । जिल्लामा उत्पादन भए पनि रकम बाहिर जान रोकिने उनको अपेक्षा छ ।

उनले उत्पादन गरेका पेन्सिल जिल्लाका बजार तथा छिमेकी जिल्लामा समेत जाने गरेको छ । साथी भाइले माग गरेकाले पोखरा, लमजुङ, जुम्लासम्म पठाउने गरेको भट्टराईले बताए । पेन्सिल पठाएको स्थानबाट राम्रो माग आउने गरेको छ । उनले उत्पादन गरेका पेन्सिल अहिले जिल्लाका विद्यालय, रेस्टुराँ, सरकारी तथा निजी कार्यालयमा जाने गरेको छ । आफूले दैनिक २ हजार पेन्सिल उत्पादन गर्ने क्षमता रहेको बताए । तर अहिले क्षमताअनुसार उत्पादन नगरिएको भट्टराईको भनाइ छ । धेरै समय दिन नसक्नु पेन्सिल उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थको समस्याको कारण क्षमताअनुसार उत्पादन नगरिएको उनको भनाइ छ ।

पेन्सिल उत्पादन गर्नेका लागि भारतबाट कच्चा पदार्थ ल्याउनु पर्दा समस्या पर्ने गरेको भट्टराइले बताए । कच्चा पदार्थ मगाए पनि समयमै नआउने गरेको उनको भनाइ छ । अहिले उत्पादन गरिएको प्रतिपेन्सिल १० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । आफूले उत्पादन गरेको पेन्सिल वातावरणमैत्री र नरम हुँदा लेखनका लागि सहज, कागजबाट निर्माण गरिएको भट्टराईको दाबी छ ।
उनले उत्पादन सुरु गरेको व्यवसालाई बढाउने सोच उनको छ । तर लगानी नहुँदा समस्या परेको उनले बताए । “केही गर्छु भन्दा पनि लगानीले समस्या पार्ने गरेको छ,” भट्टराइले भने ।

ऋणका लागि पटकपटक बैंक धाए पनि ऋण पाउन नसकेको उनको भनाइ छ । उनले यस प्रकारको व्यवसाय सुरु गर्दा समेत व्यक्तिसँग ऋण लिएर सुरु गरेका थिए । यस प्रकारको कार्यमा हालसम्म सरकारी तथा गैरसहकारी संस्था कतैबाट पनि सहयोगसमेत पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*