दाङ २० पुस
लामोसमयदेखि अवरुद्ध भएको जिल्लामा शिक्षक दरबन्दी मिलान प्रक्रिया टुंगिएको छ । अव दरबन्दी अभाव भएका धेरै विद्यालयले दरबन्दीको शिक्षक पाउने भएका छन् ।
बुधवार जिल्ला समन्वय समितिको पहलमा स्थानीयतहका प्रतिनिधिको सहभागिताको बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनमा छलफल गरेर शिक्षक दरबन्दी मिलानको टुंगो लगाउँदै कार्यान्वयनको लागि स्थानीयतहलाई जिम्मा लगाएको शिक्षक पेशागत महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काले वताए ।
दरबन्दी मिलानमा सहमति हुननसक्दा लामोसमयदेखि यो प्रक्रिया रोकिएको थियो । पछिल्नो चरणमा विद्यालयवाट शिक्षक अभावको व्यापक गुनासो आएपछि कार्यदल बनेको थियो ।
कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा शिक्षक दरबन्दी मिलान कार्य भएको हो । बैठक जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको थियो । पुस १७ गते स्थानीयतहका प्रमुख, शिक्षा अधिकारी र शिक्षकका पेशागत संघ सगठनका प्रतिनिधिले दरबन्दी मिलालनमा समन्वय र पहल गर्न जिल्ला समन्वय समितिलाई जिम्मा दिएको थियो ।