Home / Feature Breaking news / मेडिकल कलेजका नाममा पैसा उठाउँदै खाँदै गरेका छन् : सभापति देउवा

मेडिकल कलेजका नाममा पैसा उठाउँदै खाँदै गरेका छन् : सभापति देउवा

दाङ, ६ साउन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रलाई जथाभावी मेडिकल कलेज खोल्न दिने गरी सरकारले चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको बताएका छन्।

आफू प्रधानमन्त्री हुँदा अनसनरत डाक्टर गोविन्द केसीका माग र माथेमा आयोगले दिएको प्रतिवेदनको आधारमा सर्वसहमतिमा चिकित्सा शिक्षा विधेयक ल्याए पनि अहिलेको सरकारले अध्यादेश हटाएर निजी क्षेत्र पोस्ने गरी विधेयक ल्याएको देउवाले बताए।

‘प्राइभेटलाई मेडिकल कलेज खोल्न दिने गरी विधेयक बनाए। मेडिकल कलेज खोल्न दिने नाउँमा पैसा उठाउँदै खाएका छन्’, वीपी कोइरालाको ३६ औं स्मृति दिवसमा राजधानीमा आइतबार भएको कार्यक्रममा सभापति देउवाले भने, ‘अध्यादेश हटाएर विधेयक ल्याएर सारा भ्रष्टाचार गर्न खोजेका हुन्।’

सरकारले संसदबाट विधेयक फिर्ता गरी चिकित्सा शिक्षा अध्यादेश नल्याएसम्म कांग्रेसले नछाड्ने उनले चेतावनी दिए।

‘डाक्टर केसीका माग जायज छन्, हामीले उनलाई बचाउनुपर्छ’ सभापति देउवाले भने, ‘राणा, पञ्चायतसँग लड्यौं, अब कम्युनिष्टसँग लड्नु छ।’

सरकारले एकलौटी तवरले कसैसँग राय, सल्लाह नगरी निषेधित क्षेत्र घोषणा गरी शान्तपूर्वक विरोध गर्न पाउने जनताको अधिकार खोसेको उनले आरोप लगाए।

‘सरकारले प्रजातन्त्र, मानव अधिकार विरोधी काम गर्‍यो’, उनले भने, ‘सर्वसत्तावादी कम्युनिष्ट सरकार चलाउन खोज्दैछन्।’

कम्युनिष्टहरू जनता र प्रजातन्त्रको विरोधी बन्दै गएको उनले आरोप लगाए।

‘हामीले अहिलेसम्म कम्युनिष्टलाई चिन्न सकेनौं’, उनले भने, ‘आज जुलुस गर्न नदिनेले भोलि लेख्न र बोल्न दिँदैनन्।’

शान्तपूर्वक विरोध गर्न पाउने अधिकार संसारभर रहेको उनले बताए।

अनलाईखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*