Home / Feature Breaking news / १० सेन्टिमिटरको चम्चा आमाशयमा पुगेपछि…

१० सेन्टिमिटरको चम्चा आमाशयमा पुगेपछि…

आइतबार साँझ झन्डै ५ बजेको समयमा १७ वर्षीय किशोरी पेटको समस्या लिएर थापाथलिस्थित नर्भिक अस्पताल आइपुगिन् । सामान्य अवस्थामा आइपुगेकी उनले आफ्नो मुखबाट चम्चा भित्र छिरेको बताइन् । भेडियो एक्स्रेबाट   करिब १०/१२ सेन्टिमिटरको चम्चा आमाशयमा पुगेर अड्किएको देखियो । ४५ मिनेट लामो जटिल इन्डोस्कोपी प्रक्रियापछि सो चम्चा निकालियो । सोमबार बिहानसम्म किशोरीको अवस्था समान्य भइसकेको थियो । अस्पतालले उनलाई सोमबार बिहान नै डिस्चार्ज गरेको छ ।

कसरी पुग्यो आमाशयसम्म चम्चा ?
किशोरीको उपचार टिमको नेतृत्व गरेका नर्भिक अस्पतालका ग्यास्ट्रोएन्टेरोलोजिष्ट डा. सन्दीपराज कुँवरका अनुसार साइक्ट्रेकी इलनेशको समस्या भएकी ती युवतीले खानापछि बान्ता गराउन प्रयोग गरेको चम्चा भित्रैसम्म पुगेको थियो ।

डा. कुँवरका अनुसार चम्चा सानो आन्द्राको मुखमा पुगेर अड्केर बसेको थियो । छड्के परेर बसेको हुनाले शल्यक्रिया गरेर निकाल्न सहज थिएन, इन्डोस्कोपीमा  वीथ ‘र्‍याट तुथ टुल्स’ प्रयोग गरेर बिना चिरफार किशोरीको पेटमा भएको चम्चा निकालियो । यो औजारको तिखो टुप्पोको प्रयोगले पेटको भित्री भागमा केही अड्किएको भए इन्डोस्कोपी गरी निकाल्न सकिन्छ ।

“बालबालिकाले झुक्किएर निलेका सिक्का, पिन, खाना खाने क्रममा अड्किएको हड्डी बिना शल्यक्रिया निकाल्ने गरिन्थ्यो । तर, मेरो अहिलेसम्मको करिअरमा नै पहिलोपटक यस्तो क्रिटिकल केस आइपरेको हो,” डा. कुँवरले भने, “जे होस् बिरामीलाई सकुशल राखेर चम्चा निकालियो, यो मेरो समग्र टिमको सफलता हो । ”

ज्यानै जानसक्ने जोखिम 

कुनै धारिलो वस्तु पेटसम्म पुगेमा त्यसले आन्द्रा प्वाल पार्ने सम्भावना बढी हुन्छ । डा. कुँवरका अनुसार यस्तो अवस्थामा उपचार ढिलो भएको भए सानो आन्द्रा प्वाल पर्ने, पेटभित्र रक्तश्राव हुने, अन्य खानेकुरा समेतलाई ब्लक गरी जटिल समस्या निम्तिनसक्ने सम्भावना रहन्छ । त्यसैले बालबालिका र ठूला व्यक्तिले पनि खाने क्रममा विशेष ध्यान पुर्याउन डा. कुँवरको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*