दाङ, १६ साउन
दाङमा क्षमताभन्दा बढी सामान ढुवानी गर्ने साधनहरु ट्राफिक प्रहरीको निगरानीमा पर्ने गरेका छन् । विशेष गरि जिल्लाका बजार क्षेत्रमा क्षमता भन्दा धेरै सामान ढुवानी गर्ने मालवहाक साधनहरुलाई ट्राफिक प्रहरीले निगरानीमा राखेर कारबाही गर्ने कामलाई तीव्रता दिएको छ ।
विशेष गरि अटो रिक्सा र साना(पुटपुटे) टेक्टरहरुले क्षमताभन्दा तेब्बरसम्म सामान ढुवानी गर्ने गरेको पाईएपछि उनीहरुलाई कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।
मंगलवारमात्र क्षमताभन्दा धेरै सामान ढुवानी गरिरहेका ३० भन्दा बढी मालबाहक सवारी साधनहरुलाई दिनभर नियन्त्रणमा राखेर बेलुका जरिमाना गरेर छाडीएको उहाँले जानकारी दिनुभयो । निर्माण सामाग्रीहरु धेरै मात्रामा ओसारपसार गर्ने गरेको पाईएको उहाँले बताउनुभयो ।
यसका साथै यात्रुवाहक सवारी साधनहरुले पनि क्षमताभन्दा धेरै यात्रु राखेको पाईएमा, सामानहरु ओभरलोड गरेर राखेको पाईएमा कारवाही गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
‘ओभर लोड यात्रु, ओभरलोड सामान ओसार पसार गर्ने सवारी साधनहरु हाम्रो निगरानीमा हुन्छन्’ प्रहरी निरिक्षक कुँवरलले भने– ‘ओभरलोड नो चान्स, त्यस्ता सवारी साधनहरु सिधै कारवाहीमा परिहाल्छन् । ’