दाङ, १४ साउन
चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्मको १ सय ६ दिनमा विपद्का घटनाबाट ४ सय ५५ जनाको मृत्यु भएको बताएको छ ।
जसमा डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु भएको हो । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शङ्करहरि आचार्यका अनुसार सो अवधिमा डुबेर २ सय ७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्बाट सात, लेक लागेर १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ सय ९ पुरुष र १ सय ४६ महिला छन् । यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनाका साथै दुई हजार २३० जना घाइते भएका छन् । साथै तीन हजार ७ सय ७५ घर प्रभावित र २ सय १ गोठमा क्षति पुगेको छ ।