दाङ, २४ साउन
दाङको घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टको गुणस्तर जाँचकालागि गुणस्तर तथा नापतौल विभागले नमूना काठमाडौँ लगेको छ । विभागको टोली दाङ आएर जिल्ला प्रशासन कार्यालयले साउन १७ र १८ गते सिल गरेर राखेको ओपीसी र पिपीसी सिमेन्टको नमूना काठमाडौँ लगेको हो ।
विभागका निर्देशक मनोजकुमार उपाध्याय सहितको टोलीले गुणस्तर मापनकालागि सिमेन्टको नमूना लगेको हो । २०७५ साल जेठ ३१ गते बर्दियाको गुलरिया बजारमा अनुगमनको क्रममा फेला परेको सगरमाथा ओपिसी सिमेन्टको गुणस्तरियता चेकजाँच गर्नकालागि गुणस्तर नापतौल विभागमा पठाईएकोमा म्याग्नेशियम कन्टेन्ट ६ दशमलव ४ देखिएको विभागमा निर्देशक उपाध्यायले बताए । मापदण्ड भन्दा केही धेरै भएको पाईएको र पुनः परिक्षणकालागि नमूना विभागमा लगिएको बताए ।
गुणस्तरहिन सिमेन्ट उत्पादन र विक्री वितरण भईरहेको गुनासो आधारमा जिल्ला प्रशासन कार्यालय दाङले सगरमाथा ओपिसी सिमेन्ट उत्पादन र विक्री वितरण बन्द गराएको छ । नापतौल विभागको रिपोर्ट अनुसार आफूहरु अगाडी बढ्ने जिल्ला प्रशासन कार्यालय दाङले बताएको छ ।