Home / Feature Breaking news / संसदमा कांग्रेसको प्रस्तुति

संसदमा कांग्रेसको प्रस्तुति

विपुल पोख्रेल

bipul cफागुन २१ गते सोमबारदेखि नयाँ संसद्को बैठक बस्दैछ । संसदबाट नयाँ सरकारले झण्डै दुई तिहाइ बहुमत पाउने सम्भावना बढेको छ । सरकारसँग दुई तिहाइ बहुमत हुदाँ संख्यात्मकरूपमा प्रतिपक्ष कमजोर देखिनु स्वाभाविक नै हो । तर, संसदीय पद्धतिमा प्रतिपक्षले राम्रो भूमिका खेल्यो भने त्यसलाई सरकारले उपेक्षा गर्न सक्नेछैन । संसदमा प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले यस्तो भूमिका खेल्न सक्ला रु

संसदमा कम्युनिस्ट गठबन्धन एक्लैले सुविधाजनक बहुमत हासिल गरेको छ । तर, बहुमतको आकार बढाउन संघीय समाजवादी फोरमलगायतको समर्थन लिने प्रयास गरिरहेको छ । सैद्धान्तिक रूपमा सरकारलाई समर्थन गर्न सहमत भइसकेको फोरमले सरकारमा आफ्नो हैसियत बलियो बनाउन ’बार्गेनिङ’ गरिरहेकाले नै टुंगो नलागेको हो । सायद, अलि ’मालदार’ तीनवटा मन्त्रालय पाउनासाथ सबै असहमति सकिने छ ।

निर्वाचनको परिणाम आएलगत्तै नयाँ सरकारसमेत नबन्दै आकस्मिकरूपमा भएको भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणपछि नेकपा ९एमाले० पनि मधेस केन्द्रित दलसँगको सहकार्यमा हौसिएको हो । त्यसकारण अब संसदमा सरकारलाई दुई तिहाइको समर्थन रहने र प्रतिपक्ष संख्यात्मकरूपमा खुम्चिने निश्चित छ । यस अवस्थामा सशक्त प्रतिपक्षीको भूमिकामा आफूलाई उभ्याउने कांग्रेसको तयारी र उसको मौलिक चरित्रको प्रदर्शनले नेपालमा जिम्मेवार प्रतिपक्षको संस्कृति कस्तो हुने भन्ने उदाहरण उसले देखाउन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उत्पन्न भएको छ ।

संविधान सभामार्फत् नेपालको संविधान जनता आफैँले बनाउने राजनीतिक एजेन्डाअनुसारै नेपालको संविधान, ०७२ निर्माण गरिसकिएको छ । यही संविधानअनुसार मुलुकमा स्थानीय र संसदीय निर्वाचन पनि सम्पन्न भइसकेको छ । संविधानले परिकल्पना गरेझैं तीन तहका सरकार पनि निर्माण भइसकेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी दल नेपाली कांग्रेस निर्वाचनपछि प्रतिपक्षको भूमिकामा पुगेको छ । नेपालको संसदीय इतिहासमा प्रतिपक्षको भूमिका कस्तो हुने भन्ने राम्रो दृष्टान्त अहिलेसम्म प्रदर्शित हुन नसकेको तीतो अनुभव हामीसँग छ । रचनात्मक प्रतिपक्ष भनेको के हो भन्ने परिभाषित हुन सकेको छैन । संसदीय पद्धतिको मर्म बुझ्ने हो भने जनताका दैनिक जीवन र राष्ट्रको दीर्घकालीन हित हुने बाटोमा हिँड्न प्रेरित गर्ने सामथ्र्य प्रतिपक्षी दलले राख्न सक्छ । नेपाली कांग्रेस अब यो बाटोमा हिँडेर देशमा जनताले प्रतिपक्षमा बस्न दिएको जनादेशलाई कसरी सदुपयोग गर्नुपर्छ भन्ने नवीन संस्कृति स्थापित गर्ने अवसर पाएको छ र यसका लागि उसको तयारी पनि देखिएको छ ।

कांग्रेसले संसदीय परम्पराअनुसार छाया सरकारको अभ्यास गर्ने निर्णय गरेको छ । यो उसको तयारीको संकेत हो । कांग्रेस कम्युनिस्ट गठबन्धनलाई तोडेर सत्ता हत्याउने खेलमा अलमलिन्छ कि भन्ने आशंकाका साथ पनि केहीले कांग्रेसलाई हेरिरहेका थिए । छाया सरकारको भूमिका खेल्दैमा सत्तामा जाने संभावना समाप्त हुने त होइन तर सिद्धान्तः कांग्रेसले जनमत स्वीकार्दै आफूलाई प्रतिपक्षमा राख्ने रणनीति लियो भन्ने बुझ्न यो निर्णय काफी छ ।

प्रभावकारी प्रतिपक्ष भयो भने सरकार अनुत्तरदायी, गैरजिम्मेवार, अराजक र अधिनायकवादी हुनसक्तैन । सरकारका हरेक निकायले गर्ने निर्णय र कार्यान्वयनको अभ्यासलाई मिहिन ढंगले हेर्न निश्चित व्यक्तिलाई जिम्मा दिने र त्यसै आधारमा सरकारको गुण, दोष र नियतको विश्लेषण गरेर प्रस्तुत हुने संरचना प्रतिपक्षले निर्माण गर्नुपर्छ । यही संयन्त्रलाई लोकतान्त्रिक संसदीय पद्धतिमा ‘छाँया सरकार’ भन्ने गरिन्छ । छाँया सरकारको प्रभावकारी प्रस्तुतिले सरकारलाई सच्याउने तागत राख्छ र जनतालाई साक्षी राखेर गलत काम नगर्न संसद्बाटै खबरदारी गर्न सकिन्छ । संसदीय पद्धतिको एउटा विशेषतै यो हो ।

कांग्रेस नेपालको सन्दर्भमा संसदीय लोकतन्त्रको पर्याय नै हो । यस पद्धतिलाई बलियो र प्रभावकारी बनाउन तथा लोकतन्त्रको फल जनताले महसुस गर्ने गरी प्राप्त गर्ने वातावरण बनाउन पनि कांग्रेसले नै भूमिका खेल्नुपर्छ । इतिहासले देखाइदिइसकेको छ कांग्रेसले स्थापित गरिदिएको संस्कृति नै देशको मूलधार बन्दोरहेछ । अब प्रतिपक्षीय संस्कृति पनि कांग्रेसले स्थापित गरिदिने अवस्था आएको छ । यो भूमिका निर्वाह गरिरहँदा उसलाई जनतासंगको लगातारको अन्तरक्रियाका लागि अवसर मिल्नेछ । जनताका गुनासा र चाहना बुझ्न् आधिकारिक शक्ति प्रतिपक्ष नै हुन्छ ।

जनताको गुनासा र आवश्यकता बुझ्नेले मात्रै जनपक्षीय निर्णय गर्नसक्छ । जनतासँगको लगातारको अन्तरक्रियाबाट प्राप्त सुझाव, गुनासा र चाहनामा आधारित भएर तयार पारिएको खाकासाथ प्रतिपक्ष संसद्मा जान्छ र त्यसको कार्यान्वयनका लागि सरकारलाई आग्रह गर्छ । यसरी सही ढंगले प्रतिपक्षीय भूमिका निर्वाह गर्दै गर्दा जनताका एजेन्डा बोकेर संसद्मा जाने र सरकारलाई ती आफ्ना एजेन्डा कार्यान्वयन गर्ने संयन्त्रका रूपमा सीमित गरिदिने सामथ्र्य छाया सरकारले राख्छ । तर, त्यसका लागि कम्तीमा पाँच वर्षसम्मको धैर्य, जनतासँगको निरन्तर संवाद, प्रभावकारी प्रस्तुति, मूल्यमा आधारित राजनीतिक जगमा उभिएर उच्च साहस गर्नसक्ने नेतृत्व क्षमता अनिवार्य सर्त हुन् । अझै पनि विश्वास गर्न सकिन्छ कि, कांग्रेसले यी सर्तहरू पूरा गर्नसक्छ । यो बाटो रोजेर कांग्रेस हिँड्यो भने नेपालमा प्रतिपक्षको भूमिका कस्तो हुनुपर्छ भन्ने स्थापित पनि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*